5/21/2011

१० करोड चुना

काठमाण्डौं । भ्रष्टाचारको पर्याय बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा पास बितरण, ट्रली प्रकरण, सरसफाइका सामान खरिदमा भएका अनियमितता र सेक्युरिटी स्टीकर काण्ड हुँदै
पछिल्लो पटक टेण्डर भइसकेपछि म्याद थप गरिएका पसलबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। टेण्डर आह्वान भइसकेको अवस्थामा जसले बढी प्रस्ताव हाल्छ उसैलाई दिनुपर्ने प्रावधान छ। तर टीआइएका भ्रष्ट कर्मचारी र व्यापारीहरू मिलेर अदालतमा मुद्दा हाली ती पसलको म्याद थप गर्दा टीआइएलाई १० करोड रुपैयाँ भन्दा बढी नोक्सान भएको स्रोतको भनाइ छ। टीआइएका उच्चपदस्थ कर्मचारी र व्यापारीहरूको मिलेमतोमा १३ वटा पसल कवलहरूको म्याद थप गर्दा ३ करोड रुपैयाँको घुस लेनदेन भएको टीआइएका एक अधिकारीले बताए। पूर्वमन्त्री शरद्सिंह भण्डारी, प्राधिकरणका निवर्तमान बोर्ड सदस्य केवी भण्डारी, प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपाने, त्रिभुवन विमानस्थल कार्यालय(टीआइए)का तत्कालीन महाप्रवन्धक दिनेशप्रसाद श्रेष्ठ, कर्पोरेट प्रमुख राजकुमार क्षेत्री र श्यामसुन्दर श्रेष्ठको मिलेमतोमा १३ वटा पसलको म्याद थप गरिएको थियो। एमाले–एमाओवादी संयुक्त सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले अनियमिततापूर्वक म्याद थप गरिएका पसलहरू पुनः टेण्डर गर्न र व्यापारीको फाइदाका लागि विनियमहरू संशोधन गर्ने प्राधिकरण नेतृत्वलाई समेत विभागीय कारबाही गर्नुपर्छ, टीआइएका एक अधिकारीले माग गरे। अख्तियारले पनि अनियमिततापूर्वक पसलको म्याद थप गरी घाटा पुर्याउने काममा संलग्नहरूको छिटोछिटो अनुसन्धान गरेर भ्रष्टाचारीलाई विशेष अदालतमा मुद्दा दायर गर्नुपर्नेमा अनुसन्धान प्रक्रिया लम्ब्याउँदै गएको आरोप छ। अख्तियारले उजुरी परेको लामो समयपछि हालैमात्र म्यादथपका फाइल मगाएको स्रोतले जनाएको छ। टेण्डर गरी प्रतिस्पर्धाबाट दिएका पसलहरू र सम्झौताबाट दिएका पसलहरूको विवरणबाटै सोझै अनियमितता छर्लंग देखिने हुँदा यसमा अख्तियार किन आलटाल गर्दैछ भन्ने प्रश्न समेत उठेको छ।

