6/27/2011

एनआरएनप्रति बढ्दो विरोध

नेपाली जनप्रगतिशील मञ्च कतारले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएन एनसिसी) कतारको नेतृत्व र गतिविधिप्रति ब्यापक असन्तुष्टि ब्यक्त गरेको छ ।

एनआरएनए एनसीसी कतारले ०९ जुन २०११ मा निकालेको प्रेस विज्ञप्तिमा मञ्चका अध्यक्ष शर्माको नाम उल्लेख गरी प्रस्तुत गरिएका केहि तर्कहरूको कडा विरोध पनि मञ्चले दर्शाएको छ । ‘शर्मालाई मजदुर विरोधी र एनआरएनएमा केही योगदान दिन नसकेको भन्ने जस्ता व्यक्तिगत आरोपहरूको घोर निन्दा र भत्र्सना’ सो कार्यक्रममा गरिएको थियो ।
सो अवसरमा वितरण गरिएको अध्यक्ष शर्माद्धारा हस्ताक्षरित चार पेज लामो विज्ञप्तिमा ‘जनप्रगतिशिल मञ्चले आफ्नो स्थापनाकाल देखि नै श्रमिक मजदुर, ठगिएका नेपाली कामदारहरूको पक्षमा सदैव लडदै आइरहेको र ठग, दलाल, मजदुरमाराहरू कोहीकसैसंग सझौता नगरी आफ्नै स्पष्ट धारणा र अडानकासाथ कतारमा सक्रिय रहेको’ जिकिर गरिएको छ भने ‘अध्यक्ष शर्माले पार्षदको हैसियतमा एनआरएनए एनसीसी भित्रका कमीकमजोरीहरू विधानसम्मत तरिकाले सच्चाएर जानुपर्ने र संस्थाभित्र नै पदाधिकारीहरूकारुपमा ठग, दलाल फटाहाहरू विद्यमान रहेका कुरा खुलारुपमा राखेकाले नै एनआरएनए एनसीसी भित्रकै केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले असह्य भएर शर्मामाथि व्यक्तिगत लान्छना लगाएको’ तर्क गरिएको छ ।
६÷६ महिनामा राखिनुपर्ने पार्षदभेला विनाकारण समयमा डाक्न नसकेको, संस्थाले गरेका क्रियाकलापलाई प्रथामिकता नदिएको, विभिन्न संघसंस्था तथा व्यक्तिलाई गरेको सहयोग पारदर्शी नभएको, देशका गौरव र शान बढाउने नेपाली व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा सहि भएर पनि धेरै ब्यक्तित्वहरूलाई छुटाएको, युएईको क्षेत्रिय सम्मेलनमा कतारबाट कार्यपत्र प्रस्तुत गर्न नपाएको, जापानमा भुकम्प पिडितलाई सहयोग रकम नपठाउँदै प्रतिवेदनमा भने पठाइसकियो भनेको, मजदुर हकहित तथा बैदेशिक रोजगारीमा हुने गरेका अनियमितताका सवालमा खासै ठोस कार्यक्रम गर्न नसकेको, पर्यटन वर्ष २०११ लाई सफल पार्न केही कदम चाल्न नसकेको, देशमा शान्ति र संविधानका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्न खासै ठोस कदम चाल्न नसकेको, पार्षदभेलामा अन्तिमतिर आइपुग्दा ४०÷४५ जनामात्र भेला हुने अवस्थासम्म आइपुग्दा पनि एनसीसीको ध्यान नगएको, राष्ट्रिय स्वाधिनता, समा अतिक्रमण तथा गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने जस्ता राष्ट्रिय स्वाभिमानका विषयमा मौन रहेको, एनआरएनएसँग सम्वद्ध उच्च जिम्मेवारी भएका व्यक्तिहरूका बारेमा बाहिर आउने गरेका ठगी, दलाली जस्ता गैर जिम्मेवारी र गैर कानुनीजस्ता मुद्दामा मुछिएका व्यक्तिहरूमाथि पनि मौन रहेको दावी गरेका छन् ।
आर्थिक प्रतिवेदन प्रति हलुका नीति अपनाएको, कार्यसमिति र संघसस्था समन्वय समितिलाई चुस्त र संरचनात्मक बनाउन संघसस्था, वर्ग, समुदायबाट सबैलाई समेट्ने कुरामा चासो नलिएको, आफ्नो स्वार्थ अनुरुप २÷३ (दुई तिहाई) को गलत प्रावधान भएको, स्वतन्त्र, निष्पक्ष र शक्तिशाली अनुशासन आयोग, लेखासमिति एनआरएन एनसीसीका पदाधिकारीहरूभन्दा बाहिरका स्वतन्त्र पार्षदबाट बनाउने व्यवस्थामा चासो नलिएको, परिषदभेला जस्तो महत्वपूर्ण कार्यक्रम व्यापक वहस र छलफलको चल्न नसकेको, संस्थाभित्र टिके प्रथाको अन्त्य नभएको, आफ्नै कार्यकाल सकिएर काम चलाउ (केयर टेकर) बनिसकेको एनसीसीले राष्ट्रिय परिषद्लाई भंग गर्ने तर भेलाबाट निर्वाचन समिति र महाधिवेशनको घोषणा नै नगरी आफु निरंकुश हुन खोजेको जस्ता कुराहरू पार्षदभेलामा राखेकैले आफूमाथि व्यक्तिगत लान्छना र रिसइवी साँध्न खोजेको जिकिर गर्दै अध्यक्ष हर्माले भने– ‘आफै राजनिति पनि गर्ने र एनआरएनए सबैको साझा संस्था हो पनि भन्नेहरूले नै संस्था नराम्रो बनाएका छन् । सबै संघसंस्था र समुदायको प्रतिनिधित्व हुनुपर्छ भनेर मैले उठाएका कुरालाई राजनिति भागबण्डा लगाउन खोजेको आरोप लगाउनु गलत र अर्थहिन हो ।’
