काठमाडौ । मुद्राको अवैध कारोबार मुद्दामा १५ महिनादेखि थुनामा रहेका सिन्धुपाल्चोक फुटिङ्गका नारायण पौडेलले जरिवाना बापतको तीन करोड रुपियाँ बुझाएर आज जेलमुक्त भएका छन् ।
उनलाई गत वैसाख ४ गते जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीले मुद्रा अपचलनको मुख्य दोषी ठहर गर्दै तीन करोड जरिवाना र एक वर्ष तीन महिना जेल सजायको फैसला गर्नुभएको थियो ।
चीनबाट सामान आयात गर्ने नाउँमा तीन करोड २६ लाख अमेरिकी डलर अपचलन गर्ने गिरोहको मुख्य नाइकेका रुपमा पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले २०६६ फागुनमा जाहेरी दिएको थियो ।
निज पौडेलले तातोपानी भन्सार नाकाबाट सामान आयात गर्ने नक्कली कागजात बनाई बैंकबाट रु। तीन करोड ३४ लाख रकम झिकेको र नक्कली भन्सार अनुमतिपत्र पेश गरी हिमालयन र इन्भेसमेन्ट बैंकबाट रकम हङ्गकङ्ग पठाएको भन्दै उनी विरुद्ध मुद्दा दायर भएको थियो ।
पौडेललाई २०६६ वैशाख २० गते बैंकमा पैसा साट्न जाँदा अनुसन्धान विभागको सुराकीका आधारमा समातिएको थियो । त्यसपछि चलेको मुद्राको अवैध कारोवार मुद्दामा पुर्पक्षको लागि उनी थुनामा रहिआएका थिए ।
पौडेलको मंगलबार मात्र मुद्दाको कसूर सकिएको र आजै निजले धरौटी राखी जेलमुक्त भएको जिल्ला अदालत काठमाडाँैका श्रेस्तेदार भरत लम्सालले बताउनुभयो । पौडेलले जरिवाना बापतको रकम नबुझाएको भए थप चार वर्ष जेल बस्नुपर्ने थियो ।
No comments:
Post a Comment