4/10/2011

मिलियन डलरको छिनोफानो शुक्रबार, झुठो बोल्दैछ राष्ट्र बैंक, घुस मागिएको असिमको खुलासा





अमेरिकाबाट असिम खत्री क्षेत्रीले नेपाल पठाएको रकम राष्ट्रबैंकले नियन्त्रणमा लिएपछि न्याय खोज्दै अमेरिकी अदालतमा पुगेका थिए , असिम क्षेत्री । अनि अमेरिकी अदालतले न्युयोर्कस्थित  स्टान्डर्ड चार्टर्ड बैंकमा रहेको नेपाल राष्ट्रबैंकको खाताबाट एक मिलियन डलर झिकेर असिमलाई दिलाइदिने फैसला गरेको थियो ।
नेपाल राष्ट्रबैंकको खाताबाट पैसा पनि झिकियो तर नेपाल राष्ट्र बैंकले आफ्नो खाताबाट झिकिएको रकम फिर्ता गराउन मार्च ३१ मा अमेरिकी अदालतमा अपिल गरेपछि त्यो रकम अप्रिल १५ सम्मका लागि अमेरिकी अदालतले नियन्त्रणमा लिएको छ । अप्रिल १५ मा मुद्दाको फैसला भएपछि मात्र त्यो रकम नेपाल राष्ट्र बैंकले फिर्ता पाउने वा असिमले भन्ने कुराको टुंगो लाग्नेछ । १५ अप्रिलमा फैसला हुने मुद्दाको प्रतिनिधित्व राष्ट्र बैंकका तर्फबाट अमेरिकी वकिल जेराल्ड लेभिनले गरिरहेका छन् भने असिमका तर्फबाट भट्ट ल फर्मले गरिरहेको छ । नेपाल राष्ट्र बैंकले मुद्दाको जिम्मा नेपाललाई नै दिन आग्रह गर्दै संघिय अदालतमा अपिल गरेको हो । राष्ट्र बैंकले असिम खत्री क्षेत्रीको रकम फ्रिज नगरेको झुठो दावी गर्दै संघीय अदालतमा अपिल गरेको समेत खुलासा भइसकेको छ । यसैबीच असिम क्षेत्रीले भने अमेरिकामा नै भएको समयमा पैसा रोक्का गरिदिएपछि सरकारी ओहोदामा रहेका नेपालका केही जिम्मेवार व्यक्तिहरुले आर्थिक सहयोग गर्ने भए पैसा फुकुवा गरिदिन्छौं भनेर घुस मागेको समेत खुलासा गरेका छन् ।
एक मिलियन डलरको रामकहानी

नेपाल प्रहरीलाई विभिन्न लजिस्टिक उपलब्ध गराउने ठेक्का लिएका असिम खत्री क्षत्रीले सम्बन्धित निकायलाई सामान उपलब्ध गराइसकेपछि आफ्नो सब–कन्ट्रयाक्टरलाई भुक्तानी दिनुपर्ने रकम सन् २००८ को जुलाई २८ तारिखमा अमेरिकाको चेस बैंकबाट अमेरिकन एक्सप्रेसको ट्रान्जेक्सन कोड  ००९८९०० २०५ इएसबाट नेपाल बंगलादेश बैंकको खाता नं. ००४०५९२८१० मा १ मिलिएन डलर पठाएका थिए । त्यसअगाडि सम्झौतामा हस्ताक्षर गरेका सम्पूर्ण सामान सेना तथा प्रहरीलाई असिम खत्री क्षत्रीको स्वामित्वको अमेरिकी कम्पनी तरला इन्टरनेशनलले सब–कन्ट्रयाक्टर चाइनिज कम्पनी कन्सटिलेसना इन्टरनेशनलमार्फत उपलब्ध गराइसकेपछि नेपाली सेना र नेपाल प्रहरीले सामान सप्लाई गरेबापत तरला इन्टरनेशनललाई तिर्नुपर्ने रकम विभिन्न मितिहरुका विभिन्न एलसीमार्फत हिमालय बैंक, नेपाल राष्ट्रबैंकमार्फत