6/27/2011

कतारमा नेपाली ३ लाख

कतारमा नेपालीको संख्या ३ लाख ८ हजार २ सय ४९ रहेको जानकारी प्राप्त भएको छ । कतारका लागि नेपाली राजदूत सुर्यनाथ मिश्र र कतारका सामाजिक मामिला तथा कार्यवाहक श्रममन्त्री अल हमेदीबीचको भेटघाटमा उक्त जानकारी गराइएको हो ।
राजदूतका अनुसार प्रशस्तै नेपालीको भिसा इस्यु भइसकेर पनि आउन बाँकी छन् भने स्वीकृत भिसाको संख्या पनि निकै ठुलो रहेको छ । कतार भित्रिन बाँकी रहेका नेपालीको संख्या ३० हजार ७ सय रहेको राजदूतले बताए । त्यस्तै श्रम विभागबाट ९० हजार २ सय ४४ थप नेपालीका लागि भिसा अनुमोदन भएको पनि राजदूतले जानकारी दिएका छन् । ५९ हजार २ सय ४४ नेपालीको मागपत्र पेश भइसकेको र भिसा अनुमोदनका लागि निर्णय प्रकृयामा रहेको जानकारी मन्त्री हमेदीबाट पाएको राजदूत डा. मिश्रले बताएका छन् ।
भेटका अवसरमा कतारमा नेपालीको कार्यसम्पादनप्रति हमेदीले सन्तुष्टि व्यक्त गरेको र दक्ष जनशक्तिमा पनि नेपाल सक्षम भएकाले उनीहरूलाई अवसर उपलब्ध गराउन गरेको आग्रह कतार सकारात्मक रहेको राजदूत मिश्रले बताए । उनले भने– ‘डाक्टर, इञ्जिनियर, ओभरसियर, नर्स, एकाउण्टेन्ट, मेनेजर, स्वास्थकर्मीहरू लगायतका दक्ष जनशक्तिको खाँचो कतारलाई पनि ठुलै रहेकोले नेपालीले अवसर पाउने सम्भावना पनि बलियो छ ।
कामदारको पूर्णकालिन जीवन विमाको सुझावलाई पनि मन्त्री हमेदीले सकारात्मकरुपमा लिएको र चाँडै नै विभिन्न कम्पनीका व्यवस्थापनहरूसँग हुने बैठकमा सो प्रस्ताव राख्ने आश्वासन पनि मन्त्रीले दिएका छन् ।
कामदारलाई कानुनप्रदत्त अधिकार प्राप्तिमा कठिनाई भएकोवारे पनि छलफल भएको र यस्तो परिस्थतिमा मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेको जानकारी दिदै राजदूतले भने, ‘नेपालबाट हाउसमेडकावारेमा भएका निर्णयहरूवारे पनि छिट्टै आवश्यक समन्वय गरिने प्रतिबद्वता जनाइएको छ ।’

No comments:

Pages