5/04/2011

अझै पुगेन भ्यागुताको धार्नी

 भ्यागुताको धार्नी पुर्याएर जम्बो सरकार बनाउन लागेका प्रधानमन्त्री झलनाथ खनालले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । खनालले  एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम, नेकपा संयुक्त, नेकपा माले र माले समाजवादीका मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिद् विस्तार गर्नु भएको हो । यससँगै सरकार दुई तिहाई बहुमत नजिक पुगेको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा माओवादीका माओवादीका तर्फबाट आठ, फोरमका तीन तथा संयुक्त र मालेका एक(एक मन्त्रीले प्रधानमन्त्री खनाल समक्ष पद तथा गोपनियताको सपथ लिए ।

माओवादीका तर्फबाट अग्नी सापकोटा सञ्चार मन्त्री, शक्ति बस्नेत स्वास्थ्यमन्त्री, प्रभु साह कानुनमन्त्री, महेन्द्र पासवान उद्योगमन्त्री, जयपुरी घर्ती महिलामन्त्री, रामचरण चौधरी थारु भूमिसुधार मन्त्री, हितवहादुर तामाङ युवा तथा खेलकुदमन्त्री र विश्वनाथ साह शान्तिमन्त्रीमा नियुक्त हुनु भएको छ ।

यसैगरी हरिनारायण चौधरी कृषीमन्त्री र मोहम्मद इस्तियाक राई श्रममन्त्रीमा नियुक्त हुनु भएको छ । यस्तै संयुक्तका सुनिल मानन्धर वातावरणमन्त्री र मालेका खगेन्द्र प्रसाई संस्कृतिमन्त्रीमा नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री खनालले बुधबार नै पाँच राज्यमन्त्री नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री खनालले माओवादीका धर्मशिला चापागाईलाई सञ्चार, देवी खड्कालाई भौतिक योजन तथा निर्माण, ध्रुवकुमार लिम्बु पर्यटन तथा नागरिक उड्ययन र हकिकुल्लाह खाँ भूमिसुधार तथा फोरमका नन्दनकुमार दत्त कृषी राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगतै खनालले सानो र छरितो आकारको मन्त्रिपरिषद् गठन गठन गर्ने बताउनु भएको थियो । तर, सरकारलाई दुई तिहाईको समर्थनको बनाउन खोज्दा खनाल नेतृत्वको मन्त्रिपरिषद् ठुलै भएको छ । चौथो पटकको विस्तारसँगै मन्त्रीहरुको सख्या २२ पुगेको छ र १० राज्यमन्त्री नियुक्त भइसकेका छन् । फोरम र नेकपा मालेले एक(एक मन्त्री पठाउनै बाँकी छ भने माओवादीले ६, एमालेले तीन र फोरमले तीन राज्यमन्त्री पठाउन बाँकी छ । उसो त सरकारमा सहभागी अन्य तीन साना दलले पनि कम्तिमा एक(एक राज्यमन्त्री माग्ने लगभग पक्का छ । अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद् कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वको ४८ सदस्यीय थियो । त्यसपछि माधवकुमार नेपाल नेतृत्वको सरकार ४६ सदस्यीय थियो ।

बिस्तारै बिस्तार, सधैं विवाद

भरे भोलि भन्दाभन्दै आफू प्रधानमन्त्री भएको ठ्याक्कै तीन महिनापछि प्रधानमन्त्री खनालले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । निकै मेहनतपछि बल्लतल्ल गठन भएको नयाँ सरकारलाई पूर्णता पाउन पनि उस्तै हम्मेहम्मे पर्यो । शुरुमा खनाल एक्लैले शपथ लिनुभयो । आफ्नै पार्टीका मन्त्रीहरुलाई सरकारमा लैजान पनि दुई खेप गर्नुपर्यो । विष्णु पौडेललाई गृहमन्त्री बनाउने पार्टीको निर्णय र गृहमन्त्रालय आफूले पाउनुपर्ने माओवादी दबाबले उहाँ निकै झमेलामा पर्नुभयो । पार्टीबाट सिफारिस भएका विष्णु पौडेल र गंगालाल तुलाधर झण्डै महिना दिन विना विभागीयको रुपमा रहे ।

विवादकै बीच प्रधानमन्त्री खनालले पौडेललाई रक्षामा सार्नुभयो, गृह आफैंले राख्नुभयो । त्यसपछि फेरि पार्टीका अर्को पक्षधरलाई चिढ्याएर उहाँले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्नुभयो । आफ्नै पार्टीका मान्छे सहभागी दोस्रो पटकको विस्तारमा राधा ज्ञवालीले शपथै नलिई विदा लिनुभयो । ल्हारकाल लामा प्रकरणले फेरि विवाद बल्झायो । विवादकै बीच अर्थराज्यमन्त्री लामाले राजीनामा दिनुभयो । यसरी सुरुवातदेखि नै विवाद र झमेला थपिँदै आएको मन्त्रिपरिषदमा तेस्रो विस्तार हुने क्रमसम्म आईपुग्दा यो झन् बढेर गएको छ दुवै सत्ताधारी एमाले र माओवादीमा ।

No comments:

Pages