4/16/2011

नेपाल भ्रमण उपलव्धीमूलक ः थिन्ले

काठमाडौ । भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेले आफ्नो नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार र आपसी हितका लागि ज्यादै उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ । तीन दिने नेपाल भ्रमणको अन्तिम दिन पत्रकार सम्मेलन गरी भुटानी प्रधानमन्त्री थिन्लेले नेपालका प्रधानमन्त्री झलनाथ खनालसँग भुटानी शराणर्थी समस्या समाधानका लागि वार्ता पुनः सुरु गर्न तथा दुवै देशको पर्यटन प्रबद्र्धनका लागि भुटानबाट सीधा हवाइसेवा सञ्चालन गर्नेबारेमा छलफल भएको उल्लेख गर्नुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षको जिम्मेवारी बहन गर्दै आफूले सार्क सदस्य मुलुकको भ्रमण गरेको बताउँदै प्रधानमन्त्री थिन्लेले आगामी नोभेम्बरमा माल्दिभ्समा हुने सार्क शिखर बैठकमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, बाढीपहिरो नियन्त्रण, गरिबी र रोगव्याधी नियन्त्रणलगायतका विषयमा महत्वपूर्ण निर्णय हुनसक्ने जानकारी दिनुभयो । उहाँले भुटानी शरणार्थी समस्या दुबै देशबीचको द्विपक्षीय वार्ताबाट समाधान हुने विश्वास व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायद्वारा भुटानी शरणार्थीप्रति मानवीय सहयोगका रुपमा ४० हजार शरणार्थी तेस्रो मुलुकमा पुनःस्थापना गरेकामा आभार व्यक्त गर्नुभयो ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्री थिन्लेले ८० हजार भुटानीलाई निष्काशन गर्न लागिएको भन्ने कुरा सत्य नभएको र सबै भुटानीलाई भुटानमा बस्न पाउने अधिकार छ भन्नुभयो । उहाँले नेपालीमुलका भुटानीप्रति कुनै पनि भेदभाव गरिएको छैन भन्दै नेपाली मुलका भुटानीको पनि राज्यका विभिन्न संरचनामा प्रतिनिधित्व रहेको दाबी गर्नुभयो । प्रधानमन्त्री थिन्लेले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग आज सार्कका निर्णय प्रक्रिया र त्यसको विकासका पक्षमा छलफल भएको उल्लेख गर्नुभयो ।

No comments:

Pages