5/17/2011

वैदेसिक रोजगारीको आशा

हालसालै विदेशबाट फर्किएका आफन्तको विवाहमा सरिक भइयो । बेहुला लामो समय मलेसिया बसेर फर्किएका र बेहुली दुवई बसेकी रहिछन् ।
दुलही ब्युटिपार्लरको काममा पोख्त भने दुलाहा हर्बो नेटवर्किङमा निकै अगाडि रहेछन् । उनीहरुको  विवाहपश्चात् स्वदेशमै बसेर आफ्नो अनुभवको काम गर्ने योजना छ । तर उनीहरूले सुन्दै र देख्दै आएको आर्थिक मन्दी, देशमा अशान्ति, असुरक्षा कारणले आफूले व्यवसायमा सफल हुन सकिएला भन्नेमा निश्चितता देखिएन । व्यापारमा दुवैजना मिलेर खटिनेे तर असफल भइयो भने पुनः विदेशतिरै लाग्ने उनीहरूको सोचाइ देखियो । नेपाली युवायुवती देशर्मै बसेर केही गर्ने चाहनामा छन् तर उनीहरू ढुक्क छैनन् । त्यसैले विदेशमा पसिना बगाएर आजिर भएर फर्किएका नेपालीको आशा फेरि पनि वैदेशिक रोजगारी बनेको छ ।
बिदेसिने गन्तव्यमा कोरिया पनि चर्चित छ । गएका वर्षहरूमा झैं यसपालि पनि कोरिया जाने जाँगर धेरै युवायुवतीमा लागेको देखियो । गाउँगाउँदेखि आएर हजारौंको संख्यामा यो वैशाखे घामको कुनै वास्ता नगरी कमाउन जान पाइने आशामा हजारौं खर्च गरेर र्फम भरी फर्किए । कोरिया सरकारले लिने  ७ हजार कामदार भन्दा दसौं गुना बढीले आवेदन दिए । राजधानीसम्मको यात्रा र बसाइ खर्चको साथै १७ सय ५० रुपैयाँ र्फम भर्न खर्च गरिसके ।  रोजगारीको लागि कोरिया जान निश्चित पनि भएको छैन । यसका लागि कोरिया भाषा सिकेर ईपीएस परीक्षा दिई पास गरेर कडा प्रतिस्पर्धामा विजय बन्नुपर्ने त बाँकी नै छ । भाषा सिक्नका लागि पनि प्रत्येकले कम्तीमा ५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।
नेपालमा रोजगारी पाउनका लागि यस्तै हविगत हुन्छ । काम पाउने भन्ने सुइँको पाउनेबित्तिकै युवायुवतीको लर्को नै उर्लिन्छ । बेरोजगारीको भयावहको स्थितिले यस्तो भएको हो ।
चलिरहेका उद्योग व्यवसाय दिनदिनै बन्द भएका खबर छन् । उद्योगी व्यवसायीलाई कम सास्ती छैन । एकातिर लोडसेडिङ, अर्कोतिर आर्थिक मन्दी । मजदुर आफ्नो हकहित भन्दै जुनसुकै बेला पनि उद्योग बन्द गर्न उद्यत छन् । मजदुर युनियनले विभिन्न माग राख्दै गरिने आन्दोलनको अन्त्य छैन । बुझेर सबैले आफ्नो काम गर्दैनन् । हाकिमले पिउनलाई काम अह्राउन गाह्रो
छ । जो कोही पनि चन्दा भन्दै पैसा असुल्न आउँछन् । नदिए ज्यानै जान सक्छ, दिए कतिलाई दिने । कतिपय युनियनका पदाधिकारीलाई ज्वाइँको मेजमानी चाहिन्छ, कतिन्जेल पुर्‍याउने । देशमा संक्रमणकाल बढ्दो छ । शान्ति सुरक्षा दिन सरकारले सकिरहेको छैन । यस्तो अवस्थामा देशमा व्यापार व्यवसायमा सफन हुन्छ भनी कसरी विश्वास लाग्छ ? देशमा काम पाउने र गर्ने वातावरण नभएरै नेपाली युवा युवतीको विदेशतिर मोह बढेको हो । दलका नेताहरू र सरकारले यसलाई ध्यानमा राखेर देशमा व्यापार, उद्योग चल्ने र रोजगार पाउने व्यवस्था मिलाइदिने हो भने सबै युवायुवती मरिहत्ते गरेर विदेशतिर लाग्ने अवश्य   थिएनन् ।
गीता बुढाथोकी
ललितपुर

No comments:

Pages