नारायण खड्का
सिड्नी/दुई वर्षअघि काठमाडौ कपनबाट अध्ययनका लागि अस्टे्रलिया आएकी ममता श्रेष्ठ अहिले यहाँको एक नर्सिङहोममा काम गरिरहेकी छन् । यहाँ पनि नर्सिङकी विद्यार्थी ममताले आफ्नो क्याम्पसको शुल्कमात्र एक सेमेस्टर (६ महिना) को करिब ५ लाख ५० हजार बुझाउनुपर्छ । त्यतिमात्र नभएर आफ्नो दैनिक खर्च र महँगो घरभाडा तिरेर पनि मासिक मासिक १ लाखको हाराहारीमा बचत गर्छिन् । नेपालमा स्टाफ नर्सको अध्ययन सकेर काठमाडौंको ओम नर्सिङ होममा काम गरिरहेकी उनी यहाँ आएर नर्सिङ विषय र पेसालाई नै निरन्तरता दिन पाएकोमा आफू सन्तुष्ट रहेको बताउँछिन् ।

डेढ वर्षअघि हेयर ड्रेसिङ अध्ययनका लागि आएकी धनगढीकी सन्ध्या ठकुरी पनि अहिले हर्नस्बीमा रहेको नर्सिङहोममा काम गरिरहेकी छन् । अध्ययनको बिषय परिवर्तन गरि नर्सिङ पढ्न थालेकी उनी पनि आफ्नो काम र कमाइबाट सन्तुष्ट रहेको बताउँछिन् । अस्ट्रेलियामा काम नपाएर बिजोग भएका नेपालीहरुको जमातमा एकपटक परिसकेकी सन्ध्याले नर्सिङ अध्ययनका लागि चाहिने सर्टिफिकेट थ्री गरेपछि उनको बेरोजगारको समस्या समाधानमात्र भएन, अबको ३ वर्षमा अस्ट्रेलियाको स्टाफ नर्स बनेर बिश्वको जुनसुकै स्थानमा पनि रोजगार बन्नसक्ने हैसियत बनाउने अठोटमा छिन उनी ।
विगत दुई वर्षदेखि सिड्नीको हर्नस्बीस्थित एक नर्सिङहोममा काम गरिरहेका सरिता निरौला र इरिना सुवेदी नेपाली साडी चोलीमा ।
नेपालको पूर्व बिर्तामोडकी सरिता निरौला हुन् वा महेन्द्रनगरकी शीतल चन्द हुन सबै अहिले अस्ट्रेलियाको नर्सिङ क्षेत्रमा सफलतापूर्वक काम गरिरहेका छन् । नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका नेपाली युवायुवतीहरु यो पेसामा रमाइरहेका छन् । कामका साथसाथै रोजगारदाताले समय समयमा दिने तालिमहरुले यिनीहरुले आफ्नो अंग्रेजी भाषा राम्रो मात्र बनाएका छैनन्, विभिन्न देशका समकक्षीहरुसँगै बसेर स्वास्थ्य र हेरचाहसम्बन्धी विभिन्न ज्ञानहरु बाँड्ने अवसर पनि पाएका छन्, जसका कारण उनीहरुले आफ्नो योग्यतामात्र विकास गर्न सफल भएका छैनन्, भविष्यमा सफल स्वरोजगार बन्ने अवसर र योग्यता पनि विकास गरिरहेका छन् ।
युवतीहरुलाई विशेष प्राथमिकता दिइने यो पेसामा नेपाली युवाहरु पनि उत्तिकै मात्रामा पाउन सकिन्छ । नेपालको वृद्धाश्रमसँग तुलना गर्न मिल्ने यो पेसामा उमेरले थाकिसकेका वृद्धवृद्धाहरुलाई सेवा गर्नुपर्छ । उनीहरुलाई नुहाइदिने, दिसापिसाब गराइदिने, औषधि, लुगाफाटो, खानपिन सबैको ख्याल राख्नुपर्छ । अन्य कामको तुलनामा यो काम फरक रहेपनि सेवामूलक र राम्रो आम्दानी हुने