4/10/2011

हिमाल रेमिटदेखि सावधान

समुन्द्र पौडेल,

तनहुँ, चैत २५- दाजुको विवाह फुकाउन दुबईबाट भाईले हिमाल रेमिटमार्फत् पठाएको पैसा रेमिटान्सबाटै गायब भएको छ। गत चैत ३ गते दुबईमा कार्यरत पदम विश्वकर्माले परिवारलाई पठाएको पैसा गाउँकै दुई युवाले नक्कली नागरिकता बनाएर रेमिटान्सबाटै पैसा गायव बनाएका हुन्।


तनहुँ गजरकोट ५ पुट्टारका विश्वकर्माले बाबुखड्ग बहादुर विश्वकर्माको नाममा चैत ३ गते हिमाल रेमिटान्सबाट पठाएको ५९ हजार चालिस रुपैया गाउँकै छिमेकी होमनाथ ढकाल र अर्जुन भण्डारीले दमौली स्थित मुक्तिनाथ मनि ट्रान्सफरबाट नक्कली नागरिकता बनाई रकम झिकेका हुन्।

‘विवाहको टिका फुकाउन पठाएको पैसा रेमिटान्सबाटै गायब भयो।\' खड्ग बहादुरले भने, ‘साथमा पैसा छैन, अब कसरी छोराको टिका फुकाउ।\' बैदेशिक रोजगारीबाट केही महिना अघि घर फर्किएका जेठा छोरा गणेश विश्वकर्माले कमाएको पैसाले पुराना ऋण तिरेकाले विवाह फुकाउन कान्छा छोरासंग पैसा मगाएको खड्ग बहादुरले बताए। बैशाख ३ गते गणेशको टिका फुकाउन कार्यक्रम तय गरिएको उनले बताए। रकम ठगी गर्ने होमनाथ ढकाल र विदेशबाट पैसा पठाउन पदम विश्वकर्मा सहकक्षी हुन्।

दमौली बजारको भोर्लेटार चोकमा संचालित मुक्तिनाथ मनि ट्रान्सफरकी संचालिका फूलमाया श्रेष्ठले ठगीमा संलग्न ढकाल र भण्डारीलाई कारर्वाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा ठाँडो उजुरी दिएकी छिन्। आरोपित भण्डारीले रकम झिक्नका लागि ढकालसंग रेमिटान्स गएपनि रकम झिके नझिकेको विषयमा थाहा नभएको बताए।

रेमिटान्सले शुक्रबार मात्रै निवेदन दर्ता गरेको भन्दै घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक भीमप्रसाद सिलबालले बताए। घटनामा आरोपित भण्डारीसँग सोधपुछ गर्दा आवश्यक जानकारी नपाएकाले प्रहरीले ढकालको खोजी कार्य गरिरहेको सिलबालले बताए।


No comments:

Pages