अध्यक्ष शर्मालाई पुर्वाग्रही रुपमा मजदुर बिरोधी बनाउने धृष्टता गर्न खोज्नु र पुन एनआरएनएमा सहभागी नहोस् र सदाका लागी बाहिरियोस् भन्ने मनोगत उद्देश्यले शर्मा विरुद्ध विज्ञप्ती निकालिएको ठोकुवा पनि मञ्चले गरेको छ ।  ‘आफ्नै संस्थामा आवद्ध केही उच्चपदस्थ व्यक्तिहरूद्धारा  कतारको कानुन र नेपालको कानुन विपरितका हुने गरेका क्रियाकलापहरू जस्तै नेपालीले नेपाली माथि गर्दै आएका शोषण, ठगी, दलाली आदि इत्यादी गतिविधिमा तैं चुप मै चुप बनेर मौन बस्नुको उद्देश्य के हो ?’ अध्यक्ष शर्माले कटाक्ष गरे ।
‘विगतमा एनआरएनएको खोल ओढ्दै’ भन्ने बाक्यांससहित मञ्चले एनआरएनएको विभिन्न कार्यकालमा विभिन्न नेतृत्वमा रहेका पदाधिकारीहरूले गरेका विभिन्न गलत र गैर कानुनी कार्यहरूको सुुची मञ्चले प्रस्तुत गरेको छ । सो सुचीका कतिपय गुनासाहरू दूतावासमा उजुरीकारुपमा दर्ता भएका थिए भने केहि भने उजुर नगरिएका गुनासाहरू पनि सो विज्ञप्तिमा सुचिकृत छन् । सो सुचीमा कसैको पनि नाम उल्लेख नगरिनुका कारणवारे सोधिएको जिज्ञासामा अध्यक्ष शर्माले ‘हालका लागि सचेत गराउन खोजिएको र सुधार नभएमा भविश्यमा सप्रमाण सार्वजनिक गर्ने’ बताए । ‘एनआरएनएमा राजनीति गर्नुहुन्न भन्नेहरू आफै विभिन्न पार्टी सदस्य हुनु र एनआरएनएको आवरणमा चर्को राजनीति गर्नु, एनआरएनएको खोलमा लुकेर भिषाको कारोबार गर्नु जस्ता कुकृत्यहरूको बारेमा हामीसवैलाई थाहा छ’ शर्माले भने– ‘यी श्रमिक, मजदुरहरूमाथि गरिएको शोषणका श्रृंखलाबद्ध मुद्दाहरूलाई व्याख्या र सप्रमाण प्रस्तुत गर्न, अन्य थप विषयका बारेमा कुनकुन व्यक्तिबाट कहिले, कहाँ, कसरी के के भएका थिए ? आवश्यक परे र त्यो चरणसम्म पुग्नुपर्ने वाध्यता भए अथवा वाध्यता बनाइएमा सो कुकृत्यहरूको सप्रमाणसहित पर्दाफास गर्न तयार छौं ।’ मञ्च एनआरएनएको विरोधी नभएको पनि उनले उल्लेख गरे । ‘हामी संस्थाको होइन, संस्था भित्रका खराव ब्यक्तिहरूका विरोधी हौं’ उनले भने ।
एनआरएनका प्रतिनिधिहरू, नागरिकसमाज र संचारकर्मीहरूको संयुक्त भेलासहितको बृहत कार्यक्रमको आयोजना गरी व्यापक अन्तत्र्रिmयाका साथै निकट भविष्यमा एनआरएनएप्रतिको जनप्रगतिशील मञ्चको आधिकारिक अवधारणा ल्याउने जानकारी सो अवसरमा दिइएको छ । आरोपहरूका भ्रममा नपर्न अपिल गर्दै अध्यक्ष शर्माले आवश्यक सुझावका लागि पनि अपिल गरे । अवका दिनमा एक ढिक्का भएर जानका लागि पहल गर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् । यसअघि अघिल्लो साता जनप्रतितिशिलले एनआरएनएप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति प्रकाशन गरेको थियो भने सो विज्ञप्तिको खण्डन गर्दै एनआरएनएले पनि गत साता एक विज्ञप्ति सार्वजनिक गरेको थियो ।
आइतवारको पत्रकार भेटघाटमा रकमध्वज राईले स्वागत मन्तब्य राखेका थिए भने तिल विक्रम थेवेले कार्यक्रम संचालन एवं मञ्चको धारणासहितको विज्ञप्ति प्रस्तुत गरेका थिए । सुरक्षा सचेतना केन्द्रका अध्यक्ष ई. राधाकृष्ण देव र गैर आवासिय नेपाली यातायात मजदुर संघका अध्यक्ष भुपराज दुवाडीले यहाँ कार्यरत हरेक नेपाली र संघसंस्थामाझ यहाँको परिस्थिति अनुकुल समझदारी र सद्भाव हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा वक्ताहरू लक्ष्मण खतिवडा र दीपक भेटवालले ‘एनआरएनए संस्था खराव होइन, केहि खराव ब्यक्रिले यसको छवि विगारेका हुन् भन्ने मञ्चको धारणा आएको औंल्याउँदै’ त्यसो हो भने बहिस्कारको बाटोमा नलागी आपसी एकता र सद्भावका लागि अन्य विकल्पहरूको खोजी गर्नुपर्नेमा जोड दिए ।

No comments:

Pages