प्रेम लामा÷दोहा– वैदेशिक रोजगारीको सिलसिलमा दोहा आइपुगेका युवाहरू ठगिएको थाहा पाएपछि दुतावासको शरणमा आएका छन् । बाग्लुङको विहु– ७ का ३६ वर्षिय भीम के.सी र सोही जिल्लाको तारा–७ का राजकुमार दर्जी दुवै जना दोहास्थित एक कम्पनीसँग भएको श्रम सम्झौता अनुसार कम्पनीको श्रीलंकन मालिकले तलव घटाएर काम गर्न भनेपछि सहमत नभएर नेपाली नियोगको शरणमा आएका छन् ।
व्यक्तिगत भिषामा आएका दुवै जनालाई दोहास्थित एक कम्पनीमा कार्यरत पर्वतका दीपक हिमालले भिषा पठाएका हुन् । एजेन्ट दिपकले दुवैजनासँग जनही पन्ध्र सय रियालका दरले लिएको उनीहरूले दुतावासलाई बताएका छन् । नेपालवाट वत्तिस हजार प्लेनको टिकट मात्र काटेर वाँकी भिषाको पैसा दोहामा नै दिने शर्तमा उनीहरू दोहा आएका हुन् । ईलेक्ट्रिसियनको काममा सात सय पचास कतारी रियाल तलवका साथै ओभर टाइमा पनि प्रशस्त हुन्छ भनेर एजेन्टले भनेको भरमा आएको उनीहरूले बताएका छन् । चार पाँच दिन काम गरेपछि भनेको जति तलव नदिने शर्तमा काम गर्न लगाउन खोजेपछि दोहा आएका दुइ सातामा मै पीडितहरू काम छोडेर नियोगमा आएका हुन् ।
सम्झौता अनुसार तलव नदिने भनेपछि नेपाल जाने कुरा राख्दा ‘तिमीहरू नब्बे दिन घर जान पाउँदैनौ’ भनेकाले नियोगमा आएको उनीहरूले सुनाए । केसी मलेशिया, वहराईन गएर पुनः कतार आएका हुन् भने राजकुमार दर्जी भने पहिलो पटक वैदेशिक रोजगारीका लागि दोहा आएका हुन् ।
त्यसैगरी, पाँचथर एक्तिन–४, का ३६ वर्षीय टेकबहादुर थोक्लिङ हान, ईलाम लुम्दे–७ का ४३ वर्षीय टिकाराम मगर र ४० वर्षीय कुलबहादुर सारु, पाँचथर सम्देन ७ का २५ वर्षीय कुमार ढुंगाना पनि कम्पनीबाट श्रम सम्झौता अनुसार तलव नपाएको भन्दै दूतावासको शरणमा आएका छन् । यी चारैजना नेपालस्थित निविदा कन्सर्न प्रा.लि महाराजगञ्ज काठमाण्डौका एजेन्ट शिव भन्ने व्यक्तिलाई जनही नब्बे हजारका दरले तिरेर दोहा आएका हुन् ।
चार पीडितमध्ये कुमार ढुंगाना छ महिना अगाडि नै आएका हुन् र तीन जना भने चार महिना अघि आएका हुन् । दोहास्थित एक कम्पनीमा कार्यरत भैरवाहका मोहमद भन्ने व्यक्तिले यि चारै जानको भिषा नेपालको म्यानपावर निविदा कन्र्सनमा पठाएका हुन् ।
पीडितले दिएको जानकारी अनुसार दोहामा मोहम्मदको आफ्नै कम्पनीमा काम गर्न भनेर उनीहरूलाई पठाइएको हो । ‘आएको चार महिना भयो पहिलो महिनाको बीस दिनको तलव र दोस्रो महिनाको गरी एक महिना बीस दिनको मात्र तलव पाएको’ छौं,’ ढुंगानाले भने । अरु महिनाको र एकसय पचहत्तर घण्टा ओभरटाइमको पनि पैसा नपाएको उनीहरूले बताए । चारै जना एक हजार तलब र ओभरटाइम हुन्छ भनेर नेपालका एजेन्टले पठाएका हुन् ।
श्रम सम्झौता अनुसार तलव नपाएकाहरूको समस्या समाधानको लागि नेपाली नियोगले आवश्यक काम कारवाही थालिसकेको जानकारी श्रम सहचारी ध्रुवप्रसाद कोईरालाले दिएका छन् ।
No comments:
Post a Comment