नेपाली दलाललाई पैसा बुझाएर गैरकानुनी रुपमा मेक्सिकोको जंगल हुदै अमेरिका छिर्न खोज्ने नेपालीहरु पक्राउ परेका छन् । मेक्सिकोबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु ६ जना रहेको बुधबार पुष्टी भएको छ ।
६ जना नेपाली, ४१० जना ग्वाटेमालाका नागरिक, एल साल्भाडोरका ४७ जना, एक्वेडरका ३२ जना, भारतका १२ जना, चीनका ३ जना, जापान र डोमेनिकन रिपब्लिकका एकएकजना गरी ५ सय १३ जनालाई दलालले मोटो रकम असुलेर ट्रकमा सामानजस्तै खांदेर अमेरिका छिराउन खोज्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुईवटा गाडीमा खांदिएका उनीहरु मेक्सिकोको चियापासमा पक्राउ परेका हुन् । गाडीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ग्वाटेमालाबाट मेक्सिको हुदै अमेरिका छिर्नका लागिमात्र नेपालीहरुले विदेशी दलाललाई नेपाली ४ लाख रुपैया बुझाएको श्रोतले बताएको छ ।
नेपाली युवाहरुलाई गैरकानुनी रुपमा इराक र अफगानिस्तान जस्ता जोखिमपूर्ण मूलुकमा पठाउनका लागि मात्र होइन, मेक्सिकोको बाटो हुदै अमेरिका छिराउनका लागि नेपालमा मानव तस्करहरुको ठूलो गिरोह सकृय रहेको छ । तर इराक र अफगानिस्तानको तुलनामा नेपाली युवालाई अमेरिका पठाउने मानवतस्करहरुको संजाल निकै डरलाग्दो रहेको छ । इराक र अफगानिस्तानको तुलनामा गैरकानुनी रुपमा अमेरिका पठाउने कार्य बढी जोखिमपूर्ण भएकाले यस्तो मानवतस्करीमा नेपाली दलालहरुको संजालको सम्बन्ध विदेशी दलालसंग जोडिएको छ ।
नेपालबाट यस्तो मानवतस्करीमा डनहरुदेखि मेनपावर संचालकहरुसमेत सकृय रहेका छन् । श्रोतका अनुसार नेपालबाट गैरकानुनी रुपमा अमेरिका पठाउनका लागि एकदर्जनभन्दा बढी व्यक्ति सकृय रहेका छन् । नेपालबाट भारतको दिल्ली पठाइएका युवालाई अर्का दलालले विभिन्न दलालहरुको सम्पर्क हुदै इक्वेडरसम्म पुर्याउने गरेका छन् । इक्वेडरमा नेपाली दलालले त्यहां पुर्याइएका नेपाली युवाहरुलाई कोलम्बीया पुर्याउछन् । कोलम्बियामा रहेका दलालले अमेरिका छिराउनका लागि लगिएका युवाहरुलाई निकारागुवासम्म पुर्याउने चाजोपाजो मिलाउने गरेका छन् । निकारागुवाबाट , होण्डुरस हुदै ग्वाटेमाला छिराइसकेपछि त्यहा दलालले युवाहरुलाई मेक्सिको छिराउने व्यवस्था मिलाउछन् ।
मेक्सिको आइसकेपछि भने विदेशी दलाल सकृय रहेको छ । होण्डुरसका नागरिक कार्लोसले नेपाली युवाका साथै विश्वका अन्य देशबाट आएका व्यक्तिलाई जंगलै जंगलको बाटो हुदै अमेरिकाको टेक्सास छिराउने काम गर्दै आएका छन् । नेपालबाट अमेरिका छिराउनका लागि मानव तस्करका अरु संजालहरु समेत सकृय रहेपनि यो संजाल नै मुख्य संजाल हो ।
No comments:
Post a Comment