खस क्षेत्रीलाई आदिवासी जनजाति ऐनमा सूचिकृत गराउन माग गर्दै खस क्षेत्री एकता समाजले आज आइतबार उपत्यका बन्द आहृवान गरेको छ ।
बन्द पूर्व समाजले शनिबार साँझ राजधानीमा मसाल जुलुस निकालेको थियो । समाजले खस क्षेत्रीलाई आरक्षण सुनिश्चित गराउनुपर्ने, लोकतान्त्रिक संविधान सुनिश्चित गर्नुपर्ने, खसान राज्य कायम गराउनुपर्ने, प्रथम खस सम्राट जाबेश्वर नागराजुलाई राष्ट्रिय विभूति घोषणा गराउन माग गर्दै बन्द आहृवान गरेको हो ।गृह मन्त्रालयले सर्वसाधारण र अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने बन्दलगायत विरोधका कार्यक्रम नगर्न दल र संगठनहरूलाई आग्रह गरेको छ । शान्ति प्रक्रिया टुंग्याई बेलैमा संविधान जारी गर्न दबाबस्वरूप गरिएका शान्तिपूर्ण प्रदर्शनको भने सम्मान गर्ने उसले जनाएको छ । मन्त्रालयका तर्फबाट प्रवक्ता सुधीरकुमार शाहले शनिबार विज्ञप्ति जारी गर्दै सर्वसाधारणको आवतजावतमा कठिनाइ र पठनपाठन अवरुद्ध हुने तथा उद्योग कलकारखानामा असर पर्ने भएकाले बन्दका कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । जेठ १४ मा संविधानसभाको म्याद सकिने र अर्को एक वर्ष थप गर्ने प्रस्ताव पेस भएको जानकारी गराउँदै विज्ञप्तिमा सर्वसाधारणको अहित हुने कार्य नगर्न भनिएको छ । विज्ञप्तिमा शान्ति कायम गरी मानव अधिकार रक्षामा सहयोग पुर्याउन सबै दल, नागरिक समाज, व्यवसायी र सर्वसाधारणमा अनुरोध गरिएको छ ।यसैबीच विभिन्न झुण्डहरूले जेठ १४ सम्मको लागि बन्द घोषणा गरेका छन् ।
No comments:
Post a Comment