5/21/2011

इराकमा नेपाली पक्राउ

गैरकानुनी रुपमा अमेरिका छिर्न लागेका ६ जना नेपालीहरु पक्राउ परेको खबर सेलाउन नपाउदै अर्का एकजना नेपाली गैरकानुनी रुपमा टर्की छिर्न लाग्दा पक्राउ परेका छन् ।

मानव तस्करमार्फत टर्की छिर्न लागेका ति नेपालीलाई इराकको जासुसी सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।  टर्की र इराकको सिमाक्षेत्रमा पक्राउ परेका नेपालीलाई इराकको हिराशतमा राखिएको छ । इराकमा पक्राउ परेका नेपालीसंगै दुईजना मानवतस्करपनि सुरक्षाकर्मीहरुको फन्दामा परेका छन् ।
टर्की र इराकको सीमाक्षेत्रमा पक्राउ परेका नेपाली को हुन् भन्नेबारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । उनीहरु पक्राउ परेपनि पक्राउ पर्नेमा नेपाली रहेको तथ्य भने खुलेको हो । नेपालीसंगै पक्राउ परेका मानवतस्कर कुन देशका हुन् भन्नेबारेमा पनि केही खुलेको छैन । तर पक्राउ पर्ने व्यक्ति नेपाली नै रहेको भने इराकको दाहुक प्रान्तको सुरक्षा श्रोतले पुष्टी गरेको हो ।
एकजना नेपाली र दुईजना मानवतस्करहरुबाहेक अरु पांचजना पनि पक्राउ परेका छन् । तर उनीहरु कुन देशका नागरिक हुन् भन्ने बारेमा केही खुलाइएको छैन । उनीहरु दाहुकदेखि ४५ किलोमिटर उत्तरमा रहेको पश्चिमी जाखोमा रहेको इब्राहिम अल खालिलको सिमा सडकमा पक्राउ परेका हुन् ।
हिराशतमा परेका सबैले टर्कीमा गैरकानुनी रुपमा छिर्ने प्रयास गरेको स्वीकारेका छन् । पक्राउ परेकाहरुलाई कानुनी कठघरामा उभ्याएर सजाय दिलाएरै छाड्ने इराकी अधिकारीले बताएका छन् । तर कस्तो कारवाही हुने भन्नेबारेमा भने केही खुलाइएको छैन ।

No comments:

Pages