भएकाले यो पेसालाई निरन्तरता दिएको भनाइ काम गरिरहेका अधिकांश नेपालीहरुको छ । झन् त्यसमा पनि नेपालीहरु फरासिलो र चाँडै सबैसँग घुलमिल हुनसक्ने भएकाले पनि अधिकांश नेपालीहरु अहिले अस्ट्रेलियाको नर्सिङ क्षेत्रमा स्थापित हुन सफल भएको अनुभव सबैको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित एक नर्सिङहोममा काम गरिरहेका काठमाडौंकी बेलिना रुम्बा, बिना अधिकारी र निर्मला फुयाँललगायत ।
कमाइ र इज्जत राम्रो हुने भएकाले विशेषगरी नेपाली विद्यार्थीहरु अहिले यो पेसामा आकषिर्त भएका हुन् । अनुमानित ३० हजारभन्दा बढी नेपालीहरु रहेको सिड्नीमा कत्तिको संख्यामा यो पेसामा आबद्ध छन् भन्ने तथ्यांक कसैसँग नभए पनि करिब ५ हजारको हाराहारीमा नेपाली युवायुवतीहरु यो पेसामा आबद्ध भएको अनुमान एनआरएन अस्ट्रेलियाका अध्यक्ष धु्रव सुवेदीको छ ।
नर्थ सिड्नीमा रहेको अस्ट्रेलियन क्याथोलिक युर्निभर्सिटी नर्सिङ दोस्रो वर्षकी छात्रा इरिना सुवेदीको भनाइमा यो काममा कमाइमात्र होइन, पुण्य पनि छ । उमेरले मृत्यु पर्खिरहेका वृद्धवृद्धालाई आफ्नै बाबुआमा जस्तै माया गरेर सेवा गर्नु यो कामको मुख्य दायित्व हो । करिब अढाई वर्षदेखि यहाँको हर्नस्बीमा रहेको नर्सिङहोममा काम गरिरहेकी झापाकी सुवेदी आफ्नो कमाइ भन्न रुचाउँदिनन् तर राम्रो सिफ्ट (काम) पाउने हो भने नेपालमा सामान्य काम गरेर ३ वर्षमा कमाउने पैसा एक महिनामा कमाउन सकिने दाबी गर्छिन् ।
यो पेसामा आबद्ध हुनका लागि सबैभन्दा पहिले सटिफिकेट थ्री गर्नुपर्ने नियम नर्सिङहोमहरुको छ । करिब एक महिनामा पूरा हुने यो तालिम लिन नेपाली १ लाखदेखि डेढ लाखसम्म खर्च हुन्छ । झन् त्यसमा पनि यो पेसामा लागेका अधिकांश नेपाली विद्यार्थीहरु नर्सिङ विषयकै अध्ययन गरिरहेका र थप योग्यता हासिल गरेकाले यो पेसामा राम्रो स्थान बनाउन सफल भएको फस्ट च्वाइस एजुकेसन कन्सल्टेन्सिका सुमन भेटवालको भनाइ छ ।
यहाँ काम गर्ने नर्सहरुले पाउने तलब भने नर्सिङहोमको आफ्नो नियमअनुसार फरक-फरक छ । तर पनि न्यूनतम प्रतिघण्टा १५ अस्ट्रेलियन डलरदेखि २२ डलरसम्म यस क्षेत्रमा काम गर्नेहरुले कमाइरहेका छन् । त्यसमा पनि ट्याक्स, सुपरअनुएसनलगायत सरकारी कोषमा रकम जम्मा हुने नियमले गर्दा यहाँका नर्सहरु अत्यन्तै फाइदामा छन्, जुन रकम उनीहरुले अन्त्यमा पाउने गर्छन् । अहिले यहाँ रमाइरहेका अधिकांश नेपालीहरुको यो कामप्रतिको धारणा भने एउटै छ, "नेपालका वृद्धाश्रमहरु पनि यस्तै भइदिए हाम्रा बुढा भएका बाआमालाई कति सुख हुन्थ्यो होला !"
No comments:
Post a Comment