धेरै वर्ष भयो रेमिट्यान्सले नेपाललाई गरिबी घटाउन र आर्थिक स्थिरताका लागि सहयोग गरेको। तर यसको अर्को पाटो पनि छ, यही रेमिट्यान्स कै कारण सरकार निस्क्रिय बनेको छ।
अति आवश्यक नीतिहरु सुधार गर्न पनि सरकारलाई कुनै दबाब नपरेको कारण पनि यही रेमिट्यान्स कै कारण हो। परिणामस्वरुप देशले निकै ठूलो आर्थिक जोखिम भोग्नुपर्नेछ। यो खुलासा गरेको छ विश्व बैँकको पछिल्लो एउटा अध्ययनले।सन् २००९/१० मा रेमिट्यान्स साढे दुई अर्ब डलर भित्रियो। तर यो सित्तैमा भित्रिएको भने हैन। यसका लागि परिवार छुट्टिनु पर्ने, मानव बेचबिखन, दुर्व्यवहार र महँगो रेमिट्यान्स सेवाको मोल तिर्नुपर्यो।
अलि वृहत् स्तरमा हेर्ने हो भने यसको प्रभाव अझ व्यापक छ। यसकै कारण बाह्य प्रतिस्पर्धा गुमेको छ, उत्पादन र कृषि क्षेत्रमा कमी आएको छ, घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको छ र रेमिट्यान्स मै भर पर्ने क्रम बढेको छ। यसबाट अन्तर्राष्ट्रिय अस्थिरताले नेपाल पनि प्रभावित हुने स्थिति आएको छ।
विश्व बैँकका अधिकारी हिसानोबु सिसिडो भन्छन्, ‘पछिल्ला वर्षमा बढ्दो रेमिट्यान्सले नीति सुधारमा निस्क्रियता बढेको छ, जुन प्रतिस्पर्धा र उत्पादकत्व बढाउन निकै आवश्यक कुरा हो। देशलाई दीर्घकालीन रुपमा यो घाटा निकै महँगो पर्नेछ।’
विश्व बैँकको अध्ययनले इंगित गरेको नीति निर्माणको कमजोरीका कारण लगानीको वातावरण झन् बिग्रिएको छ जसका कारण निजी लगानी घटेको छ र फलस्वरुप रोजगारी सिर्जना पनि हुन सकेको छैन। रोजगारी सिर्जना नभएपछि झन् बढी मानिस वैदेशिक रोजगारीका लागि जान बाध्य हुनेछन् र यसले यो दुष्चक्र झन् बढ्नेछ।
अध्ययनले चेतावनी दिएको छ- रेमिट्यान्सका कारण मूल्यवृद्धि हुनेछ र यसले निर्यातयोग्य सामान र आयात गरिने सामानको भाउ बढाउनेछ जसबाट प्रतिस्पर्धात्मक स्थिति घट्नेछ। वैदेशिक रोजगारमा जनशक्ति बाहिरिएपछि देशमा जनशक्तिको पनि अभाव हुनेछ जसबाट ज्याला बढ्नेछ र काम गर्ने इच्छा पनि घट्नेछ किनभने परिवारका लागि रेमिट्यान्स आएकै हुन्छ।
अध्ययनले सुझाव दिएको छ- लगानीको राम्रो वातावरण बनाउनु पर्छ। यसले देश मै रोजगारीको सिर्जना हुनेछ। विदेशमा रोजगारदाता कम्पनीहरुसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ। ती देशमा नेपाली दूतावासको भूमिका बढाउनु पर्छ। म्यानपावर कम्पनीलाई सरकारले राम्रोसित निगरानी गर्नुपर्छ। फटाहाहरुलाई कारबाही गर्नुपर्छ। रेमिट्यान्स देशमा भित्र्याउँदा सस्तो विकल्प खोज्न कदम चाल्नुपर्छ।
अध्ययन अनुसार आधा नेपाली घरपरिवारका कम्तिमा एक जना सदस्य विदेशमा छन् वा विदेशबाट फर्किएका छन्। नेपाली घर परिवारको एक चौथाई आम्दानी रेमिट्यान्सबाटै हुन्छ। वैदेशिक रोजगारमा रहेका एक तिहाई पुरुषले कूल गार्हस्थ उत्पादनको २५ प्रतिशत रेमिट्यान्सबाट योगदान गर्छन्।
No comments:
Post a Comment