6/29/2011

छैटौं एनआरएन सम्मेलनको तयारी अन्तिम चरणमा

रूसको राजधानीमा सम्पन्न हुन गइरहेको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३–२५ जुलाई) को  तिथि अव एक महीना
पनि बाँकी छैन ।
यस सम्मेलनमा यूरोप महाद्वीपका विभिन्न देशहरूमा बसोवास गरिरहेका नेपालीहरूको मात्र नभई विश्वकै विभिन्न देशहरूबाट गैरआवासीय नेपालीहरूका प्रतिनिधिहरूको उपस्थिति रहने छ (चार सयजति नेपालीहरूद्वारा सम्मेलनमा भाग लिइने अनुमान गरिएको छ) । यूरोपका विभिन्न देशहरूका कार्यरत नेपाली राजदूतहरूका सथै नेपालस्थित रसियाली राजदूतको नाममा पनि निम्तो पठाइएको छ र नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मास्को आउने प्रतीक्षा गरिएको छ । मास्कोमा नेपालीहरूको यस्तो महत्वपूर्ण र व्यापक सम्मेलन पहिले कहिल्यै पनि भएको थिएन र यस अर्थमा यो अभूतपूर्व हुनेछ भन्नु अत्युक्ति हुने छैन ।   
रूसमा रहेका नेपालीहरू छैटौं सम्मेलनको तैयारीमा एकबद्ध भई जुटेका छन् । गैरआवासीय नेपाली संघ रूसको १२ फेब्रुअरी २०११ (शनिवार) बसेको विस्तारित सभामा  नेपाली राजदूत सूर्यकिरण गुरुङको समेत उपस्थितिमा गैरआवासीय नेपाली विश्वसंघका उपाध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा छैटौं क्षेत्रीय सम्मेलनको तैयारीबारे व्यापक छलफलपश्चात् विस्तारित सभाबाट आयोजक समितिअन्तर्गत विभिन्न अन्तरसम्बन्धित उपसमितिहरू गठन गरिएका थिए । तत्पश्चात् मास्कोमा विभिन्न प्रश्नमा आयोजक समितिको बैठक बस्नै गरेको थियो । उदाहरणस्वरूप भन्ने हो भने २६ मेई, २ जून  तथा २७ जूनमा मास्कोको सो एसिया रेष्टुराँमा बसेका बैठकहरूमा विभिन्न उपसमितिहरूको कार्यबारे छलफल भई देखिएका सानातिना त्रुटिहरू सच्याउनुका साथै सम्मेलनको तैयारीमा अहिलेसम्म प्राप्त उपलब्धिको मूल्याङ्कन गरिएको थियो ।
छैटौ सम्मेलनको कार्यक्रम निकै नै परिघटनापूर्ण छ । विदेशबाट पाहुनाहरू २१–२२ जुलाईमै मास्को पुगिसक्ने छन् । २२ जुलाईका दिन पाहुनाहरूलाई (साझपख मास्को नदीमा जहाजद्वारा समेत)  मस्कोको दृश्यावलोकन गराइने छ । २३ जुलाईका दिन सम्मेलनको भव्य उदघाटन हुनेछ । २४ जुलाईका दिन विश्वका विभिन्न देशका उद्यमीहरूको संयुक्त लगानीमा मास्कोबाट झण्डै ९० किलोमिटर टाढा कालुगा जिल्लामा  निर्माण भइरहेको एत्नोमिर(नृवंशलोक) अन्तर्गत ५ हजार वर्गमिटर क्षेत्रमा नेपाली वास्तुशैलीअनुरूप नेपालको सांस्कृतिक केन्द्रको रूपमा निर्माण भइरहेको नेपाली घर को समुद्घाटन समारोह सम्पन्न गरिनेछ । २५ जुलाईका दिन सम्मेलनको समापन हुनेछ । तत्पश्चात् इच्छुक नेपाली प्रनिनिधि टोली एक रातको रेलयात्राको समेत अनुभव बटुली रूसको सांस्कृतिक राजधानी सेन्ट पिटर्सबर्गको अवलोकन गर्न जाने छन् । सम्मेलनका सहभागीहरूका लागि मास्को बसाइँ अविस्मरणीय बनाउन अरु पनि यस्तै रोचक कार्यक्रमहरूको आयोजना गरिनेछ ।
रूस तथा नेपालबीच कूटनैतिक सम्बन्धको पचपन्नौ वार्षिकोत्सव मनाइने वर्षमै रूसमा गैरआवासीय नेपाली संघको छैटौं क्षेत्रीय सम्मेलनको आयोजना गरिनु नेपाल रूस सम्बन्धको इतिहासकै एक चिरस्मरणीय घटना हुनेछ ।
कृष्णप्रकाश श्रेष्ठ

No comments:

Pages