किशोर पन्थी
नक्कली कथा बनाएर शरणार्थीका लागि आवेदन दिने क्रम बढ्दा अमेरिकामा नेपालको राजनीतिक अवस्थाबारे मात्र होइन, नेपालका माओवादीबारे समेत नकारात्मक सन्देश फैलिएको छ
नेपालीले सिंहदरबारको लालपुर्जा पनि आफ्नो नाममा झकिउन सक्छन्, एकजना अमेरिकन अधिकारीले जनाएको प्रतिक्रिया यो, हो ।
किनभने, अमेरिका आउनासाथ शारणार्थी बन्न आवेदन दिने प्रचलन यति बढेको छ कि अमेरिका छिरिसकेपछि अमेरिका बस्न चाहने एकाधबाहेक प्रायः नेपालीले शरणार्थीको मान्यता पाउन आवेदन दिएकै हुन्छ ।
अमेरिका छिरिसकेपछि कुनै पनि सर्वसाधारण नेपालीका आफन्तले उनीहरूलाई दिने सुझाब शरणार्थीका लागि आवेदन दिने नै हुन्छ । र, प्रायः हरेकले माओवादीका कारण नेपाल छाडेको देखाउँदै शरणार्थीको मान्यताका लागि आवेदन दिने गरेका छन् ।
न्युयोर्कमा कार्यरत वकिलहरूका अनुसार शरणार्थीका लागि आवेदन दिने ९९ प्रतिशत नेपालीका कथा मिल्दाजुल्दा बनाइएका हुन्छन् । त्यस्ता प्रायः कथामा माओवादीले धम्की दिएको, आक्रमण गरेको वा अपहरण गरेका कारण नेपाल छाडेको भन्दै शरणार्थी मान्यताका लागि आग्रह गरिएको हुन्छ । त्योबाहेक राजतन्त्र ढलिसकेपछि लोकतन्त्रवादीका कारण नेपालमा बस्न नसकेको भन्दै शरणार्थीको मान्यता पाउन आवेदन दिनेहरू पनि केही छन् ।
हालै मात्र अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसअन्तर्गत इओआइआरले निकालेको रिपोर्टअनुसार अमेरिका आएर शरणार्थीको मान्यता पाउने नेपालीको संख्या निकै ठूलो छ । विश्वका सबै मुलुकको सूचीमा शरणार्थी मान्यता पाउने नेपालीको संख्या पाँचौँ नम्बरमा रहेको छ ।
कुनै पनि व्यक्तिमाथि आफ्नो राष्ट्रियता, धर्म, राजनीतिक विचारधारा, वर्ण भेदभाव र कुनै निश्चित संघसंस्थाप्रति आबद्ध र आस्थाका आधारमा आफ्नो जन्मभूमिमा अर्को पक्षद्वारा ज्यान मार्ने खतरा भएको खण्डमा अमेरिकी सरकारले विश्वभरका नागरिकलाई शरणार्थी मान्यता दिँदै आएको छ । र, यस्तो शरणार्थी मान्यता पाउन अधिकांश नेपालीले नेपालमा बस्न नसकेको भन्दै नक्कली कथा बनाएर आवेदन दिने गरेका छन् ।
अमेरिकामा रहेका नेपाली वकिलहरूकै कुरा पत्याउने हो भने अमेरिकामा ९९ प्रतिशत शरणार्थीको मान्यता पाउने नेपालीका कथा सबै नक्कली हुन् । शरणार्थीको मान्यता पाउने वास्तविक पीडित एक प्रतिशत पनि छैन ।
डिपार्टमेन्ट अफ जस्टिसअन्तर्गत इओआइआरको प्रतिवेदनअनुसार सन् २०१० मा अध्यागमन अदालतमा कुल दुई सय चार देशका नागरिकबाट शरणार्थीसम्बन्धी मुद्दा परेका थिए । विश्वभर अस्तित्वमा रहेका लगभग सबै देशका नागरिकले शरणार्थीको मान्यता पाउन आवेदन दिने गरेका छन्, अमेरिकामा । जसमा इथियोपियादेखि इरान, हाइटीदेखि हल्यान्ड मात्र होइन, विश्वकै सर्वशक्तिमान राष्ट्र बन्ने होडमा रहेको चीन अनि नेपालको बलियो छिमेकी भारतलगायत बेलायत र क्यानडाका नागरिकसमेतको शरणार्थीसम्बन्धी लामै सूची देखिन्छ । र, यस सूचीमा नेपालजस्तो सानो मुलुक अग्रणी स्थानमा छ ।
सन् २०१० मा अमेरिकी अध्यागमन अदालतबाट अमेरिकामा शरणार्थी मान्यताप्राप्त गर्ने मुख्य २५ देशको पहिलो नम्बरमा चीन छ भने २५औँ नम्बरमा इरान छ । सूचीको पाँचौँ स्थानमा नेपाल छ भने नेपालभन्दा माथि क्रमशः कोलम्बिया, भारत, इथियोपिया र चीन छन् ।
