\कञ्चनपुर । वनको बाँझो जग्गामा घाँस रोपेर कञ्चनपुरको झलारी–९ कलुवापुरका समूहमा आबद्ध महिला लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । सामुदायिक पशु विकास आयोजनाको सहयोगमा चार वर्षदेखि यहाँका ३५ महिलाले ज्वाइन्ट भेज नामको घाँस रोपेर घाँसको उत्पादित बीउ बेचेर मनग्य आम्दानी गर्न थालेका हुन् ।
पहिलो वर्ष महिलाले नौलो अनुभव भएका कारण दुई क्युन्टल मात्रै घाँसको बीउ उत्पादन गरी रु २२ हजार मात्रै कमाउन सकेका थिए । त्यसपछिका प्रतिवर्ष १२ क्युन्टलको हाराहारीका बीउ उत्पादन गरी बेच्न थालेपछि वार्षिकरुपमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् । हाल महिलाको कोषमा घाँसको बीउ बेचेको रु सात लाखभन्दा बढी रकम सङ्कलन भएको छ । उत्पादित बीउ यहाँका महिलाले पशुसेवा कार्यालयको सहयोगमा बेच्दै आएको बताएका छन् ।
महिलाले उत्पादन गरेको घाँसको बीउ प्रतिकिलो रु ११० मा बिक्री हुँदै आएको पशुसेवा कार्यालयका प्राविधिक नारायणदत्त भट्टले बताउनुभयो । ज्वाइन्ट भेज नामको घाँस दुग्ध दिने पशुलाई लाभदायक भएकाले जिल्ला बाहिरका सामुदायिक वनहरुले उक्त घाँसको खेती गर्नका लागि बीउ खरिद गर्दैआएका छन् । यहाँका समूहमा आबद्ध महिलाले घाँसमा कोशा लागेर पाकेपछि सामूहिकरुपमै काटेर घरघरमा लगी चुटेर समूहमा बीउ जम्मा गर्ने गर्दैआएको समूहकी कोषाध्यक्ष कल्पना पन्तले बताउनुभयो ।
समूहमा बचत रकम समूहमा आबद्ध महिला आयआर्जनमा वृद्धि गर्न, व्यापार, घर खर्च, कृषि, विवाहलगायतका सामाजिक अन्य कार्यका लागि सहुलियत ब्याजदरमा परिचालित गरिँदैआएको ज्ञानु भण्डारीले बताउनुभयो । महिलाले उक्त घाँस २० बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको बताएका छन् । यसका अतिरिक्त महिलाहरू घरघरमा पशुको दुग्ध उत्पादन बढाउने पारापलम, मुलाटो, बदामे, नेपियर, इपिलइपिल र स्टाइलोलगायतका घाँस रोपेर पशुपालन गरी दुग्ध उत्पादन गर्नमा समेत सक्रिय छन् ।
No comments:
Post a Comment