4/28/2011

लोप हुँदैछन् भ्यागुता

रेखाकुसुम रेग्मी
काठमाडौ । गोरखा जिल्लाकी माइली गुरुङ वर्षायाम सुरुसँगै पाहा प्रजातिको भ्यागुतो खोज्न स्थानीय खोलानालामा जाने गर्नुहुन्छ । भ्यागुताको अनुसन्धान गर्न या रेखदेख गर्न उहाँ यसरी जाने गर्नुभएको भने होइन । उहाँलाई यस प्रजातिको भ्यागुताको मासु असाध्यै मीठो लाग्ने भएकाले उहाँ यसरी भ्यागुतोको पछि धाउने गर्नुभएको हो ।

भ्यागुताको अध्ययन गर्न गएका अनुसन्धानकर्तासँग उहाँले सिर्दिवास गाविसको फिलिम गाउँमा भन्नुभएको थियो, “भ्याुगता मार्न हुँदैन भन्ने हामीलाई थाहा छैन । पाएसम्म खाने हो । बरु भेटाएमा हामीलाई दिनुहोला ।”
उहाँ मात्रै हैन, गोरखाको मनास्लु संरक्षण क्षेत्र वरिपरिका मगर, गुरुङ जातिका मानिसहरूले यो पाहा प्रजातिको परम्परादेखि भ्यागुतोलाई खानाका रूपमा प्रयोग गर्ने गरेका छन् । जस्ले गर्दा यो प्रजातिको भ्यागुतो सङ्कटमा पर्न थालेको छ ।
कम्पानिअनस् फर अम्फिवियन्स एण्ड रेप्टायल्स अफ नेपाल (क्यारोन) नामक संस्थाका संस्थापक अध्यक्ष गणेशकुमार पोख्रेल र सुदीप ठकुरीले गोर्खा जिल्लाको मनास्लु संरक्षण क्षेत्रमा गरेको एक अध्ययनले त्यहाँ पाहा प्रजातिको भ्यागुतो स्थानीय बासिन्दाले खानाको रूपमा प्रयोग गर्दै आएको देखाएको छ ।
अध्यक्ष पोखरेलका अनुसार वातावरणलाई सन्तुलन राख्ने क्रियाकलापमा महत्वपूर्ण योगदान दिँदै आएको भ्यागुतालाई खानाको रूपमा प्रयोग गर्न थालेपछि उक्त प्रजातिको भ्यागुताको सङ्ख्या अत्यन्त कम हुन थालेको छ ।अनुसन्धानले उक्त क्षेत्रमा चार प्रकारका पाहा प्रजातिका भ्यागुता फेला पारेको जनाएको छ ।
जिल्लाको सिर्दिवास र बिही गाविसमा पाहा प्रजातिको भ्यागुता अत्यधिक मात्रामा पाइने र त्यहाँ रहेका मगर तथा गुरुङ समुदायका मानिसले यो भ्यागुतालाई खोजीखोजी खाने गरेका छन् । उनीहरूको भनाइमा यो भ्यागुताको मासु खसी र कुखुराको मासु भन्दा निकै स्वादिष्ट हुन्छ ।
गत असोज महिनामा पहिलो पटक उक्त क्षेत्रमा गरिएको अध्ययनका क्रममा सात प्रकारका भ्यागुता, पाँच प्रकारका छेपारा, चार प्रकारका सर्प फेला परेको अनुसन्धानकर्ता ठकुरीले बताउनुभयो ।
भ्यागुतोको लागि अति राम्रो बासस्थान रहेकोले त्यहाँ थप अनुसन्धान गर्ने हो भने थप प्रजातिहरू रेकर्ड गर्न सकिने अनुसन्धानकर्ताको भनाइ छ ।
बढ्दो वातावरणीय प्रदूषण र वासस्थानको विनासले भ्यागुतो विश्वबाट नै लोप हुने अवस्थामा छ । मानव जीवनको पारिस्थितिक प्रणाली र वातावरणलाई व्यवस्थित राख्नमा भ्यागुताले महत्वपूर्ण योगदान दिँदै आए पनि यसको संरक्षणका लागि भने कहिकतैबाट खासै चासो देखाएको पाइँदैन।
नेपालमा केही मात्रामा गरिएको अनुसन्धानले करिब ५० प्रजातिका भ्यागुता रहेको अनुमान गरिएको छ ।प्राकृतिक विज्ञान सङ्ग्रहालयका प्रा करणबहादुर शाह पाहा प्रजातिको भ्यागुताको मासु पश्चिम नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने जनजाति समुदायले अत्यधिक रूपमा प्रयोग गर्दै आएको तर यसको संरक्षणका लागि कुनै निकाय नलागेको बताउनुहुन्छ ।
औषधि तथा खानाका नाममा नेपालमा रहेका भ्यागुताहरूको नास भइरहेको प्रमुख शाहको अनुभव छ ।
क्यारोनका वर्तमान अध्यक्ष मदनकृष्ण सुवाल भ्यागुता विना किसानको खेतीपाती नसप्रिने तथा समग्र मानव जीवनसँग जोडिएको वातावरण स्वच्छ नहुने भएकाले मानव जातिको मित्र भ्यागुतालाई मार्न नहुने सुझाव दिनुहुन्छ ।
उहाँ विज्ञान विषयको प्रयोगात्मक कक्षामा भ्यागुताको अत्यधिक प्रयोग भइरहेकाले यसका लागि पनि विश्वविद्यालयले वैकल्पिक उपायहरू अपनाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।
यद्यपि भ्यागुताले पानी पार्ने जनविश्वासका कारण काभ्रे, नुवाकोट, नवलपरासीलगायतका क्षेत्रमा वर्षायाममा अपेक्षित पानी नपर्दा भ्यागुताको विहे गराएका समाचार आउने गरेका छन् ।
नेपालमा भ्यागुताको महत्व बुझी यसको संरक्षण नभई रहेका बेला पहिलो पटक यस वर्ष भ्यागुता बचाऔं” भन्ने मूल नाराका साथ तेस्रो अन्तरराष्ट्रिय भ्यागुतो दिवस मनाउन थालिएको छ ।
भ्यागुताले वातावरणलाई जोगाउने मनन् गर्दै विश्वभर नै अप्रिल २९ अर्थात वैशाख १६ गते यो दिवस मनाउन थालिएको तीन वर्षमात्रै भएको छ । क्यारोन नामक गैरसरकारी संस्थाले यस दिवसलाई पहिलो पटक नेपालमा मनाउने तयारी गरेको हो ।
नेपालमा भ्यागुताका क्षेत्रमा भए गरेका अध्ययन तथा अनुसन्धानका बारेमा छलफल गर्न तथा भविष्यमा सरकारी तथा गैरसरकारी निकायबाट गर्नुपर्ने कामका बारेमा खाका तयार गर्न सो संस्थाले दिवसका दिन आयोजना गर्न लागेको राष्ट्रिय गोष्ठीमा विज्ञहरूले भ्यागुताको उपादेयताबारे पाँच वटा अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
भ्यागुताको अस्तित्वसँगै मानिसको पनि अस्तित्व जोडिएकाले यसको संरक्षण गर्नका लागि सरकारी स्तरबाटै ठोस नीति बनाई सोअनुरूप कार्यक्रम थालिनुपर्छ, नत्र नेपालका भ्यागुता कालान्तरमा एकादेशको कथा बन्न सक्ने विज्ञहरूको चिन्ता छ ।
Heir To The Everlasting

No comments:

Pages