4/18/2011

हानिकारक छ मोबाइल केटाकेटीहरूका लागि

‘म मोबाइल बेगर एकछिन पनि बस्न सक्दिनँ,’ ‘मोबाइल सँगै नभए आफूलाई अपाङग भएको जस्तो ठान्छु,’ ‘एसएमएस सुविधाले त जिन्दगी झनै सजिलो भएको छ। कसैलाई मायाको सन्देश पठाउनुछ वा कसैलाई गाली, मात्र एउटा सन्देशले काम भइहाल्छ,’ ‘गाना सुन्नु परेमा वा कुनै सानो फिल्म हेर्नुछ वा क्रिकेटको स्कोर, यसका लागि घर पुग्नैपर्दैन। सबै मेरो मोबाइलले भनिहाल्छ।’ यी वाक्यहरू प्राय: आजभोलिका किशोरहरूले भन्ने गरेको पाइन्छ।

    ग्लोबलाइजेशनको यस युगमा प्रविधिले यति विकास गरिसकेको छ कि आधुनिक जीवन शैलीको प्रतिविम्ब भइसकेका उपकरणहरू हरेकको पहुँचभित्र छ। खेलौनाजस्तो देखिने मोबाइल फोन आज हाम्रो जीवनको हिस्सा बनिसकेको छ र यो हरेक वर्गको पहुँचभित्र पनि छ। तर भर्खरै भएको एक शोधले के देखाएको छ भने केटाकेटीहरूका लागि यो अति नै हानिकारक उपकरण हो।
    नेशनल रेडियोलाजिकल प्रोटेक्शन बोर्ड, ब्रिटेनले मोबाइल फोनबाट हुने खतराबाट केटाकेटीहरूलाई जोगाउने चेतावनी दिएको छ। यसैगरी जवाहरलाल युनिवर्सिटीमा भएको एक अध्ययन अनुसार लामो समयसम्म मोबाइल फोन कानमा लगाइराख्नाले त्यसबाट निस्कने विद्युत् चुम्बकीय तरङगले यसको प्रयोगकर्ताको मस्तिष्कको टिसुलाई नष्ट गर्दछ। यस कारण प्रतिवेदनमा १६ वर्षभन्दा कम उमेरका केटाकेटीहरूलाई मोबाइल फोन उपयोग नगर्ने सल्लाह दिइएको छ।
    नेपालमा मोबाइल फोनको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ र खासगरी किशोरकिशोरीहरूमा यसको माग र प्रयोग अत्यधिक छ। ससाना केटाकेटीहरू पनि आफ्ना अभिभावकसँग एकअर्काको देखासिकी मोबाइल ल्याइदिने अनुरोध गर्न थालेका छन्। अभिभावकहरूको मोबाइलमा गेम खेल्न थालेका छन्। यसका साथै जब उनीहरूले मोबाइलमा भएको अन्य विशेषताबारे अभिभावकलाई जानकारी दिन्छन् र अभिभावकहरू पनि छक्क पर्छन् र आफन्तहरूलाई मेरो छोरा वा छोरी कतिको जान्ने भइसकेका छन् भनी बताउन थाल्छन्। बजारमा उपलब्ध वा आउने नयाँ मोडेलका मोबाइलबारे अभिभावकभन्दा बढी केटाकेटीहरूलाई थाहा हुन्छ। यही कारण हो उनीहरू पढाइका कुराहरू बिर्सन सक्छन् तर मोबाइलमा भएको गेमको नियम उनीहरूलाई सधैं याद रहन्छ।
    खासगरी मोबाइल प्रयोगको असर केटाकेटीहरूमाथि मानसिकरूपले पर्छ। उनीहरू यसको अभ्यस्त हुन थाल्छन्। उनीहरूका लागि योबेगर एकछिन बिताउनु असम्भव हुन थाल्छ। उनीहरू घन्टौं बन्द कोठामा बसी मोबाइलमा कुराकानी गरिराख्छन्। यसले गर्दा उनीहरूको सोच सीमित हुन थालेको छ। यदि उनीहरूको हातमा मोबाइल छैन भने बाहिर निस्कन पनि रूचाउँदैनन्।
