6/30/2011

साउदीले इन्डोनिसियाली र फिलिपिनो कामदार रोक्ने

काठमाडौँ । साउदी अरबले इन्डोनेसियाली र फिलिपिनो कामदारलाई आफ्नो मुलुक आउन रोक्ने भएको छ ।
साउदी मन्त्रालयले आउँदो शनिबारदेखि ती दुई देशका कामदार आफ्नो मुलुकमा प्रवेश नदिने बताएको छ । इन्डोनिसिया र फिलिपिन्सले लामो समयदेखि आफ्ना मुलुकका कामदार असुरक्षित रहेको भन्दै उनीहरूका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन माग गर्दै आएका छन् । केही समयअघि इन्डोनेसियाली महिला कामदार रुयती बिन्ती सपुबीलाई हत्यामा संलग्न रहेको आरोपमा मृत्युदण्ड दिएपछि साउदी सरकारको अतर्राष्ट्रिय स्तरमा चर्को आलोचना भएको थियो ।
इन्डोनेसियाका राष्ट्रपति सुसिलो बाङबाङ युधुयोनोले अन्तर्राष्ट्रिय सम्बन्धको नियम विपरीत आफ्नो नागरिकलाई मृत्युदण्ड दिइएको बताएका थिए । आफ्ना नागरिकलाई मृत्युदण्ड सजाँय दिइएपछि यसै महिना इन्डोनेसिया सरकारले आफ्ना नागरिकलाई कामका लागि साउदी जान नदिने घोषणा गरेको थियो । फिलिपिन्सले पनि आफ्ना महिला कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउन तथा मानवीय सर्त सुनिश्चित गर्न माग गर्दै आएको छ ।
मानव अधिकारवादी संघसंस्थाले खाडी मुलुकहरूमा महिला कामदारमाथि दुव्र्यवहार हुने गरेको बताउँदै आएका छन् । हाल ती देशका करिब २० लाख मानिस कामदारका रूपमा साउदीमा छन् । साउदी श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अन्य मुलुकबाट नयाँ कामदार ल्याउनका लागि त्यस्तो निर्णय लिइनु परेको उल्लेख छ । यो निर्णयबाट साउदी अरव जान चाहाने नेपाली कामदारलाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ । यसअघि नै करिव ६ लाख नेपाली कामदार साउदी अरवका कार्यरत छन् । नेपालले हालै घरेलु महिला कामदारका रूपमा मापदण्ड पुरा गरेर जान सकिने गरि खुला गरेको थियो ।

No comments:

Pages