4/19/2011

मेनपावर र मेडिकलको ठगी, विभाग मौन

विश्वका कुनै पनि मुलुकमा लुट्न छुट छैन र यस्तो धन्दा गरेको पाइएमा कानुनी कारबाही हुन्छ। । नेपालमा पनि कानुनी रुपमा लुटधन्दा गर्न पाइँदैन तर हरेक तह र तप्कामा लुटको धन्दा चलाउनेहरूको विगविगी नै छ ।
यसमा पनि वैदेशिक रोजगार व्यवसायमा लुटिखानेहरूको संख्या बढी छ । वैदेशिक रोजगार विभागमा तीस लाख धरौटी राखेर लिएको अनुमतिपत्रलाई लुटको लाइसेन्स ठान्नेहरूले गरिब, सोझा, बेरोजगार युवाहरूलाई हाकाहाकी लुटिरहेका छन् ।
दोहोरो श्रम सम्झौता गरेर विदेश पठाउने, श्रम स्वीकृति लिदाभन्दा चौगनासम्म रकम असुल गर्नेजस्ता धन्दा गरेर कतिपय मेनपावर व्यवसायीहरूले बेरोजगारीको पीडा सहेर बसेका युवाहरूलाई स्वदेशमा आर्थिक रुपमा चुसेर विदेशमा अलपत्र पार्ने गरेका छन् ।
मेनपावर व्यवसायी र तिनका दलालहरूले विदेश पठाइदिने प्रलोभन देखाएर राजधानीमै कतिपय युवालाई अलपत्रसमेत पारेका छन् भने कतिपयलाई रकम मात्र असुल गर्ने नियतले स्वास्थ्य परीक्षण रिपोर्ट, अभिमूखीकरण तालिमको प्रमाणपत्र आफैले बनाई बेच्ने गरेका छन् ।
एक महिनाअघि कतार गएका तिप्लिङ–४ धादिङका सुजन तामाङ यस्तै लुटको धन्दा चलाउनेहरूको शिकार बनेका छ । तामाङले लाजिम्पाटस्थित शिखर इन्टरनेशनल प्रालिबाट कतारको केएफसीमा फ्रि भिसा र फ्रि टिकटको मागपत्रमा पनि ८० हजार रुपैयाँ कम्पनीलाई बुझाएर गए । काठमाडौको लाजिम्पाटमा रहेको एड्भान्स पोलिक्लिनिकबाट स्वास्थ्य परीक्षण गराई पास भएर कतार गएका तामाङ त्यहाँ गरिएको स्वास्थ्य परीक्षणमा भने अनफिट भई फर्किए । कतार उड्नु साताअघि पोलिक्लिनिकलाई २ हजार रुपैयाँ तिरेर स्वास्थ्य परीक्षण गराएका तामाङ कतार पुगेको पहिलो महिनामै मेडिकल अनफिट भई नेपाल फर्काइएका हुन् ।
विदेश गएर केही आर्जन गर्ने सपना बोकेर सिरिखुरी बन्धकी राखेर कतार हिडेका तामाङ मेनपावर कम्पनी र मेडिकल संस्थाको गैरजिम्मेवारीपूर्ण कार्यका कारण यतिबेला राजधानीमा अलपत्र परेका छन् । तामाङ भन्छन्, मैले कम्पनीमा नै गएर ८० हजार रुपैयाँ बुझाएँ, मेडिकल सेन्टरले पनि पास भएको प्रमाणपत्र दियो तर कतार पुगेपछि अनफिट भई फर्कनु प¥यो । अहिले कम्पनीले पनि क्षतिपुर्ति दिन आनाकानी गरिरहेको छ र मेडिकल सेन्टरले पनि अनेकौ बहाना बनाएर पन्छिन खोजेको छ ।
आफूले पटकपटक कम्पनीमा गई क्षतिपुर्ति माग गर्दा पनि विभिन्न बहाना बनाएर टार्ने गरेको बताउँदै तामाङले कम्पनीका कर्मचारीले ‘क्षतिपुर्ति दिन्न जे गर्न सक्छस् गर’ भन्ने ठाडो जवाफ दिने गरेको गुनासो गरे । ‘मेडिकल सेन्टरले गरेको गल्तीको सजायँ मैले भोगिरहनु परेको छ, एकातिर विदेश जान लिएको ऋणमा डुबेको छु भने अर्कोतिर मेनपावरले बेवास्ता गरिरहेको छ । म केही नबुझेको मान्छे न्याय माग्न कहाँ जाऔं,’ उनले दुखेसो पोखे । यस विषयमा मेनपावरका सञ्चालक अनुराज प्रधानसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यस्तै एड्भान्स मेडिकलका सुन्दर भट्टराईले स्वास्थ्य परीक्षण गराएर पठाएपछि आफ्नो कुनै जिम्मेवारी नहुनेजस्तो गैरजिम्मेवार प्रतिक्रिया दिए ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघले होलोग्राम अंकित स्वास्थ्य परीक्षण रिपोर्ट भएमा स्वदेशमा मेडिकल पास भई विदेश पुगेपछि फेल भएर फर्केमा क्षतिपुर्ति दिने कागजी व्यवस्था गरेको छ । एड्भान्स मेडिकल पनि महासंघमा आवद्ध छ तर उसले होलोग्राम अंकित रिपोर्ट नदिई सामान्य रिपोर्ट दिएको छ । यसबाट क े स्पष्ट हुन्छ भने महासंघकै सदस्य रहेका मेडिकलहरू पनि नियम उल्लंघन गरिरहेका छन् ।
महासंघको होलोग्राम अनिवार्य व्यवस्थाले धेरै पीडितले राहत पाउने आशा गरिएको थियो तर त्यसको ठिक विपरीत होलोग्राम ठगी खाने भाँडो भएको छ । मेडिकल गराउन जाने व्यक्ति टाठोबाटो भए मेडिकल सेन्टरले पनि होलोग्राम दिने अन्यथा कागजी खोस्टा रुपी प्रमाणपत्र थमाउछन् । अझै पनि होलोग्राम अंकित प्रमाणपत्र हुनुपर्ने विषयमा स्वास्थ्य व्यवसायीहरूबीच विवाद  कायमै छ । केही व्यवसायीहरूले स्वतन्त्र रुपमा परीक्षण गर्न पाउनुपर्ने भन्दै होलोग्रामको विरोध गरिरहेका छन् । होलोग्रामको तानातानमा परेको महासंघका कारण सुजन तामाङजस्ता सयौ युवाहरू यहाँको मेडिकलमा पास भएर विदेश पुगेपछि अनफिटको ट्याग भिरेर फर्कन बाध्य छन् । यस विषयमा वैदेशिक रोजगार विभाग पनि मुकदर्शक बनेर बसेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टरको अनुगमन गर्ने जिम्मा पाएको विभागका कर्मचारीहरू दिनभरि कार्यालयमा कमिसन झार्ने खेलमा लिप्त बनेर बसेका हुन्छन् ।

No comments:

Pages