4/13/2011

पूर्व सेनापति कटवालले पार्टी घोषणा गर्दै

माओवादीलाई सत्ताच्यूत गराउन मुख्य भूमिका खेलेका पूर्व सेनापति रुक्माङ्गद कटवाल पार्टी खोलेर राजनीतिमा आउने तयारी गरेका छन् । सेनापति छँदै चर्का राजनीतिक टिप्पणी गर्ने कटवाल संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र बिरोधीलाई संगठित गरेर राजनीतिमा आउन लागेका हुन् ।

बिभिन्न साना मोर्चा र संघ-संगठनलाई एकीकृत गरेर कटवालले आफ्नै नेतृत्वमा राजनीतिक मोर्चाको घोषणा गर्दैछन् । लोकतन्त्र दिवसको अघिल्लो दिन अर्थात बैशाख १० गते सुदुरपश्चिमको धनगढीमा ‘संयुक्त राष्ट्रिय मञ्च’ नामक नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । मञ्चका राष्ट्रिय संयोजकसमेत रहेका कटवालले धनगढीको खुलामञ्चमा मञ्चको घोषणा गर्ने तयारी समिति संयोजक चन्द्र साउदले जानकारी दिए । संगठनमा भगौडा प्रहरी र भगौडा माओवादी, राजावादी, धर्मनिरपेक्षतावादी, गणतन्त्र र संघीयता बिरोधी देशभरका करिव १ सय बढी संघसंस्थालाई सहभागी बनाउनल लागिएको साउदले जानकारी दिए ।
मञ्चमा सहभागी ११ मध्ये ७ वटा संगठन सुदुरपश्चिमका छन् । संगठनमा पश्चिम संयुक्त राज्यपरिषद्, सेती महाकाली संघीय परिषद्, सुप जागरण मञ्च, सेती महाकाली हलिया तथा सुकुम्बासी मुल समिति, द्वन्द्वपीडित सेना प्रहरी संघ, भगौडा माओवादी संगठन र पूर्व राजपरिवार निकटका ब्यक्तिहरु सहभागी छन् ।
मञ्चमा सुदुरपश्चिम क्षेत्रमा भूमिगत राजनीति गरिरहेका केही संगठनलाई पनि समावेश गरिएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तयारी समितिका संयोजक साउदले शान्ति र संबिधान बनाउने जिम्मेवारी लिएका दलहरु असक्षम भएकाले अर्को जनाधारप्राप्त शक्ति निर्माण गर्न सहासि योद्धा र राष्ट्रप्रति बफादार ब्यक्ति समावेश गरेर कटवाल नेतृत्वमा मञ्चको घोषणा गर्न लागिएको बताए ।
चरम राजनीतिक महत्वकांक्षीका रुपमा परिचय बनाएका उनी सेनापतिबाट अबकाश लिएपछि शक्तिबिहीन भएर यत्तिकै घरमा नबस्ने उनीनिकटहरुले बताउँदै आएका थिए । सेनापतिबाट अबकाश लिएपछि पनि उनले सेनालाई राजनीतिक रंग दिनेगरि बेलाबेला टिप्पणी गर्दै आएका थिए ।
माओवादी बिरोधीहरुको मोर्चा कमजोर भएको निष्र्कष निकालेका कटवालले आफ्नो मोर्चालाई पूर्व राजावादी, कांग्रेसको अनुदारवादी खेमा र माओवादी बिरोधीहरुले साथ दिने बिश्वास लिएको उनीनिकट स्रोतले जानकारी दियो ।

No comments:

Pages