6/29/2011

लाखौं ठगेर ढकाल फरार

बैदेशिक रोजगारको सिलसिलामा विगत ३ वर्षअघिदेखि कतारको दोहास्थित अल मजली टेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनी तथा सोही स्थानको नासिर अल अली इन्टरप्राइजेज कम्पनीमा काम गर्ने भोजपुर, याकुका महेन्द्रबहादुर राई, म्याग्दी, अर्मनका थमबहादुर रोकामगर, भोजपुर, देउरालीका बालकृष्ण राई र पदमपोखरी, मकवानपुरका बुद्धप्रकाश लामाबाट करिब ३ लाख भन्दा माथि ठगी गोकर्ण ढकाल फरार भएका छन् ।
अल मजली टेडिङ एण्ड कन्ट्राक्टिङमै काम गर्ने तथा थमबहादुर रोकामगरसँग एउटै कोठामा डेरा गरी बस्ने काठमाडौं बुढानिलकण्ठ घर बताउने, बुढानिलकण्ठ मन्दिरका पुजारी विष्णु पण्डितको छोरो हुँ भन्ने, धेरै बोलिरहने, दुवै कानमाथि खत भएको, पातालो ज्यानको अन्दाजी ३४र३५ वर्षको गोकर्ण ढकालले यसरी आफ्नै साथीहरुलाई ठगेका हुन् ।
२८६१६१७ नम्बर राहदानी भएको निजले म एनेकपा माओवादी जनमुक्ति सेना हुँ, मेरो दाजु नेपाली सेनामा र भाइ नेपाल प्रहरीमा काम गर्दछन् । मैले पार्टीलाई यहाँबाट रकम उठाएर नेपाल पठाउनुपर्नेछ, त्यसैले मलाई सापटीस्वरुप र केही चन्दास्वरुप रकम सहयोग गर्नुपयो’ भनिरहने गरेको तर पीडितहरुले नाइनास्ती गर्दैआइरहेकोमा पछि अनेक तरहले ज्यान मार्नेसम्मको डरधम्की देखाएपछि ज्यानको मायाले पटकपटक गरी महेन्द्रबहादुर राईले ४,०००।–, थमबहादुर रोकामगरले ४,०००।–, बालकृष्ण राईले २५००।– र बुद्धप्रकाश लामाले निजलाई ४०००।– कतारी रियल दिएका थिए ।
यसरी सापटीबापत रकम दिएकोमा पछि पटकपटक फिर्ता गर्नका लागि ताकेता गर्दा ‘दिन्छु’ भन्दै नदिई निज ढकाल नेपाल फर्किएर फरार भएका छन् । ढकाल जून १२ तारिखका दिन काठमाडौं भित्रिएका थिए । निजले पैसा लिएका व्यक्तिहरुलाई थाहै नदिई नेपाल फर्किने बेलामा निजको भाग्ने योजना थाहा पाई एअरपोर्टमा भेटी रकम माग्दा काठमाडौंमा उत्रिनसाथ दिन्छु भनेको तर काठमाडौंको एअरपोर्टमा आइपुगेपछि ‘मैले तिमेरसँग रकम लिएको के रेकर्ड छ ? मलाई रिस उठाएमा मारेर ज्यान गायब पारिदिन्छु, मलाई खोज्ने कोसिस नगर्नू’ भनी डरधम्की दिई फरार भएको पीडितमध्येका एक थमबहादुर रोकामगर बताए । आफूसँगै काम गरेको तथा एउटै कोठामा बस्ने साथीबाट यसरी ठगिएपछि पीडित युवाहरु रुनु न हाँस्नुको अवस्थामा बेखर्ची भएर काठमाडौंमा बसिरहेका छन् ।

No comments:

Pages