5/04/2011

दूतावासको निणर्य मानवतस्करलाई सहकाल

कतारमा फ्रि भिसा र फ्रि टिकटमा ८ सय तलबको आकर्षक रोजगारीको अवसर विज्ञापन पत्रपत्रिकामा हेरेर मेनपावरमा कम्पनीमा पुग्ने सयौं युवाहरु खुलेआम ठगीको शिकार भएका छन् ।
२० हजार सेवा शुल्क तिरेर कतार जान पाइने आश बोकेका युवाहरु मेनपावर कम्पनीले ७० देखि ८० हजार मागेपछि विज्ञापन झुटो हो भन्न बाध्य हुन्छन् ।

कतारमा कामदार पठाउँदा न्यूनतम ६ सय रियाल तलब र २ सय खानाको सुविधा सहित ८ सय र भिसा निःशुल्क हुनुपर्ने प्रावधान छ । तर, मेनपावर कम्पनीको नाममा मानवतस्करी गर्नेहरुले वैदेशिक रोजगार विभागबाट स्वीकृति लिन एकथरि सम्झौता गर्ने र कामदार पठाउँदा गोप्य रुपमा अर्को सम्झौता गर्ने गरेका छन् । फलस्वरुप कतार जाने युवाहरु मेनपावर कम्पनीदेखि रोजगारदाता कम्पनीसम्म बाट ठगीको शिकार हुन्छन् र मानवतस्कहलाई ठगी खाने सजिलो बाटो बनेको छ ।
कतारका लागि नेपाली राजदूत सुर्यनाथ मिश्रले कामदारको हितका लागि भन्दै खाना सुविधा अनिवार्य हुनुपर्ने नियम बनाए । यस निर्णयले नेपाली कामदारहरुको मुहारमा खुशी ल्याउने आशा गरिएको थियो तर राजदूतको यस निर्णयसँगै कतार पठाउने नाममा खुलेआम ठगीका घटना हुन थाले । रोजगारदाताको एजेन्ट वा उसको पनि एजेन्टको भर परेर बल्लबल माग ल्याउनेले निशुल्क भिसामा पठाउन नसक्ने भएपछि दोहोरो सम्झौता गर्न थाले र वैदेशिक रोजगार विभागका भ्रष्टहरु खल्तीमा नोटको बिटो हालेर मुकदर्शक बन्दै हेरेर बसिरहेका छन् ।
दोहोरो सम्झौता गरेर  कतार जान बाध्य युवाहरु अलपत्र परी दूतावासको शरणमा पुग्छन् र दूतावासले पनि अलपत्र पार्ने मेनपावर कम्पनीलाई कारवाही गर्न सिफारिस गर्छ र आफ्नो जिम्मेवारी पूरा भएको ठानेर पन्छिन्छ । राजदूत एक्लैले गरेको खाना निःशुल्क हुनुपर्ने व्यवस्थाले कामदारको भलो हुनुभन्दा समस्या बल्झिएको छ । राजदूत मिश्रले कुटनीतिक छलफल बिना गरेको निर्णय मानव व्यापार गर्नेहरुलाई लाइसेन्स जस्तो बनेको छ । 
दूतावासले कागजी नियम त बनाएको छ तर अनुगमन भने कहिल्यै गरेको पाइदैन । नियम बनाउने र थोपर्ने तर आफ्नो दायित्व भने पूरा नगर्ने राजदूत र उनको कर्मचारीहरुका कारण उनले बनाएको खाना निःशुल्कको नियम ‘खाना त खा, तर घाँटी थिचेर खा’ भने झै भएको छ ।
विभागले पनि कतारमा स्वीकृति लिदाको सम्झौता अनुसार कामदार पठाए नपठाएको अनुगमन गर्ने गरेको छैन । कामदार पठाउन स्वीकृतिका दक्षिणा लिएर हस्ताक्षर धसेपछि सबै जिम्मेवारी सकिएको ठान्ने विभागका भ्रष्टहरु र मेनपावर व्यवसायी बीचको मिलेमतोका कारण पनि युवाहरु फ्रि भिसामा समेत चर्को रकम तिरेर विदेश जान बाध्य भएका छन् ।

No comments:

Pages