काठमाडौं । ईपिएस प्रणाली अन्र्तगत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुला भएको छ । आजदेखि वैशाख २२ गतेसम्म बिहान ९ देखि साँझ ६ बजेसम्म आवेदकहरूले फारम भर्न सक्नेछन् ।
काठमाडौं उपत्यकाबाट फारम भर्ने व्यक्तिले ग्लोबल बैंकमा २४ अमेरिकी डलर बुझाउनु पर्नेछ । फारम वितरणको लागि कीर्तिपुरमा रहेको ल्याबरोटरी माध्यमिक विद्यालय नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय वनकाली गौशाला र एन्फा टेक्निकल सेन्टर च्यासल बालकुमारीमा व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने रुपन्देहीको बुटवल प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था मिलाइएको श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । रोजगारीका लागि दक्षिण कोरिया जानेहरूलाई लक्षित गरेर आवेद फारम खोलिएको यो तेस्रोपटक हो । गत वर्ष आवेदन फाराम सञ्चालनदेखि परीक्षा सञ्चालनसम्मको सबै जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भए पनि यस वर्ष नेपाल सरकार आफैले लिएको छ । गत वर्ष ४ हजार कामदार लिएको कोरियाले यस वर्ष ७ हजार नेपाली कामदार लिने घोषणा गरिसकेको छ । गत वर्ष छनौट भएका झण्डै २ हजार नेपाली कोरिया गइसकेका छन् भने २ हजार जाने प्रतिक्षामा रहेका छन् । आजदेखि खुलेको फाराम लिन आइतबार बेलुकादेखि नै हजारौं युवाहरु लाममा बसेका थिए । च्यासल र वेद विद्याश्रममा हजारौं संख्यामा फाराम लिनेहरुको भीड रहेको छ । रातीदेखि नै बसेका युवाहरुलाई झरीले निकै सताएको थियो । शंखमुलका सबै पाटीहरु रातीदेखि नै युवाहरुले खचाखच भरिएको थियो । त्यस्तै, गौशाला वरिपरिका सार्वजनिक स्थलहरुपनि फाराम लिने युवाहरुले भरिएको थियो ।
No comments:
Post a Comment