6/30/2011

एनआरएन जापान अधिवेशनमय

एनआरएन जापानको अधिवेशन नजिकिंदै गर्दा नेतृत्वका लागि उम्मेदवार बन्नेहरुको चर्चा, परिचर्चाले यहाँको माहौल तात्न थालेको छ ।
आगामी अगष्ट १४ तारिखका दिन टोकियोमा हुन गईरहेको अधिवेशनले एनआरएन जापानको एनसीसीको नेतृत्वसहित कार्यसमिति र आइसीसीका लागि केन्द्रिय सदस्यको चयन गर्ने कार्यक्रम छ ।
जसअनुरुप जापानका ८ वटा बिभिन्न क्षेत्रीय कमिटीको अधिवेशनहरु सम्पन्न हुने क्रम जारी छ । कतिपय क्षेत्रमा अधिवेशन सम्पन्न भईसकेका छन् भने निगाता र ओसाका क्षेत्रीय कमिटीको आगामी जुलाई ६ तारिखका दिन अधिवेशन सम्पन्न हुन गईरहेको छ । यसैगरी १० तारिखमा राजधानी टोकियो रहेको कान्तो क्षेत्रीय कमिटीको अधिवेशन हुन गइरहेको छ ।
एनआरएन जापानको बिधानमा क्षेत्रीय अधिवेशनद्वारा केन्द्रिय अधिवेशनका लागि छानिएका प्रतिनिधिहरुले मात्र मतदान गर्न पाउने प्रावधान रहेको छ । २ हजार येन तिरेर पञ्जिकृत सदस्य बनेका ५ जना बराबर १ जना छानिएर आएका प्रतिनिधिले मतदान गर्न पाउने ब्यवस्था रहेको छ ।
एनआरएन जापानका अध्यक्ष लालबहादुर केसी ९रोशन० का अनुसार आगामी अधिवेशनमा उम्मेदवार वा मतादाताकारुपमा भाग लिनका लागि आउँदो जुलाई मसान्त सम्म २ हजार येन तिरेर पञ्जिकृत सदस्यता लिईसकेको हुनुपर्ने छ । आसन्न अधिवेशनका सम्बन्धमा ५ पञ्जिकृत सदस्य बराबर १ प्रतिनिधिको छनौट प्रक्रिया र निर्बाचन समितिको गठन बारे जुलाई ३ तारिखमा बस्ने एनआरएनको बैठकले टूंगो लगाउने कुरा पनि अध्यक्ष केसीले बताउनुभयो ।
एनआरएन जापानको अधिवेशन संगै यसको नेतृत्वको चर्चा परिचर्चाले प्राथमिकता पाएको भएपनि स्वतस्फूर्तरुपमा एनआरएनको सदस्य बन्नुपर्छ भन्ने उत्साह भने यहाँका नेपालीहरुमा अझै देखिएको छैन । बिसौ हजार नेपालीहरु रहेको जापानमा एनआरएनको सदस्यता ग्रहण गर्ने नेपालीहरुको संख्या भने अत्यन्त न्युन रहनुले यहाँको ठूलो हिस्सा नेपालीहरु अझै सिंगो एनआरएन अभियानप्रति आकर्षित हुन सकेका छैनन् भन्ने प्रष्ट पारेको छ । त्यसैले अबको नयाँ नेतृत्वले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जापानका नेपालीहरुलाई एनआरएन अभियानमा आकर्षित गर्दै सरिक गराउनका लागि स्पष्ट कार्ययोजनासहितको प्रतिबद्धता लिएर प्रस्तुत हुनुपर्ने आवाज यहाँको नेपाली समुदायमा चर्कोरुपमा उठ्न थालेका छन् ।
स्मरण रहोस्, आगामी अगष्ट १४ तारिख आइतबार गोतान्दा कल्चर सेन्टरमा एनआरएन जापानको अधिवेशन हुन गईरहेको छ । उक्त अधिवेशनबाट नयाँ नेतृत्वको चयन हुने हुँदा अध्यक्ष पदमा उम्मेदवार बन्ने ब्यक्तिहरुको चर्चा परिचर्चा घनिभूतरुपमा शुरु भईसकेको छ । अहिलेसम्म अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष लालबहादुर केसी, उपाध्यक्ष रोविन्द श्रेष्ठ, ओम गुरुङ, डा। सुदिप अधिकारी, मेघराज नेपाललगायतका ब्यक्तिहरुको नाम चर्चामा छ ।
नेतृत्व लिनका लागि साथीहरुले चासो देखाउनुभएको छ यसलाई सकारात्मकरुपमा लिनुपर्दछ, यद्यपि सहमतिमै नेतृत्व चयनका लागि अन्तिम प्रयास गरिने छ’ अध्यक्ष केसीले भन्नुभयो( ’सबै देशहरुमा सर्बसम्मत नेतृत्वको चयन भईरहेको अवस्थामा जापानमा मात्रै निर्बाचनमै जानुपर्ला जस्तो मलाई लाग्दैन ।’
बिधानतः १ हजार पञ्जिकृत सदस्य बराबर १ जना आइसीसी सदस्यले केन्द्रमा प्रतिनिधित्व गर्न पाउने ब्यवस्थाअनुसार जापानबाट जुलाई मसान्तसम्म सदस्य बन्नेहरुको संख्याको आधारमा आईसीसी सदस्य संख्याको निक्र्यौल हुने भएको छ ।
हाल जापानबाट आइसीसीको अध्यक्षमा देवमान हिराचन, प्रवक्ता डा। कुमार बस्नेत, आइसीसी सदस्यद्वय अरुणकुमार श्रेष्ठ र किरणविक्रम थापा हुनुहुन्छ । उहाँहरुको कार्यकाल आगामी अक्टुबरमा समाप्त हुन गईरहेको छ । समाप्त हुन लागिरहेको एनआरएन आईसीसीको बर्तमान कार्यकालमा जापानले महत्वपूर्ण जिम्मेवारी पाएको भएपनि जनअपेक्षाअनुरुप काम हुन नसकेको स्वीकादैं बाँकी रहेका काम सम्पन्न गर्नका लागि अध्यक्ष हिराचनले पुनः अध्यक्षमा उम्मेदवारी दिने हुनुभएको छ भने उता रसियाबाट बर्तमान उपाध्यक्ष जिवा लामिछाने पनि अध्यक्ष पदको प्रत्याशीमा खडा हुनुभएको छ । यसैगरी जापानबाट केही नयाँ तथा पुराना अनुहारहरुले पनि आइसीसीको उपाध्यक्ष, कोषाध्यक्ष, प्रवक्ता तथा एशिया प्यासिफिक संयोजक जस्ता पदहरुमा आँखा गाड्न थालेका छन् । बिगतमा जापानले एनआरएन अभियानमा के कति योगदान र भूमिका निर्बाह गर्न सक्यो त्यो त समय आएपछि मूल्याङ्कन हुने नै छ तर महत्वपूर्ण जिम्मेवारी भने जापानले दावी गर्न छोडेको छैन ।

No comments:

Pages