5/06/2011

खनाल र दाहाललाई गल्हत्याउने तयारी

मन्त्री परिषद् विस्तार नभएकोमा चिन्तित पार्टीका कार्यकर्ताहरू मन्त्री परिषद् विस्तारपछि झनै चिन्तित भएका छन् ।
एमाले र माओवादीभित्र मन्त्री परिषद् विस्तारपछि चर्को प्रतिक्रिया मात्र उत्पन्न भएको छैन यसले दुवै पार्टी अध्यक्षहरूलाई अप्ठेरोमा समेत पारिदिएको छ । एकीकृत नेकपा माओवादीलाई गृहमन्त्रालय जिम्मा दिएको, शान्तिप्रकृया अघि नबढाएको आदि विषयमा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री झलनाथ खनालले चर्को खप्की खेपेका छन् । हिजो सम्पन्न पोलिटब्युरो बैठकमा कतिपय सदस्यहरूले त उनलाई अध्यक्षको हैसियतले पार्टीभित्र बस्ने कुनै अधिकारसमेत नरहेको बताएको बाहिर खबर आएको छ ।
यसैगरी अर्कोतर्फ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य किरणलाई मन्त्री छनोट प्रकृयामा सन्तुष्ट पार्न नसकेपछि आफ्ना पक्षधर नेतालाई सरकारबाट फिर्ता बोलाउने चेतावनी समेत दिएका छन् । उनले आफ्नो पक्षलाई तीन मन्त्रालय दिनुपर्नेमा दुई मात्र दिएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् ।
दाहाल र वैद्यबीच बिहीबार भएको छलफलमा वैद्यले कडा आपत्ति जनाएको स्रोतले बताएको छ । उनले देव गुरुङलाई सूचना तथा सञ्चारमन्त्रीसहित अन्य दुई मन्त्रालय मिलाउन आग्रह गरेका थिए । बुधबार पोलिटब्युरो सदस्य अग्नि सापकोटा सञ्चारमन्त्री नियुक्त भइसकेका छन् । वैद्य पक्षले पर्यटन, उद्योग र महिला मन्त्रालय पाएका छन् ।
दाहालले मन्त्रालय बाँडफाँड भइसकेकाले त्यसलाई मिलाउनुभन्दा अन्य निकास खोज्नुपर्ने बताएका थिए । उनले मन्त्रालय हेरफेर गर्दा अर्को समस्या उत्पन्न हुने जनाएका थिए ।
उद्योगमन्त्रीको शपथ लिन अस्वीकार गरेका वैद्य पक्षका नेता महेन्द्र पासवानले सहमतिअनुसार मन्त्रालय बाँडफाँड नगरे पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्मालाई फिर्ता बोलाउन सक्ने बताए । ुसहमतिअनुसार मन्त्रालयमा कुरा मिलेन भने पर्यटनमन्त्री फिर्ता बोलाउने हुन सक्छ,ु उनले भने ।
मन्त्रालय बाँडफाँडबारे दाहालले आफ्नो पक्षका नेतालाई बढी मन्त्रालय दिएको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । तर उनी पक्षका कानुनमन्त्री प्रभु साह र भौतिक योजना राज्यमन्त्री देवी खड्काले बुधबार शपथ लिइसकेका छन् । उनीहरू यो मुद्दालाई थप चर्काउने पक्षमा नभएको स्रोतले जनाएको छ ।

No comments:

Pages