पर्यटक वा अन्य भिसामा अमेरिका आउनासाथ नेपालीले शरणार्थी मान्यताका लागि आवेदन दिने गर्छन् । यसका लागि नक्कली कथा बनाइदिने नेपाली समूह पनि न्युयोर्कमा सक्रिय छ । त्यो समूहले पाँच सयदेखि हजार अमेरिकी डलर लिएर माओवादीको आक्रमणमा परेको वा अन्य कुनै नक्कली कथा बनाइदिने गर्छ ।
अर्कातर्फ गैरकानुनी प्रक्रियाबाट अमेरिका बस्दै आएको समयमा प्रहरीको धरपकडमा परेपछि मात्र आफूलाई नेपाल र्फकन खतरा भएको भन्दै शरणार्थी मान्यताका लागि आवेदन दिने नेपालीको संख्या पनि अमेरिकामा ठूलै छ । गैरकानुनी रूपमा बसोवास गर्दै आएका व्यक्ति पक्राउ परेको खण्डमा अमेरिका छिरेको एक वर्षको म्याद नाघेको छैन भने शरणार्थी मान्यताका लागि आवेदन दिएमा उसलाई नेपाल डिपोर्ट गरिँदैन । त्यसैले पनि नेपालीले यस्तो काइदा अपनाउने गरेका छन् ।
शरणार्थीका लागि आवेदन दिँदा अस्वीकार भएको खण्डमा आवेदनको थप समीक्षाका लागि अदालतमा समेत जान पाइने व्यवस्था भएकाले शरणार्थीको मान्यता पाउने आशामा अदालत धाइरहेका नेपालीको संख्या पनि अमेरिकामा निकै ठूलो छ । तर, नेपालीले नक्कली कथा बनाएर शरणार्थीका लागि आवेदन दिने क्रम बढेपछि पहिलेको तुलनामा संख्यात्मक हिसाबले अस्वीकृत हुने आवेदनको संख्या अहिले निकै बढी छ । तैपनि, धेरै नेपालीले आवेदन दिइरहेका कारण नेपाल पाँचौँ नम्बरमा परेको हो ।
सन् २००६ मा अमेरिकी अध्यागमन अदालतमा संसारभरिका नागरिकका कुल ५६ हजार ९ सय ६९ मुद्दा थिए, तर सन् २०१० मा आइपुग्दा त्यो संख्यामा ४२ प्रतिशतले गिरावट आएर कुल ३२ हजार ९ सय ६१ मा पग्यो । सन् २०१० मा अदालतबाट शरणार्थीको मान्यता प्राप्त गर्नेको संख्या जम्मा ९ हजार ८ सय ६९ रहेकोमा २ दशमलव ३३ प्रतिशत नेपाली थिए । अर्थात् नेपालीले शरणार्थी मान्यताका लागि हालेका सात सय ५५ मुद्दामध्ये दुई सय ३० जनालाई शरणार्थी मान्यता दिइएको थियो । जसमध्ये अधिकांशले माओवादीपीडित भएको कारण देखाएका थिए ।
सन् २००६ अगाडि अमेरिकामा शरणार्थीका रूपमा निवेदन दिने नेपालीको संख्या निकै कम थियो । तर, शान्तिप्रक्रियामा हस्ताक्षर भएर माओवादी सरकारमा समेत पुगिसकेपछिको अवस्थामा चाहिँ नाटकीय ढंगले यो संख्या उकालो लागेको देखिन्छ । किनभने, यो अवधिमा अमेरिका छिर्ने नेपालीको संख्या पनि ठूलो रहेको छ भने अधिकांशले नक्कली कथा बनाएर शरणार्थीका लागि आवेदन दिने गरेका छन् ।
सन् २००६ मा नेपाल शरणार्थी मान्यता प्राप्त गर्ने राष्ट्रको सूचीमा १८औँ स्थानमा थियो भने सन् २००७ मा २१औँ स्थानमा थियो । त्यो स्थान सन् २००८ मा १७औँ हुन पुग्यो अनि २००९ मा १४औँ नै भयो अझ सन् २०१० मा पुग्दा त पाँचौँ नै भयो ।
अमेरिकामा शरणार्थीको मान्यता पाउनका लागि नक्कली कथा बनाएर आवेदन दिने चलन अहिलेको मात्र होइन । पञ्चायतकालमा पनि पञ्चायतपीडितका नाममा शरणार्थीको मान्यताका लागि आवेदन दिनेहरू थिए, तर त्यो संख्या ज्यादै न्यून थियो । किनकि त्यतिवेला अमेरिकामा नेपालीको संख्या पनि कमै थियो । अहिले अमेरिका आउनेको संख्या पनि बढेको छ भने उनीहरूलाई शरणार्थीको आवेदन दिनका लागि माओवादी सबैभन्दा ठूलो बहाना मिलेको छ ।
माओवादीपीडितका नाममा शरणार्थीको मान्यता पाउने क्रम बढ्दा अमेरिका बस्ने रहर बोकेका नेपालीको सपना पूरा भए पनि अमेरिकामा नेपालको छवि भने बिग्रेको छ । नक्कली कथा बनाएर शरणार्थीका लागि आवेदन दिने क्रम बढ्दा अमेरिकामा नेपालको राजनीतिक अवस्थाबारे मात्र होइन, नेपालका माओवादीबारे समेत नकारात्मक सन्देश फैलिएको छ ।
No comments:
Post a Comment