अनियमितताको फेहरिस्त

टीआइएले टेण्डर नगरी म्याद थप गरेका पसलहरूको तुलनामा प्रतिस्पर्धाबाट संचालन गर्न दिएका पसलहरूले तीनगुणा बढी भाडा तिरेको तथ्यांक साँघुले फेला पारेको छ। टीआईएले टेण्डर गरिसकेपछि आन्तरिक टर्मिनल भवनमा न्यू कन्फेक्सनरीद्वारा संचालित टी कफी र बुक पसल, अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर क्लासिक मार्टद्वारा संचालित कन्फेक्सनरी टी कफी गिफ्टका ३ वटा पसलको म्याद थप गरेको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रथम तल्लामा क्लासिक मार्टकै कन्फेक्सनरी पसल र अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थान कक्षमा न्यू कन्फेक्सनरी स्टोरको कन्फेक्सनरी पसलको म्याद थप गरेको छ। त्यसबाहेक केही मनी चेन्जर, फोटो स्टुडियोहरूसमेत १३ वटाको म्याद थप गरेको छ। साई किरण इन्टरप्राइजेजले टेण्डर प्रक्रियाबाट आन्तरिक टर्मिनल भवनमा संचालन गरेको गिफ्ट पसलले ५ बर्गमिटरको भाडा ३१ लाख २० हजार रुपैयाँ तिर्छ भने आन्तरिक टर्मिनल भवनमै संचालित न्यू कन्फेक्सनरीले १२।८८ बर्गमिटर क्षेत्रफलको जम्मा ९ लाख १८ हजार रुपैयाँमात्र तिर्छ। उही प्रकृतिका स्थानमा ५ बर्गमिटर क्षेत्रफल भएकाले ३१ लाख २० हजार तिर्ने र १२।८८ बर्गमिटर भएकाले ९ लाख १८ हजार रुपैयाँ तिर्दैआएको कुरा अख्तियारदेखि पर्यटन मन्त्रालयले तथ्यांक मागेर हेर्दा पनि प्रष्ट हुनेछ। अन्तर्राष्ट्रिय टर्मिनल भवनको भुइतल्लामा मित्र इन्टरनेशलनद्वारा संचालित कन्फेक्सनरी, टी कफी पसलले १२।८० वर्गमिटर क्षेत्रफलको ७७ लाख ४९ हजार रुपैयाँ तिर्नेगरी टेण्डर प्रक्रियाबाट लिएको छ भने सोही स्थानमा न्यू कन्फेक्सनरीले १५।९० बर्गमिटरको २५ लाख २५ हजार रुपैयाँमा मात्र कन्फेक्सनरी पसल संचालन गर्दैआएको छ। न्यू कन्फेक्सनरी भन्दा ३ बर्गमिटर क्षेत्रफल कम भए पनि मित्र इन्टरनेशनलले तीन गुणा बढी भाडा तिर्दैआएको छ। टेण्डरबाट संचालित अन्तर्राष्ट्रिय टर्मिनल भवनको मित्र इन्टरनेशनलकै गिफ्टसपले १६।२५ बर्गमिटर क्षेत्रफलको १ करोड ५० लाख रुपैयाँ टीआइएलाई प्राप्त हुने गरी सम्झौता भइसकेको छ। उही स्थान र क्षेत्रफलको भाडा क्लासिक मार्टले २५ लाख २५ हजार र मित्रले १ करोड ५० लाख रुपैयाँ टीआइएलाई तिर्नेगरी सम्झौता भएको देखिन्छ। टेण्डर भइसकेपछि म्याद थप गर्दा टीआइएले गरेको अनियमितताको यो भन्दा सटीक उदाहरण के हुनसक्छ, टीआइएका एक अधिकारीले भने।

टेण्डर प्रक्रियाबाट अन्तर्राष्ट्रिय टर्मिनल भवनको भूईतल्लाको बाहिरपट्टि रेमिट्यान्सको कारोबार गर्ने इन्टरनेशनल मनी एक्सप्रेसले १८।८७ वर्गमिटरको ५६ लाख २५ हजार रुपैयाँ तिर्छ भने ३ वटा कन्फेक्सनरी, चिया र गिफ्ट पसल लिएको क्लासिक मार्टले ५९।७० वर्गमिटर ओगटे पनि ६६ लाख ७० हजार रुपैयाँमात्र तिर्नेगरी म्याद थप गरिएको छ। क्लासिक मार्टलाई टेण्डर गरिसकेपछि अनियमिततापूर्वक म्याद थप गरिएको थियो। उही स्थानका पसलमध्ये १८।८७ वर्गमिटर क्षेत्रफल भएको एउटाले प्रतिस्पर्धाबाट ५६ लाख ५ हजार टीआइएलाई भुक्तानी गर्नेछ भने ५९।७० वर्गमिटर भएकाले विनाप्रतिस्पर्धा जम्मा ६६ लाख ७० हजार रुपैयाँमात्र भुक्तानी हुनेगरी म्याद थप भएको छ। बालकृष्ण चौगुठी र प्रदीप मुनाकर्मीद्वारा संचालित न्यू कन्फेक्सनरीका पसल र अविनकृष्ण ताम्राकारका क्लासिक मार्टका पसलहरूको म्याद थप प्रकरणमा करिब ८ करोड नोक्सानी बेहोरेको टीआइएले ऐन नियम उल्लंघन गर्दै पछिल्लोपटक अच्यूतबहादुर हाडाको हिमालय मनी चेन्जर र संजय पराजुलीको यती मनी एक्सचेन्जको समेत टेण्डर नै नगरी म्याद थप गरेको स्रोतले जनाएको छ। टेण्डर भएको खण्डमा तीन बर्षमा २ करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने वीपी साइबर क्याफे, साइकिरण इन्टरप्राइजेजको बुकस्टल र होटल स्वनिगको समेत म्याद थप गरिएको छ। चौगुठी, मुनाकर्मी र ताम्राकार एयरपोर्टका रैथाने गिरोहका रुपमा चर्चित छन्। टीआइए स्रोतका अनुसार बीपी साइबर क्याफे र कमल दंगालको नाममा भए पनि साइकिरण इन्टरप्राइजेजको बुकस्टलका लगानीकर्ता पनि चौगुठी, मुनाकर्मी र ताम्राकार नै हुन्।

अनियमिततामा को को संलग्न ?

