एकीकृत नेकपा माओवादीले शान्ति र संविधानका लागी दबाबमुलक कार्यक्रम गर्ने भएको छ । प्रचण्ड निवास नयाँ बजारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले शान्ति र संविधानविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम सार्वजनिक गरेको हो ।
बैठकले आगामी जेठ १ देखि १० गतेसम्म शीर्ष नेताहरुको सहभागितामा शान्ति र संविधानका लागि जनपरिचालन एवम् जनसभा गर्ने निर्णय गरेको छ । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो(’शान्ति र संविधानका लागि दबाबमुलक कार्यक्रम गर्ने निर्णय भएको छ ।’दबाबमुलक आन्दोलन अन्तरगत जेठ १० गते काठमाडौँ उपत्यकासहित मुख्य छवटा सहरमा जनसभा गरिनेछ । काठमाडौंमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, विराटनगरमा उपाध्यक्ष डा बाबुराम भट्टराईले, जनकपुरमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, धनगढीमा महासचिव रामबहादुर थापा, पोखरामा सचिव सिपी गजुरेलले र नेपालगन्जमा हुने सभालाई थायी समिति सदस्य लीलामणि पोखरेलले सम्बोधन गर्नुहुनेछ ।
शान्ति र संविधान निर्माणको प्रस्तावमा नोट आफ डिसन्ट लेखेका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले भने कुनै पनि सभालाई सम्वोधन गर्नु हुन्न । पदाधिकारीहरुको बैठकले सरकारमा पठाउने थप सातजना मन्त्री र ११ जना राज्यमन्त्रीको अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । ढिलोमा बुधबारसम्ममा मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने ‘म्यान्डेट’ दिएको उपाध्यक्ष प्रकाशले जानकारी दिनुभयो । बैठकमा शान्ति, प्रक्रिया र संविधान लेखन कार्यलाई पूर्णता दिन अन्य दलहरुसँगको वार्तालाई अझ निरन्तरता दिने निर्णय समेत गरेको छ ।
No comments:
Post a Comment