नै तरला इन्टरनेशनललाई भुक्तानी गरेको थियो । नेपालबाट विभिन्न मितिहरुका विभिन्न एलसीद्वारा रकम प्राप्त गरिसकेपछि तरला इन्टरनेशनलले पनि सामान सप्लाईको जिम्मा दिएको सब–कन्ट्रयाक्टर चाइनिज कम्पनी कन्सटिलेशन इन्टरनेशनलका मालिक उ लिजियाङलाई भुक्तानी दिनुपर्ने रकम बंगलादेश बैंकमा रहेको उ लिजियाङको खातामा १ मिलियन डलर जम्मा ग¥यो तर पैसाको स्रोत नखुलेको भन्दै अढाई वर्षसम्म १ मिलियन डलर नेपाल राष्ट्र बैंकले रोकिदियो । अढाई वर्षसम्म १ मिलियन डलर न पाउनेले पायो, न जसको पैसा हो, उसैलाई फिर्ता भयो । अढाई वर्षसम्म पैसा भुक्तानी नदिनुको स्पष्ट कारण दिन नसकेको राष्ट्रबैंकले स्रोत नखुलेको ठूलो धनराशिको मनिलण्डरिङ प्रिभेन्सन २००८ अन्तर्गत कारबाही चलिरहेको भन्दै रकम रोकिरहेको थियो । तर नेपालमा कुनै सम्बन्धित निकायमा मुद्दा चलाउन सकेको थिएन ।

राष्ट्रबैंकले पैसा रोकेपछि केके भयो ?
यसबीचमा कन्सटिलेसन इन्टरनेशनल चाइनिज कम्पनीका मालिक उ लिजियाङको नेपाल बंगलादेश बैंकस्थित  खातामा जम्मा भएको पैसा सम्बन्धित व्यक्तिले नपाएको कारण चाइनिज दूतावासले पनि पटकपटक नेपाल राष्ट्रबैंकलाई स्पष्ट कारण माग गर्दै पत्र लेख्यो । नेपालस्थित चाइनिज दूतावासले मात्र होइन, अमेरिकाबाट नेपालमा चेस बैंकमार्फत पठाएको पैसा त्यो पनि अमेरिकी नागरिकको पैसा बिनाकारण रोकिदिएपछि नेपालस्थित अमेरिकी राजदूताबासले पनि पटकपटक नेपाल राष्ट्रबैंकलाई पत्र लेख्यो । त्यति मात्र होइन चेस बैंक अमेरिकाले त झण्डै दर्जन पत्र नेपाल राष्ट्रबैंकको नाममा जारी ग¥यो । तर, आफूले पठाएको पैसा न चेस बैंकले फिर्ता पायो न सरोकारवालाले नै पाए । राष्ट्रबैंक टसमस गरेन, कसैको पत्रलाई टेरपुच्छर लगाएन । एक मिलियन डलर फसेका असिम खत्री क्षत्रीले उचित जबाफ नपाएर अढाई वर्ष रुमलिएपछि अमेरिकी संघीय अदालतको ढोका ढक्ढक्याउन पुगेको बताउँछन् । सन् २०१० नोभेम्बर १० तारिखका दिन तरला इन्टरनेशनलका असिम खत्री क्षत्री र तरला इन्टरनेशनलले नियुक्ति गरेको एजेन्ट उ लिजियाङले अमेरिकास्थित संघीय अदालतमा नेपाल बंगलादेश बैंक, नेपाल राष्ट्रबैंक, नेपाल सरकार राजस्व अनुसन्धान विभाग र चेस म्यानह्याटन बैंकलाई प्रतिवादी बनाई मुद्दा दर्ता ग¥यो । मुद्दाको प्रतिनिधित्व ग¥यो न्युयोर्कमा कार्यरत भट्ट ल फर्मले ।
सम्बन्धित निकायको गैह्र जिम्मेवारीपन
