5/16/2011

दूताबासहरुको भूमिका फराकिलो भए वैदेशिक रोजगारीमा सुधार

ईन्द्र भूषाल
दिनहुँ सयौं नेपालीहरु जिवीकोपार्जनको लागि र आफ्नो परिवार अनी सुखमय भबिष्यको सपना बोकेर बिदेशीन थालेको धेरै बर्ष भएको छ ।
आजभोली त झन भारतको केरल राज्यको जस्तै नेपालीहरु बिदेशमा नभएको घर भेटाउन मुस्किल पर्छ, गाउँमा छिर्दाखेरी । लाखौं प्रवासी नेपालीहरुको पसिनाले कमाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानीएको छ भनेर अर्थविदहरु बताउँछन । विश्वका धेरै देशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या समाधान र राष्ट्रको बिदेश नीतिको मार्गदर्शनमा हिंडेर सम्बन्धित देशसँग मुलुकको सम्बन्ध बलियो बनाउनको लागि कुनै पनि देशले अर्को मुलुकमा गएर दूताबास स्थापना गर्ने गर्छ ।

नेपालले पनि केही मुलुकमा दूताबासको स्थापना गरेको छ तर अन्य देशको जस्तो दूताबासले गरेको कामको अनुगमन नेपाल सरकारले गरेको देखिंदैन । बरु राजनीतिक नियूक्ती पाएर राजदूत बनेर आएकाले उल्टै नेपालीको पसिना चुसेको भने पक्कै देख्न सकिन्छ, जुन साउदीमा घटेको घटनाले पुष्टी गरेको छ ।

बिकसित देशहरुमा स्थापना गरिएका दूताबासहरुले सम्बन्धित देशसँग आफ्नो सम्बन्ध बलियो बनाउने कोशीस गरेका हुनसक्छन । जहाँ नेपाली कामदारहरुको समस्याहरु त्यती धेरै भएको पाईंदैन तर खाडीमुलुक लगायत केही अन्य देशमा रहेका नेपाली दूताबासमा समस्या नै समस्याले ग्रसित नेपालीहरुको घुईंचो लागेको देखिन्छ । नेपालीहरुको समस्या समाधान गर्नु प्रमुख काम हो जसलाई अन्य कामको रुपरेखासँग तुलना गर्न मिल्दैन । तर नेपालीहरुले भोग्नुपरेका ससस्याहरु के(कसरी सृजित हुनपुगे र तिनको दिर्घकालिन समाधान के हुनसक्छ भनेर अलिकती अगाडि सोंच्ने बिकास भयो भनें पक्कै पनि दूताबासमा लाग्ने भिड कम हुँदै जानेछ । नेपालबाट आउने कामदारलाई नक्कली सम्झौता पत्रबाट मुक्त गराउने, सहज बिमाको ब्यबस्था, स्वास्थ्य परिक्षणमा हुने लापरवाही र घूसपैठ लगायत अन्य बिषयमा पनि पारदर्शी तवरबाट काम भएमा र त्यसको अनुगमन दूताबासले गरेमा धेरै हदसम्म परिवर्तन हुनसक्छ, बैदेशीक रोजगारिमा ।

यहाँ दूताबासको भूमिकाको बिषय उठाउनुको कारण रोजगारीको गुणस्तरसँग जोडीएको छ । कामदारको समस्या समाधानसँगै दूताबासले गर्ने कार्यक्षेत्र धेरै हुनसक्छन यदी श्रोत र साधनले पुगेको खण्डमा र दूताबासमा कार्यरत कर्मचारीको दूरदृष्टि भएमा । खाडी मुलुकका सबैजसो देशहरु बिगत दश बर्षको तुलनामा आज धेरै बिकसित भएका छन । यहाँको रहन सहन, आर्थिक बृदिदर अनी टेक्नोलोजीको क्षेत्रमा भएका प्रगतिले कामदारहरुमा पनि गुणात्मक परिवर्तनको खाँचो छ । तर नेपालीहरु आउने कामदारहरुको भने गुणस्तरमा त्यती सुधार भएको छैन । जसको कारण नेपालीहरुले केही सिमित र परम्परा जस्तै काम गर्न बाध्य हुनुपरेको यथार्थ छ ।

समयको परिवर्तनसँगै परिवर्तन हुने बिभिन्न क्षेत्रहरु छन जसमा हरेक नयाँ टेक्नोलोजिले कामको गुणस्तरमा आकाश र जमिनको जस्तै फरक पन लिएर आएको छ र त्यही किसिमले जनशक्तिको पनि आवश्यकता रहन्छ तर त्यस्तो किसिमको जनशक्तीको लागि नेपालमा पर्याप्त शिक्षा छैन जसको कारण बैदेशीक रोजगारिमा गुणात्मक परिवर्तन हुन सकेको छैन ।

के गर्नसक्छ दूताबासले ?
दूताबास भएका देशहरुमा आउने नेपाली कामदारहरुको गुणस्तरको बिकासको लागि उसले धेरै काम गर्नसक्छ । जस्तैस् कस्तो किसिमको कामदारहरुको माग भएको छ र त्यही किसिमको जनशक्तिको लागि नेपाल सरकारलाई सूचना प्रवाह गर्नसक्छ, ताकी नेपालमा सरकारी तवरबाट हुन नसकेपनी गैर(सरकारी तवरबाट कामदारहरुलाई तालिम दिन सकियोस । श्रमबजारलाई हेरेर त्यस्तो किसिमको जनशक्ती उत्पादनको लागि नेपाल सरकारले कार्ययोजना बनाउन सक्छ अनी योग्य कामदारहरु राम्रो कमाइमा काम गर्न सक्छन जसले सबै क्षेत्रमा टेवा पुग्ने देखिन्छ । तर नेपाली दूताबासहरुले गर्ने कार्यक्षेत्र यसरी नै साँघुरो हुने हो भने भोलिका दिनहरुमा पनि नेपालीहरुको बैदेशीक रोजगारीको गुणस्तरमा प्रगती हुने देखिदैन । तसर्थस् पनि दूताबासहरुको भूमिका केहि फराकिलो पार्नु र काम गरेर देखाउनु अत्यावश्यक देखिन्छ ।

No comments:

Pages