    कैयौं अभिभावकहरू छोराछोरीलाई उनीहरूको सुरक्षाको कारण मोबाइल दिएको बताउँछन्, किनभने उनीहरू सधैं आफ्ना छोराछोरीसँग हुँदैनन्। केटाकेटीलाई मोबाइल दियो भने सधैं उनीहरूको सम्पर्कमा बस्न सकिन्छ। आफ्ना छोराछोरीसँग समय खर्च गर्न न रूचाउने अभिभावकहरू केटाकेटीहरूलाई मोबाइल दिएर के साबित गर्न खोज्छन् भने उनीहरू आफ्नो सन्तानको कति ख्याल गर्छन्। यसै कारण कलिला केटाकेटीहरूको हातमा हुने मोबाइलको जिम्मेवार अभिभावक स्वयं नै हुन्। यसका साथै एकअर्काको देखासिकी पनि मोबाइल प्रयोग गर्ने अर्को कारण हुनसक्छ। यस्तोमा यदि एउटा साथीको हातमा मोबाइल छ भने उसको हातमा पनि मोबाइल नहुनुको कुनै अर्थ छैन। यदि उसको हातमा मोबाइल छैन भने ऊ आफूलाई पिछडिएको महसुस गर्छ जसको प्रभाव उसको समस्त क्रियाकलापमाथि पर्न थाल्छ। 
    मोबाइल फोन आवश्यकताभन्दा बढी आज हरेकको आदत र जीवनमा सामेल हुँदै गइरहेको छ किनभने आम मानिसको टेलिफोन नम्बर, क्रेडिट कार्ड नम्बर, बैक एकाउन्ट, प्यान नम्बर आदि सबै मोबाइलमा राखिएको हुन्छ। यसलाई गुमाउनुको अर्थ जीवनको एउटा अहम् हिस्सा गुमाउनु हो। कहिलेकाहीं कुरा गर्दागर्दै जब बैटरी डिस्चार्ज हुन्छ प्रयोगकर्ताको बेचैनी बढ्न थाल्छ र त्यसलाई रिचार्ज गर्ने कोशिशमा ऊ लागिपर्छ। अबेरसम्म मोबाइलको घण्टी नबज्दा मोबाइलको स्वीच त अफ भएको छैन भनी हेर्न थाल्छन्। बस्दाबस्दै कहिले काहीं मोबाइल फोनको घण्टी बजिरहेको जस्तो लाग्छ तर यसो हुँदैन। यसलाई विज्ञानको भाषामा ‘नोमोफोबिया’ भनिन्छ। यो रोग प्लेगजस्तै फैलिरहेको छ। हामी मोबाइलमाथि यति निर्भर भइसकेका छौं कि बैटरी डिस्चार्ज भएको बेला वा कभरेज बाहिर हुनासाथ तनाव महसुस गर्न थाल्छौं।
    मोबाइल प्रयोगकर्तामाथि भएको शोधले के देखाएको छ भने यसको बढी प्रयोग गर्ने मानिस नपुंसक पनि हुन सक्छ। यसकारण पैंटको खल्तीमा यसलाई नराख्ने सुझाव दिइएको छ र कमीजको खल्तीमा राखे हृदयमाथि असर पर्नसक्ने सम्भावना देखाइएको छ। मोबाइलको बढी प्रयोग गर्ने मानिस प्राय: डिप्रेशनको शिकार, टाउको दुख्नु, रिंगटा लाग्नु, त्वचा झनझनाउनु, जीउ दुख्नुजस्ता रोगबाट पीडित हुने गरेका छन्। एउटै कानले लामो समयसम्म मोबाइल सुन्नाले कानको भित्री कोशिकाहरू क्षतिग्रस्त हुन सक्छ र प्रयोगकर्ता कम सुन्ने रोगको शिकार पनि हुन सक्छ। स्वीडेनमा भएको एक अध्ययनअनुसार मोबाइलको अत्यधिक प्रयोग गर्ने मानिसमा सामान्य मानिसभन्दा बढी ब्रेन ट्युमर हुने खतरा अढाई गुणा बढी हुन्छ। जर्मनीमा भएको रिसर्चले के देखाएको छ भने मोबाइलको प्रयोग गर्ने मानिसमा उच्च रक्तचाप र हर्टअटैक हुने खतरा बढी हुन्छ। सबैभन्दा ठूलो कुरो के हो भने आधुनिक युगमा मोबाइल टाइम पास गर्ने राम्रो साधनको रूपमा उपयोग हुन थालेको छ। एकातिर मोबाइलको प्रयोगले परस्पर संवाद र सम्बन्धमा पनि असर पर्न थालेको छ भने केटाकेटीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस कारण मोबाइलभन्दा बढी ल्यान्डलाइन फोन प्रयोग गर्नु बेस हुन्छ। ८ वर्षभन्दा कम उमेरका केटाकेटीलाई मोबाइल प्रयोग गर्ने छुट दिनुहुँदैन। मोबाइलको सिग्नल कमजोर भएको बेला प्रयोग नगर्नु नै राम्रो हुन्छ। तसर्थ केटाकेटीलाई अहिलेदेखि नै मोबाइलभन्दा टाढा राख्ने प्रयास गर्नु बेस हुनेछ।

No comments:

Pages