सन् २०१० को नोभेम्बर १० तारिक भट्ट ल फर्मले प्रतिनिधित्व गर्दै अमेरिकी संघीय अदालतमा एक मिलियन डलर फिर्ता पाउँ भन्दै निवेदन दिएपछि प्रतिवादीहरु क्रमशः नेपाल बंगलादेश बैंक, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्रबैंकका सम्बन्धित विभागमा जानकारीको पत्र दिइएको साथै न्युयोर्कस्थित नेपाली कन्सुलेटको कार्यालयमार्फत पनि जानकारी गराइएको भट्ट ल फर्मसम्बद्ध गोपाल शाह बताउँछन् । जुन जानकारीमा नेपाल बंगलादेश बैंकलाई २१ दिने म्याद र नेपाल राष्ट्र बैंकलाई जबाफको लागि ६० दिन म्याद अदालतले उपलब्ध गराएको गोपाल शाह बताउँछन् । आफ्नो कारणले उत्पन्न भएको समस्याको आफूसम्बद्ध मुद्दा अमेरिकी अदालतमा परिसकेपछि वास्ता नगर्नु, समयमा उचित कारण पेश गर्न नसक्नु र म्याद गुज्रेपछि अदालतले हाम्रो क्लाइन्टलाई न्याय दिएको हो भन्छन्् उनी ।
भmण्डै तीन वर्षसम्म पैसाको टुंगो नलगाएको राष्ट्रबैंक र राजस्व अनुसन्धान विभागले जब अमेरिकी अदालतमा मुद्दा परेको जानकारी पायो तब मात्र चाइनिज नागरिक उ लिजियाङविरुद्ध नेपालमा मुद्दा चलाएर अड्केर बस्यो । नेपालमा जिल्ला अदालतमा मुद्दा दायर गर्दासमेत राष्ट्रबैंकले चाइनिज नागरिक उ लिजियाङविरुद्ध दायर गरेको छ । अमेरिकाबाट पैसा पठाउने तरला इन्टरनेशनलका असिमविरुद्ध मुद्दा दायर गरेको छैन । तर राष्ट्रबैंकले अमेरिकामा परेको मुद्दाको जबाफ दिन भने जरुरी ठानेन । यति लामो समय चुप बसेको राष्ट्रबैंक राजश्व, अनुसन्धान विभाग र बंगलादेश बैंकले आफूविरुद्धको मुद्दा हारिसकेपछि समेत चासो देखाएन । कानमा तेल हालेर बस्यो तर जब अमेरिकामा राष्ट्र बैंकको खातामा रहेको रकममध्येबाट दश लाख पाँच सय अमेरिकी डलर अदालतको आदेशअनुसार झिकियो तब मात्र राष्ट्रबैंकले मुख खोल्यो । असिम खत्री क्षत्रीले सेना र प्रहरीलाई सामान नै उपलब्ध गराएको छैन भनेर । मुद्रा शुद्धीकरणका लागि असिम खत्रीले रकम अमेरिकाबाट नेपाल पठाएको अनैतिक पैसा हो भनिदियो । यतिसम्म कि अमेरिकी संघीय अदालतबाट जनवरी २१ तारिक २०११ मा आफ्नो पक्षमा आदेश प्राप्त गरेका असिमलाई राष्ट्रबैंकले अमेरिकामा पक्राउ गर्ने हल्ला पिटायो । अनि पैसा फिर्ता गराउन अहिले अमेरिकी अदालतको शरणमा पुगेको छ । तर राष्ट्रबैंकले नै सन् २००७ को जुलाई १० देखि पछाडि लगातार विभिन्न मितिका एलसीबाट आफैंले तरला इन्टरनेशनललाई सामानको भुक्तानी पठाएको छ ।
नेपाल राष्ट्रबैंकले असिमलाई एकमिलियन डलरको ब्याज पनि तिर्नुपर्छ – डिल्ली भट्ट , कानुनविद्, भट्ट ल फर्म, न्युयोर्क
नेपाल राष्ट्र बैंकले असिम क्षेत्रीले पैसा निकालेको कारण पक्राउ गर्ने भन्दैछ नि ?
