4/10/2011

विदेशको दुःखले बनायो अभियानकर्ता

कुन्ता भण्डारी
दाङ । विदेशमा पाएको असह्य दुःखले पवननगर–४, भमकेकी ३१ वर्षीया रेवती आचार्यलाई अहिले समाजसेवी बनाएको छ । हिजोआज रेवतीलाई दिदीबहिनीसँग बसेर दुःखसुखका कुरा गर्नसम्म फुर्सद छैन । उनी कहिले पवननगरको गाविस कार्यालयमा त कहिले धेरै कमाउने आशमा अन्धाधुन्घ विदेश हानिन लागेका दिदीबहिनीहरूलाई सल्लाह दिंँदै गरेको अवस्थामा भेटिन्छिन् ।

रेवतीले गत फागुनदेखि पवननगर गाविसमा चेलीबेटी बेचविखन विरुद्ध सामुदायिक परामर्शदाताको रुपमा काम गर्दैआएकी छिन् । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा र पवननगर गाविसले उनलाई यो अवसर मिलाइ दिएको हो । ‘पैसा कमाउने नाममा म जस्ता दिदीबहिनी विदेश गएर मैले जस्तो दुःख नपाऊन् भनेर म यो काममा लागेकी हुँ’— उनले भनिन्– ‘काम गरे आफ्नै ठाउँमा पनि पैसा कमाउने विभिन्न उपाय छन् ।’ छोटो समयमा मोटो रकम कमाउने भुत चढेपछि ०६६ कात्तिकमा साउदी अरब हानिएकी रेवती विभिन्न दुःख झेल्दै चार महिनापछि नै घर फर्कन सफल भएकी थिइन् । ‘घरमा साँझ बिहान के खाउँ के लाउँ भन्ने समस्या थियो,’— उनले भनिन्–‘विदेशबाट ल्याएको पैसाले ऋण तिरौंला, खेत किनौंला र छोरालाई धेरै पढाउँला भनेर विदेश गएकी थिएँ, तर त्यसरी फँसिएला भन्ने के थाहा ?’ शान्तिनगर जुम्लेकुलाकी प्रमिला न्यौपाने नामकी दलालले उनको गरिबीको फाइदा उठाएर उनलाई झुक्याएर विदेश पठाएकी थिइन् ।
विदेश गएर मासिक १० हजार कमाई हुने दलालको आश्वासनलाई विश्वास गरेर उनले छिमेकीबाट ३० हजार रुपैयाँ सापटी लिएर प्रमिलालाई बुझाएकी थिइन् । मासिक साउदी मुद्रा ५०० (नेपाली दश हजार रुपैंया) पारिश्रमिक दिने आश्वासन दिएर उनलाई भारतको मुम्बई हुँदै साउदी अरब पु¥याइएको थियो । ‘दैनिक आठ घण्टा काम गर्ने भनिएको थियो तर २२ घण्टा घरायसी काममा जोतिनु पर्दथ्यो, काम गर्दागर्दै जिउ थाकेर लखतरान हुन्थ्यो, थकाईलाग्यो भन्दा मालिक्नीले लात्ताले हान्थी, ट्वाइलेटमा थुन्दिन्थी, म रोएर बसिरहन्थें’,— उनले आफ्नो विगत सम्झिन् ।
यतिमात्र होइन उनलाई पेटभरी खान पनि दिर्इंदैन्थ्यो । घरका मानिसले खाएर बचेको खानुपर्दथ्यो, खाना नबचे भोकभोकै बस्नुपर्दथ्यो । ‘मालिकको छोराछोरीलाई खुवाउँदा लुकेर खाने गर्थें, एकदिन मालिक्नीले देखेर मरणासन्न हुने गरी कुटी’–उनले भनिन् । ‘साउदी अरबमा हुँदा घरमा एकपटक पनि फोन गर्न पाईन । एकदिन घरमा फोन गर्छु भनेर मालिकसँंग पैसा मागेकी थिँए , तँलाई १ लाख २० हजारमा किनेर ल्याएको हो, त्यो पैसा दे अनि मात्र दिन्छु भन्यो ।’ उनी आफू बेचिएको यसरी बताउँछिन् ।
साउदीमा छँदा मानसिक, शारीरिक तथा यौन शोषणको समेत सिकार बन्नु परेको उनले बताइन् । मालिकले उनीसँग यौनसम्पर्कका लागि दबाव दिने गर्दथ्यो । यदि अस्वीकार गरे चोरीको आरोप लगाएर घाँटी च्यापेर मार्ने धम्की दिन्थ्यो । ‘यौन सम्पर्कका लागि मालिकले ढोका लगाउँदै थियो, भागेर छतमा पुगें’,—उनले भनिन्,– ‘माथि छतबाट हाम्फाल्न लागेपछि मालिकले नेपाल पठाउँछु भन्यो अनि एक नेपालीको सहयोगमा नेपाल आउन सफल भएकी हुँ ।’
यतिमात्र होइन दिनहुँजसो मालिक्नीबाट हुने गरेको भौतिक आक्रमणका कारण उनको शरीरमा नीलडाम अझसम्म पनि छन् । सामान्य नेपालीमात्र लेखपढ् गर्न जान्ने, आपूm अनपढ् भएको तथा विदेशी भाषा नजानेका कारण पनि शोषणको प्रतिकार गर्न नसकेको उनको ठम्याइ छ । विदेश जाँदा  छिमेकीबाट ब्याजमा रु ३५ हजार ऋण लिएको  उनले बताइन् ।
दलाल प्रमिलालाई पैसा बुझाएको प्र्रमाण नहुुँदा उनले हालसम्म पनि क्षतिपूर्ति पाउन सकेकी छैनन् । उनलाई विदेश पठाउने दलाल प्रमिला भने रु एक लाख ३० हजार रकम धरौटी तिरेर थुनाबाट बाहिरीसकेको उनको भनाई छ । विदेश जाँदा लागेको ऋण तिर्न अहिले एक कठ्ठा जग्गा बेच्ने सोचमा उनी रहेकी छिन् । उनले करिब एक हजार भन्दा बढी महिलालाई वैदेशिक रोजगार तथा प्रजनन् स्वास्थ्यका विषयमा परामर्श दिइसकेकी छन् ।

No comments:

Pages