अमेरिकामा व्यापार तथा लगानी प्रवर्द्धन सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रीमती सहित आधा दर्जन सचिव सहित वासिंङटन डीसी आइपुग्नुभएका उप-प्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले डीसीस्थित नेपाली समुदायमाझ भने उपस्थिति हुनुभएन । नेपालमा हालसालैमात्र भ्याटकाण्ड र अर्थमन्त्रालयका सचिवलाई समेत जानकारी नदिइ पुरक बजेटको तयारी गराएर अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले राजिनामा दिएपछि
सदनदेखि सडकसम्म विरोध भएका अर्थमन्त्री भरतमोहन अधिकारी वासिंङटन डीसीस्थित नेपालीहरुको संस्था अमेरिका नेपाल सोसाइटीद्धारा अप्रिल १७ तारिख आइतबार आयोजित नयां वर्षको शुभकामना आदान-प्रदान गर्ने कार्यक्रममा कार्यक्रम आयोजकहरुले नेपालका उप-प्रधानमन्त्री कार्यक्रममा आउने अग्रिम जानकारी गराइएको भएपनि सो नेपाली कार्यक्रममा डीसीमै रहेका अर्थमन्त्री भरतमोहन अधिकारी भने अनुपस्थिति रहनुभयो ।कार्यक्रमस्थलमा अर्थमन्त्री आउनुहोला र विरोध गरौंला भनेर पुगेका वासिंङटन डीसी वरपरका केही नेपालीहरुले विरोध गर्न नपाएपछि त्यतिकै फर्किएका थिए । कार्यक्रममा वासिंङटन डीसीस्थित नेपाली राजदूत शंकर शर्मा, नियोग प्रमुख कालि प्रसाद पोखरेल, उपनियोग प्रमुख आनन्द शर्माका साथमा गृहसचिव गोविन्दप्रसाद कुसुम, उर्जा सचिव शितलबाबु रेग्मी, कानुन सचिव माधव पौडेल यसैगरी गृहमन्त्रालयका सहसचिव शंकर कोइराला र वाणिज्य मन्त्रालयका सह-सचिव तोया नारायण ज्ञवालीको उपस्थिति रहेको थियो । वाणिज्य सचिव पुरुषोत्तम ओझा भने पारिवारिक भेटका लागि क्यालिफोर्नियातिर लाग्नुभएका कारण नेपालीहरुको भेलामा उपस्थिति हुनुभएको थिएन ।
उप-प्रधानमन्त्रीको अनुपस्थितिका बारेमा शुभकामना कार्यक्रम आयोजक तथा सोसाइटीका अध्यक्षलाई जानकारी माग्दा सोसाइटीका अध्यक्ष नगेन्द्र पौडेलले आफूलाई कार्यक्रम हुने भन्ने भएपछि तीन साता पहिले नै डीसीस्थित नेपाली दूताबासले उप-प्रधानमन्त्रीलाई समेत कार्यक्रममा लिएर आउने जानकारी गराएको तर आज उप-प्रधानमन्त्री तथा अर्थमन्त्री किन आउनु भएन भनेर आफूले कसैलाई सोधिखोजी नगरेको जानकारी गराउनुभयो ।
अमेरिका नेपाल सोसाइटीका आयोजनामा भएको सो शुभकामना आदान-प्रदान कार्यक्रममा उप-प्रधानमन्त्री भरतमोहन अधिकारी आउने भनेपछि विभिन्न सामाजिक संजालमार्फत उप-प्रधानमन्त्रीको विरोध गर्ने भन्दै केही युवाहरुले प्रचार-प्रशार समेत गरेका र त्यहां विरोध प्रदर्शन हेर्न भन्ने मनसायले समेत कतिपय नेपालीहरु कार्यक्रमस्थलमा पुगेका थिए ।
उक्त अवसरमा सम्पन्न शुभकामना कार्यक्रममा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा वासिंङटन डीसी मेट्रो क्षेत्रका नेपालीहरुको सहभागिता रहेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको टोली भने आइतबार राती वासिंङटन डीसीबाट नेपाल प्रस्थान गरेको छ ।
No comments:
Post a Comment