यो मुद्दामा नेपाल राष्ट्रबैंक मात्र होइन नेपाल सरकारले नै केही गर्न सक्दैन किनकि हाम्रो क्लाइन्टले नेपाल पठाएको पैसा हामीलाई अमेरिकी अदालतले फिर्ता दिलाइदियो । तर, झण्डै तीन वर्षसम्म मेरो क्लाइन्टको मिलियन डलरको ब्याज पनि झण्डै तीन लाख हुन आउँछ, त्यो क्लाइन्टले पाएको छैन । हामी त्यसको दाबी गर्ने तयारीमा छौं ।
अमेरिकी अदालतले एकतर्फी निर्णय ग¥यो भन्ने आरोप नेपालका सम्बन्धित निकायले लगाएको छ नि ?
एक पक्ष र दुई पक्ष भन्ने सवाल नै छैन । हाम्रो क्लाइन्टले सही काम गरेको पैसा फिर्ता पाएको हो । र अर्को कुरा मुद्दा परेको जानकारी पाएपछि किन समयमा रेसपोन्स गरेन नेपालका सम्बन्धित निकायले ? यो अरु केही होइन, अमेरिकाको बेइज्जत गर्न मात्र खोजिएको हो । यो विषयमा दुई–चार जना कर्मचारीको व्यक्तिगत इन्ट्रेस्ट छ ।
अमेरिकी अदालतको क्षेत्राधिकारभित्र यो मुद्दा पर्छ कि पर्दैन ?
कारोबार अमेरिकाबाट भएको छ । अमेरिकी नागरिकको पैैसा, अमेरिकी बैंकबाट नेपालमा पठाइएको पैसा फसेको छ । अमेरिकामा पनि राष्ट्रबैंकको बैंक खाता छ । त्यसपछि त त्यो दायरामा त आउने नै भयो ।
अब सबै कुराको छिनोफानो अदालतबाटै हुन्छ - डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूत

राष्ट्रबैंकको खाताबाट झिकिएको पैसा फिर्ता गराउनका लागि तपाईंहरुले कस्तो पहल गरिरहनुभएको छ ?
चैत १० गते अर्थसचिवले पठाएको पत्र पाइसकेपछि हामीले पत्रको व्यहोरा हुबहु उल्लेख गर्दै अमेरिकाको स्टेट डिपार्टमेन्टमा पठायौं । असिम क्षेत्रीले अमेरिकाबाट पठाएको रकमबारे नेपालमा अनुसन्धान भइरहेकाले र नेपालमा समेत मुद्दा चलिरहेकाले यसबारेमा अमेरिकी अदालतबाट अहिले नै निर्णय गरिनु हँुदैनथ्यो र राष्ट्रबैंकको खाताबाट पनि रकम झिकिनुहुँदैनथ्यो भन्ने व्यहोराको पत्र थियो त्यो । पत्रमा राष्ट्रबैंकको खाताबाट झिकिएको रकम फिर्तीका लागि कूटनीतिक पहलको आग्रह पनि गरिएको थियो । हामीले त्यो पत्र बिहीबार नै अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टमा पठाइदिएका हौं ।
पत्र पठाउनेबाहेक अरु कुनै पहल पनि गर्नुभयो कि ?
हो, हामीले नेपाल सरकारको आग्रहअनुसार रकम फिर्तीका लागि कूटनीतिक पहल पनि गरिरहेका छौं । मैलै स्वयम् राजदूतको हैसियतबाट स्टेट डिपार्टमेन्टका अधिकारीहरुसँग पनि कुराकानी गरिसकेको छु । अमेरिकाको अदालतबाट मुद्दा फैसला भइहाले पनि नेपालमा समेत मुद्दा चलेकाले पैसा निकालिनु हँुदैनथ्यो भन्ने कुरा राखें मैले । रकम फिर्ताको पहलका लागि हामीले गरेको आग्रहलाई स्टेट डिपार्टमेन्टले सकारात्मक रुपमा लिएको छ । स्टेट डिपार्टमेन्टले उसको दायराभित्र पर्ने विषयमा भरपूर सहयोग गर्ने बचन पनि दिएको छ । स्टेट डिपार्टमेन्ट एकदम सकारात्मक छ, कुनै नाइनास्ती गरेकै छैन । सम्बन्धित विभागको सहयोग लिएर समस्याको समाधानतिर लाग्ने बताएको छ स्टेट डिपार्टमेन्टले । तर अमेरिकी अदालतबाट फैसला भइसकेको विषय भएकाले स्टेट डिपार्टमेन्टले कानुनी बाटो अपनाउनका लागि सुझाव दिएको छ ।
उसो भए कस्तो कानुनी बाटो अपनाउदै हुनुहुन्छ त ?
