4/13/2011

अवैध रक्तचन्दन वीरगंज नाकाबाट नेपाल भित्रिंदै

अवैध रक्तचन्दन पक्राउ पर्नेक्रम जारी छ। हिजो बेलुकी भारतको रक्सौलमा प्रकाश ट्रान्सपोर्टको ना. २ ख ८२७९ नम्बरको ट्रकबाट ८४ थान आठ  क्वीन्टल रक्तचन्दन बरामद भएको छ। एसएसबी र रक्सौल कस्टमको संयुक्त  टोलीले सूचनाको आधारमा प्रकाश ट्रान्सपोर्टमा हिजो बेलुकी छापामारी गर्दा सो रक्तचन्दन फेला परेको हो। 

भारतीय खुफिया एजेन्सीले रक्तचन्दनका कारोबारीहरू सक्रिय भएको र उनीहरूले ७ हजार क्वीन्टल रक्तचन्दन रक्सौल–वीरगंज नाकाबाट चीन पुर्‍याउने ठेक्का लिएको सूचनाका आधारमा भारतीय कस्टम र एसएसबीले हिजो प्रकाश ट्रान्सपोर्टमा छापामारी गरेको थियो।  ट्रान्सपोर्टको माध्यमबाट रक्तचन्दनको तस्करी भइरहेको यो घटनाले पुष्टि गरेको छ। प्रकाश ट्रान्सपोर्टकै ना. ३ ख ६३५१ नम्बरको ट्रकबाट चैत २७ गते ७१ थान

(७९८ किलो) रक्तचन्दन फेला परेको भोलिपल्टै रक्सौलमा आठ क्वीन्टल रक्तचन्दन पक्राउ परेपछि तस्करहरू वीरगंज–रक्सौल नाकाबाट रक्तचन्दनको अवैध कारोबार गरिरहेको खुलासा भएको छ ।
    भरपर्दो स्रोतका अनुसार नाम चलेका केही ट्रान्सपोर्ट र क्लियरिङ एजेन्टको मिलेमतोमा रक्सौल तथा वीरगंज भन्सारमा विभिन्न सामानको अदतमा रक्तचन्दन लुकाएर कारोबारीहरूले चीन पठाउने काम तीव्र गरेका छन्। खासगरी चिनियाँहरूले रक्तचन्दन प्रयोगमा ल्याउने गर्दछन्। चीनमा ओलम्पिकका लागि स्टेडियम बनाउने क्रममा ठूलो परिमाणमा भारतबाट रक्तचन्दन पठाउने काम भएको थियो। त्यसपछि ठप्प रहेको यो कारोबारले पुन: तीव्रता पाएको जानकारहरू बताउँछन्।
    अहिले रक्तचन्दन कुन प्रयोजनको लागि यो परिमाणमा लग्ने काम भइरहेको छ त्यसको खुलासा भने भइसकेको छैन। तर भारतीय खुफिया एजेन्सीले ठूलो परिमाणमा रक्तचन्दन नेपाल हुँदै चीन पठाउन लागेको सङ्केत गरेको छ।  भारतीय खुफिया एजेन्सीको रिपोर्टपछि  सीमा सुरक्षाबल र रक्सौल कस्टम आफ्नो क्षेत्रमा सक्रिय भएको पनि बताइएको छ।

No comments:

Pages