काठमाडौं । सरकारले भविष्यमा हुन सक्ने जोखिमबाट बच्न तथा सरकारी सेवा सुविधा प्राप्त गर्न श्रम अनुमति लिएरमात्रै रोजगारीका लागि जान आग्रह गरेको छ ।खाडी मुलुकमा कामका लागि जाने नेपाली समस्यामा पर्ने गरेको र श्रम अनुमति लिएर नजाँदा कुनै दुर्घटना या आपतमा परे उद्धार गर्न नसकिने भन्दै यस्तो आग्रह गरेको हो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार करिब दुई लाख नेपाली श्रम अनुमति पत्र नलिएर वैदेशिक रोजगारीमा गएका छन् । जसले गर्दा उनीहरुको कुनै जानकारी सरकारसँग छैन । यसरी जानेमा महिलाहरु पनि रहेका छन् ।मन्त्रालयका सहसचिव पूर्णचन्द्र ढुङ्गेलका अनुसार सरकारबाट २७ हजार महिलाले मात्रै श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । उनीहरुको जानकारी मात्रै सरकारले राखेको छ । रोजगारीका लागि विदेशिनेहरु बेचविखनमा पर्ने गरेको बताउँदै उहाँले यसरी जाँदा आफू कसरी सुरक्षित भइन्छ भनेर प्रत्येक व्यक्तिले जानकारी लिन आवश्यक रहेको बताउनुभयो ।वैदेशिक रोजगारीमा गएकाहरु सुरक्षित तरिकाले काम गर्न सकुन् भन्ने उद्देश्यले सरकारले खाडी मुलुकमा एकद्धार प्रणाली लागू गर्न सुरु गरेको छ । कामदार पठाउनुअघि सरकारले सम्बन्धित मुलुकमा स्वीकृति लिनका लागि एकद्धार प्रणाली लागू गरिएको बताउँदै सहसचिव ढुङ्गेलले कुबेतमा भने गत फागुनदेखि लागू भइसकेको जानकारी गराउनुभयो ।
No comments:
Post a Comment