कानुनी बाटो भनेको अमेरिकी अदालतमा गरिने अपिल हो । राष्ट्रबैंकको खाताबाट पैसा झिकिएको हुनाले राष्ट्रबैंककै तर्फबाट अमेरिकी अदालतमा अपिल गरिएको छ । न्युयोर्कमा रहेको कन्सुलेट कार्यालयले अदालतमा अपिलका लागि सहयोग गरिरहेको छ ।
झण्डै तीन वर्षसम्म चुपचाप लाग्ने तर अहिले असिम क्षेत्री अमेरिकी अदालतको शरणमा पुगेपछि मात्र नेपालको सरकार चल्मलाउनुले त नियतमा शंका देखियो नि ?
तीन वर्षसम्म किन गरिएन, त्यो त मलाई थाहा भएन । नियतमा शंका गरिहाल्नुभन्दा पनि त्यसमा कुनै विशेष कारण पनि हुनसक्छ । तर पहिले नै पहल गरेको भए राम्रो हुने थियो । हामीलाई पनि अहिले भर्खर मात्र पत्र आएको हो । पत्र आएपछि हामीले गर्ने पहल गरिरहेका छौं । पहिले नै किन गरिएन भन्नेबारेमा धेरै कुरा थाहा भएन । तर अहिले गर्दा पनि मनी लण्डरिङको केस भएकाले ढिलोचाहिँ भएको छैन । पहिले नै गरेको भए कसैले आशंका गर्ने ठाउँ पाउने थिएन । पहिले नै गरेको भए अहिलेसम्म समस्या पनि समाधान भइसक्ने थियो ।
अब नेपाल सरकारको मुख्य आसय चाहि के हो ?
नेपाल सरकारको मुख्य आसय बैंकबाट पैसा झिकिनुहुँदैनथ्यो भन्ने हो । र पहल पनि त्यही पैसा फिर्ता गराउनकै लागि हो । नेपाल सरकारले अहिले बैंकबाट झिकिएको पैसा फिर्ता गराएर असिम क्षेत्रीलाई कानुनी दायरामा ल्याउन पहल गरिरहेको छ । मनी लण्डरिङको केस भएका कारण यसको दायरा निकै फराकिलो पनि छ । त्यसैले जुनसुकै देशको नागरिक भए पनि कानुनी दायरामा ल्याउन सकिन्छ । अब अदालतमा अपिलका लागि गएकाले सबै कुराको छिनोफानो अदालतबाटै हुन्छ ।
अमेरिकी अदालतले फैसला गरेको विषय उल्टाउन नेपालको सरकारले कूटनीतिक पहल थाल्दा दुई देशबीचको कूटनीतिक सम्बन्धमा नकारात्मक असर पर्दैन ?
यस्ता कुरा हुन नदिन एक देशले अर्काे देशबाट भएको निर्णयको सम्मान गर्न जरुरी छ । निर्णयको सम्मान गरिएमा द्विपक्षीय र निकट भविष्यमा बहुपक्षीय वार्ताका लागि पनि ढोका खोलिदिन सम्भव छ । त्यसपछि मात्र समस्याको समाधान निस्कन्छ । यस्ता कुराहरुले कूटनीतिक सम्बन्धमा कुनै नकारात्मक असर पर्दैन, बरु कूटनीतिक सम्बन्ध अझ बलियो हुन्छ ।
सरकारी अधिकारीबाटै मसंग घुस मागिएको थियो – असिम खत्री क्षत्री

नेपालमा कारबाही जारी रहदारहदै कसरी अमेरिकी अदालत ढक्ढकाउन पुग्नुभयो ?