टीआइएलाई १० करोड नोक्सान हुनेगरी टेण्डर भइसकेका पसलहरूको म्याद थप गर्ने मुख्य भूमिका तत्कालीन महाप्रवन्धक दिनेशप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन बोर्ड सदस्य केवी भण्डारी, कर्पोरेटका प्रमुख राजकुमार क्षेत्री, यज्ञ गौतम, जनार्दन न्यौपाने, श्यामसुन्दर श्रेष्ठको रहेको टीआइए स्रोतको भनाइ छ। स्रोतका अनुसार उनीहरूमध्ये कानुनको ज्ञाता ठान्ने श्यामसुन्दर श्रेष्ठले घुस खाएर व्यापारीको हित हुनेगरी विगतमा सम्झौता गरेकाले त्यही बुँदालाई टेकेर व्यापारीहरू अदालत गएका हुन्। अदालतमा पनि श्रेष्ठले टीआइएको भन्दा व्यापारीलाई फाइदा पुग्ने ढंगले प्रस्तुत भएकाले टेण्डर भइसकेका पसलहरूको म्याद थप गर्ने कार्यले बैधानिकता पाएको हो। घुस, कमिसनमा काम गराउन खप्पिस बद्नाम ब्यापारी गिरोहले अदालतका केही ब्यक्तिलाई समेत प्रभावमा पारी कम मूल्यमा पसल कब्जा गर्न सफल भएको आरोप छ। व्यापारीका एजेन्ट श्यामसुन्दर श्रेष्ठ जस्ता कर्मचारीकै कारण अदालतबाट टीआईएले अपवादबाहेक मुद्दामा हार व्यहोर्दैआएको छ। टीआइएमा दशकौंदेखि कब्जा जमाएर बसेका माफिया व्यापारीहरूले प्राधिकरणको बोर्डबाट नियमै संशोधन गराई म्याद थप गरेका थिए। टीआइएलाई १० करोड रुपैयाँ नोक्सान पार्नेहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन टुंग्याएर विशेष अदालतमा मुद्दा चलाउन सकेको छैन भने जहाज किन्न नदिन होहल्ला गर्ने सार्वजनिक लेखासमितिले पनि चासो नदेखाएको गुनासो टीआइएका अधिकारीहरूको छ, ुशरद्सिंह भण्डारीको छत्रछायाँमा अख्तियार र लेखासमिति परेका त होइनन्रुु पूर्व पर्यटन मन्त्री भण्डारीलाई समेत व्यापारीहरूले घुस खुवाई ती पसलका म्याद थप गरिएको थियो। ती पसलको म्याद थपमा तत्कालीन महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेलाई भागबण्डा नदिएकोले टीआइएका फाइल लामो समयदेखि प्राधिकरणमै थन्किएका छन्। कमिसन नपाएपछि महानिर्देशक न्यौपानेले भने टीआइएले पठाएका अरु फाइलमा समेत कुनै निर्णय नगरी अड्काइरहेको चर्चा एयरपोर्टमा छ।
म्यादथपको आधार के ?
२०६७ जेठ ११ गतेको बोर्डको निर्णयअनुसार म्याद थपका लागि कार्यालयलाई हानी नोक्सानी नपुर्याकउने, कार्यालयप्रति राम्रो व्यवहार गरेको खण्डमा टीआइएका कर्मचारीले मूल्याङ्कन गरेपछि मात्र म्याद थप गर्ने व्यवस्था गरेको थियो। तर टीआइएकै विरुद्ध अदालतमा मुद्दा दायर गर्ने र काम गर्न नदिने, १० बर्षअघिको ४० लाख रुपैयाँ बक्यौता नतिर्ने न्यू कन्फेक्सनरी र क्लासिक मार्टको कुन आधारमा म्याद थप भयोरु करोडौं रुपैयाँ घुस लिएर बदनियतपूर्वक नियम नै संशोधन गरी म्याद थप गर्नेमाथि कारबाही गर्नुपर्छ भन्ने टीआइएकै अधिकारीको भनाइ छ। १० बर्षअघि आन्तरिक टर्मिनल भवनमा संचालित बुकस्टलको ४० लाख बक्यौता अहिलेसम्म टीआईएले उठाउन सकेको छैन। कागजी रुपमा तुलसीनारायण डन्डेख्याको नाममा संचालित भए पनि वास्तविक संचालक चौगुठी, मुनाकर्मी र ताम्राकारहरू नै उक्त बुकस्टलका मालिक भएको कुरा टीआइएका हाकिमदेखि कार्यालय सहयोगीसम्मलाई थाहा छ। प्राधिकरणको अनुगमन समितिले पनि बक्यौता नतिर्नेमा उनीहरूकै संलग्नता देखाउँदा देखाउँदै कारबाही गर्नुपर्नेमा उल्टै करोडौं रुपैयाँ फाइदा हुनेगरी उनीहरूकै पसलको म्याद गर्नुको रहस्य के हो त भन्ने प्रश्न छ।

No comments:

Pages