मोहन गुरुङ
रोजगारीका सिलसिलामा बिदेसिने कामदारलाई अनिवार्य अभिमुखीकरण तालिम दिने प्रावधान रहे पनि अधिकांश नेपाली कामदार तालिम नलिई विदेश जाने गरेका छन्। करिब ४० प्रतिशत नेपाली कामदार अभिमुखीकरण तालिमबिना विदेश जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
रोजगारीका सिलसिलामा बिदेसिने कामदारलाई अनिवार्य अभिमुखीकरण तालिम दिने प्रावधान रहे पनि अधिकांश नेपाली कामदार तालिम नलिई विदेश जाने गरेका छन्। करिब ४० प्रतिशत नेपाली कामदार अभिमुखीकरण तालिमबिना विदेश जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा जानेमध्ये ४० प्रतिशतले अभिमुखीकरण तालिम नलिने गरेको विभागका निर्देशक काशीनाथ मरासिनीले बताए। “अभिमुखीकरण तालिम दिने संस्थाहरुले तालिम नदिई कामदारलाई प्रमाणपत्र दिने गरेको पाइएको छ,” उनले भने।
गत माघ २६ देखि उनको नेतृत्वमा अभिमुखीकरण तालिम दिने संस्थामा अनुगमन भइरहेको छ।
“वैदेशिक रोजगारीमा दैनिक हजारदेखि १२ सय कामदार जाने गर्छन्,” निर्देशक मरासिनीले भने, “दैनिक ६ देखि ७ सय कामदारले मात्र अभिमुखीकरण तालिम लिएको पाइएको छ।” उनले अभिमुखीकरण तालिम दिने संस्थामाथि अनुगमनमा कडाइ गरी अनिवार्य रूपमा तालिम दिनुपर्ने व्यवस्था मिलाइने बताए। अहिले विभागबाट ५० संस्थाले अभिमुखीकरण तालिमका लागि स्वीकृति लिएका छन्। त्यसमध्ये २० संस्थामात्र सञ्चालनमा छन्।
वैदेशिक रोजगार ऐन २०६४ को दफा २४ मा वैदेशिक रोजगारीमा जाने कामदारले रोजगारीमा जानुअघि अनिवार्य रूपमा विभागबाट सूचीकृत संस्थाबाट अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने प्रावधान छ। अभिमुखीकरण तालिमबाट कामदारलाई काम गर्न जाने मुलुकको धर्म, संस्कृति, रहनसहन, हावापानी, कामको प्रकृति, ट्राफिक नियम, गर्न हुने र नुहने कामसम्बन्धी सामान्य जानकारी दिइने मरासिनीले बताए। “अभिमुखीकरण तालिम लिएका कामदारलाई आफूले गर्ने काम सहज हुनुका साथै सम्भावित दुर्घटनाबाट बच्न सक्छन्,” उनले भने, “त्यसैले अभिमुखीकरण तालिम अनिवार्य हुनुपर्छ।”
वैदेशिक रोजगारीका लागि गएका कामदार कार्यस्थलमा दुर्घटना परी अंगभंग हुने, ट्राफिक दुर्घटनामा पर्ने, राति सुतेको समयमा मृृत्यु हुने र सानातिना त्रुटिका कारण जेल जान बाध्य छन्। “यस्ता समस्या रोक्नका लागि पनि अभिमुखीकरण तालिम आवश्यक छ,” अभिमुखीकरण तालिमका अनुगमन समिति सदस्य नवराज ढुंगानाले भने।
अहिले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य तालिम दिने व्यवस्थाका लागि अनुगमन कार्यलाई कडा बनाउँदै लगिएको समिति सदस्य ढुंगानाले बताए। “म्यानपावर व्यवसायी र अभिमुखीकरण तालिम दिने संस्थालाई कामदारलाई अनिवार्य तालिम दिनका लागि निर्देशन पनि दिइएको छ,” उनले भने, “व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई तालिम अनिवार्य गरेका छौं।”
बिदेसिने कामदारले अभिमुखीकरण तालिम अनिवार्य लिएपछि संस्थाको भौतिक पूर्वाधार र जनशक्तिका साथै पाठ्यक्रम परिवर्तनको व्यवस्था पनि गरिने विभागले जनाएको छ। “समयअनुसार तालिमको पाठ्यक्रम र शैली परिवर्तन गरिनेछ,” सदस्य ढुंगानाले भने, “अहिले हामी प्रारम्भिक प्रक्रियामा अनुगमन गरिरहेका छौं।” यसलाई निरन्तरता दिई अभिमुखीकरणलाई प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ।
No comments:
Post a Comment