आफूले नियमसंगत ढंगबाट पठाएको पैसा न मैले तिर्नुपर्ने मान्छेको हातमा प¥यो । न मलाई नै फिर्ता दिइयो । अराजकताको पनि पराकाष्ठा हुन्छ । किन अढाई वर्षसम्म मेरो पैसा राष्ट्रबैंकले रोकिदियो स्पष्ट कारण दिनै सकेन । त्यसैले पीडित व्यक्ति न्यायका लागि कहीँ त जानै पयो नि त्यसैले न्याय पाइन्छ कि भनेर अमेरिकी अदालतमा मुद्दा दायर गरेको हुँ ।
तपाईंलाई त राष्ट्रबैंकले अमेरिकामा कूटनीतिक पहल गरेर कारबाही गर्ने प्रचार गर्दैछ नि ?
मेरै पैसा मैले नै अढाई वर्षसम्म कता गयो, थाहा नपाएर छट्पटाएर बाँचिरहें । बिनाकारण पैसा रोकिदिएर मेरो सम्पूर्ण व्यवसाय तहसनहस भयो । हर रात मानसिक तनावमा बिताएँ । आज मैले अमेरिकी अदालतबाट न्याय पाएँ । मेरै पैसा मैले फिर्ता पाएँ । अहिले मलाई चोरी गरेजस्तो, बदमासी गरेजस्तो गरेर प्रचार गराइँदैछ । यो अत्यन्त दुःखको कुरा हो ।
तपाईंले नेपाल पठाएको पैसा गलत आसयको भन्दै छन् नि ?
अमेरिकाबाट १० हजारभन्दा बढी रकम अन्य मुलुकमा पठाउँदा सबै प्रमाण देखाउनुपर्ने व्यवस्था छ । अमेरिकाबाट त्यति ठूलो रकम कानुन मिचेर नेपालमा पठाउन अकल्पनीय कुरा हो । कसरी गलत आसयको भयो ?  सबै एलसीमार्फत गएको छ । अझ त्योभन्दा पनि महत्वपूर्ण कुरा सम्झौतामा उल्लेख भएअनुसार सम्बन्धित निकायले सामान प्राप्त गरिसकेपछि त्यही राष्ट्र बैंकले एलसीमार्फत मलाई भुक्तानी पठाएको हो । अहिले कसरी मेरो पैसा गलत आसयको भयो ।
सामान नै नपठाई पैसा मात्र पठाएको आरोप छ नि ?
सामान नपठाएको भए मेरो एलसी कसरी क्लिएर भयो । मेरो एलसी क्लिएर नभई अमेरिकाबाट नेपालमा कसरी सब–कन्ट्रयाक्टरलाई पेमेन्टका लागि पैसा गयो ? मैले क्यास पैसा पठाएको हो र । यो अरु केही पनि होइन, केही व्यक्तिहरुको निजी इन्ट्रेस्टअनसार यो हल्ला गराइएको छ ।
व्यक्तिहरुको इन्ट्रेस्ट भन्नाले तपाईंसग नेपालमा कसैले पैसा मागेको थियो ?
म अमेरिकामा नै भएको समयमा मेरो पैसा रोक्का गरिदिएपछि सरकारी ओहोदामा रहेका नेपालका केही जिम्मेवार व्यक्तिहरुले आर्थिक सहयोग गर्ने भए पैसा फुकुवा गरिदिन्छौं भनेका थिए, तर मैले मानिन । मेरो लिगल पैसा रोकिदिने, दुःख दिने उनीहरु अनि आफ्नै पैसा लिन मैले सहयोग गर्नुपर्ने रे । भ्रष्टाचार गर्ने उनीहरुको आशय मलाई उचित लागेन ।(विश्वन्युजडटकमबाट)

No comments:

Pages