5/19/2011

दूतावासका कर्मचारीको बार्गेनिङ, राजदूत बेखबर

जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने कामले खासै सफलता हासिल गर्न नसकेको चौतर्फी गुनासो आइरहेका बेला जापानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा कमिसन माग्ने गरेको खुलासा भएको छ ।

दूतावासका केही कर्मचारीहरुले मागपत्र प्रमाणीकरणका लागि मेनपावर कम्पनीसँग बार्गेनिङ गर्ने गरेको स्रोतले जानकारी दिएको छ । रोजगारदाता कम्पनीले दिएको माग दूतावासमा प्रमाणीकरण गराई वैदेशिक रोजगार विभागमा स्वस्कृतीको लागि पेश गर्ने र विभागले प्रमाणीकरण सही भए नभएको जाँच गर्न पुनः दूतावासमा पठाउने गरेको छ । यसरी पठाएका फाइल पास गराउन दूतावासका कर्मचारीहरु मेनपावरकम्पनीसँग रकम माग्ने गरेको स्रोतले बतायो । स्रोत भन्छ – टेबलमा फाइल राखेर दूतावासका कर्मचारीले मेनपावर कम्पनीलाई ‘तपाईंहरुले ल्याएको माग प्रमाणीकरण गर्न प्रक्रिया पुगेको छैन, चाँडै पु¥याईदिनुहोला’ भन्ने गरेका छन् र अहिले झण्डै १० वटा भन्दा बढि मेनपावर कम्पनीहरुको फाइल कमिसन नदिएका कारण दूतावासमा थन्किएको छ ।
दूतावासको यस कार्य प्रति जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन भने बेखबर रहेका छन् । राजदूतको आँखा अगाडि खुलेआम कमिसन लेनदेन हुँदा पनि राजदूतलाई पत्तो नहुनु प्रति मेनपावर व्यवसायीहरुले आंशका व्यक्त गरेका छन् ।
जापानमा प्रशिक्षार्थी कामदार पठाउन १ सय ७१ मेनपावर कम्पनी सूचीकृत भएका छन् र यी मध्ये ३० वटा कम्पनीले माग ल्याई कामदार  पठाउने क्रम पनि सुरु भइसकेको छ ।
जापानमा प्रशिक्षार्थी कामदार पठाउन सुरु हुँदा ताका जे जति आशा देखिएको भए पनि विविध कारणले जापानको काममा अपेक्षाकृत सफलता हात लाग्न सकेन । जापानको काम सोचेअनुरुप हुन नसक्नुको पछाडि मेनपावर कम्पनीहरुलाई दोष देखाउने गरिएको छ । तर, दूतावासका कर्मचारीको यो रवैयाले जापानको काम सफल नहुनुमा मेनपावर कम्पनीभन्दा पनि दूतावासका कर्मचारीहरु नै जिम्मेवार रहेको देखिन्छ ।

No comments:

Pages