क्वालालम्पुर । मालिकले सम्झौताअनुरुप तलब नदिने बताएपछि यहाँस्थित एक कम्पनीमा कार्यरत नेपालीहरुले काम ठप्प पारेका छन् । बातुपहातस्थित एभरटप गार्मेन्ट कम्पनी मालिकले सम्झौतापत्रमा उल्लेख भएअनुसार तलब ‘दिन्न’ भनेपछि उनीहरुले काम बहिष्कार गरी ठप्प पारिदिएका हुन् ।
करिब डेढ सातादेखि उक्त कम्पनीमा कार्यरत उनीहरुलाई मालिकले सम्झौताअनुसार तलब दिन नसक्ने बताएको थियो । ’कम्पनी मालिकले सम्झौताअनुरुप न्यूनतम मासिक तलब पनि दिन्न भनेपछि हामी सबै जना काम नगरी होस्टलमै बसिरहेका छौं,’ फ्युजन इन्टरनेसनल म्यानपावरमार्फत आएका चक्रबहादुर दर्जीले भने, ’जब पैसाका लागि पसिना बगाइन्छ भने त्यही नपाएपछि काम गर्नुको कुनै अर्थ छैन । कम्पनीले सम्झौताअनुसारको तलब दिने प्रतिबद्धता नजनाएसम्म हामी काममा फर्कन्नौं ।’आफूहरूले काम बहिष्कार गरेपछि होस्टलमा पानी र बत्ती काटिएको जानकारी उनले दिए । कामदार र कम्पनीबीच गरिएको सम्झौतापत्रमा दैनिक ३ घण्टा ओभरटाइमसमेत गरी मासिक न्यूनतम नौ सय तीन रिंगेट उल्लेख छ । दर्जीले सम्झौताअनुसार तलब र सेवासुविधा पाउने ग्यारेन्टी नभएमा सबै जना नेपाल फर्कने निर्णय भएको बताए । यसअघि जोहोरस्थित सेरी गोर्मेन्ट कम्पनीमा कार्यरत उनीहरुलाई उक्त कम्पनीले करिब डेढ महिनाअघि अचानक निकालेको थियो । कुनै कारण नखुलाई कामबाट निकालिएका उनीहरुलाई यहाँ पठाउने नेपालस्थित म्यानपावर कम्पनीको पहलपछि दुई साताअघि बातुपहातस्थित एभरटप गार्मेन्टमा कामको प्रबन्ध मिलाइएको थियो ।
No comments:
Post a Comment