4/27/2011

युरोपमा नेपाली मानवतस्कर प्रहरीको फन्दामा

अब युरोपमा मानवतस्करहरुलाई सजिलो छैन । किनभने त्यहांका सरकारले नेपाली मानव तस्करहरुमाथि निगरानी बढाउन थालेका छन् । यसै क्रममा यस्तै मानव तस्कर प्रहरीको फन्दामा परेका छन् । उनलाई नेपालमा डिपोर्ट समेत गरिसकिएको छ । बेल्जियमबाट सन्तोष न्यौपानेको रिपोर्ट ।


युरोपमा नेपाली दलालहरुले मानव तस्करीलाई तीब्रता दिएपछि युरोपियन देशका सरकारहरुले नेपालीहरुमाथि निगरानी बढाएका छन् । त्यहांका सरकारहरुले मानव तस्करीमा संलग्न हुने नेपालीहरुमाथि निगरानी बढाएका हुन् । बेल्जियमको सरकारले यस्तो निगरानी बढाएको श्रोतले बताएको छ । नेपालीहरुलाई मानव तस्करले नक्कली कागजपत्र बनाएर गैरकानुनी रुपमा छिराउन थालेपछि बेल्जियमममा सकृय दलालहरुमाथि त्यहांको सरकारले निगरानी बढाएको हो । बेल्जियम बाहेक अन्य देशका सरकारहरुले पनि नेपालीमाथि निगरानी बढाएका छन् ।

यसै क्रममा बेल्जियममा बस्दै आएका एकजना नेपाली दलाल प्रहरीको फन्दामा परेका छन् । मानव तस्करीमा संलग्न रहेका उनलाई फ्रान्सको प्रहरीले पक्राउ गरेको हो । फ्रान्सको प्रहरीले पक्राउ गरेर उनलाई नेपाल डिपोर्ट गरिसकेको छ । केही समय देखि बेल्जियममा बसेर यस्तो काममा संलग्न हुदै आएका कृष्ण खतिवडा मानव तस्करीकै क्रममा फ्रान्स पुगेका थिए । उनले काठमाडौंको चावहिलमा मेनपावर कम्पनी नै खोलेर नेपालीहरुलाई नक्कली कागजत्रपत्र बनाएर विदेश पठाउदै आएका थिए । नेपाल डिपोर्ट गरिएका खतिवडालाई हनुमानढोका प्रहरीमा राखिएको श्रोतले बताएको छ । उनीबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यसअगाडि विश्वन्यूज डटकमले युरोपमा भइरहेको मानवतस्करीबारे समाचार प्रकाशित गरेको थियो । अहिले पनि युरोपमा भइरहेको मानवतस्करीबारे विश्वन्युजको अपरेशन जारी रहेको छ ।

युरोप छिराउने प्रलोभन देखाएर नेपालीलाई अलपत्र पार्ने नेपाली दलालको जालो अहिले युरोपभरी नै फैलिएको छ । नेपाली दलालहरुको जालो यति साह्रो फैलिएको छ कि यसलाई काट्न अब सामान्य कैंचीले नहुने भएको छ । सामान्य कैचीले काट्न खोज्नेहरु त यहीं जालोमा बेरिनसमेत बेर लाग्दैनन् । यस्तो बिचित्रको जालोमा सोझासाझा नेपालीहरु सजिलै फसिरहेका छन्, ढडियामा माछा फसेजस्तो । अनि कैयन नेपालीहरुको जिन्दगी नै बर्बाद हुने गरेको छ यिनै दलालका कारण ।

इजरायल,पोल्याण्ड,युक्रेन र हंगेरीको बाटो हुंदै आर्थिक सम्पन्न मानिने युरोपियन देशहरुमा छिर्न खोज्ने नेपालीहरु दलालहरुको जालोमा फस्ने गरेका हुन् । यसरी फस्नेहरुमा इजरायलबाट बेल्जियम छिर्न खोज्ने नेपाली चेलीहरुको संख्या बढ्दै गइरहेको छ । र , दलालहरुका पहिलो शिकार पनि इजरायलबाट बेल्जियम छिर्न खोज्ने नेपाली चेलीहरु नै हुन् । नेपालबाट केयर गिभरको रुपमा काम गर्न इजरायल पुग्ने गरेका छन् कैयन नेपाली चेलीहरु । तर उनीहरु इजरायलमा सन्तुष्ट छैनन् । पैसाको मुख कालो हुन्छ भने जस्तै अझ धेरै पैसा कमाउने आशामा उनीहरु बेल्जियम छिर्नको लागि दलालको सहारा लिन पुग्छन् ।

हुन पनि दलालहरुले बेल्जियम छिराउने लोभ देखाएपछि उनीहरुमा आशा लाग्ने नै भयो । तर दलालहरुले त लोभ मात्र देखाउने गरेका छन् । उनीहरु नेपाली चेलीहरुको पैसा हसुर्छन् अनि बेपत्ता हुन्छन् । इजरायलबाट बेल्जियम छिर्नका लागि दलाललाई पैसा बुझाउने नेपाली चेलीहरु भने रिडी न अर्गली हुने गरेका छन् ।  दलालहरु रकम पचाएर सम्पर्कबिहिन हुने गरेपछि पीडितहरुले इजरायलमा बर्षौ लगाएर कमाएको पैसाबाट दलाललाई मस्ती हुने गरेको छ भने पीडितहरुको बेल्जियम पुग्ने सपना पनि हुरीले उडाउने गरेको छ । दलालहरुले बेल्जियम छिराउने भन्दै नेपाली चेलीहरुबाट ६ लाख नेपाली रुपैयासम्म असुल्ने गरेका छन् ।

इजरायलमा नै सकृय यस्ता नेपाली दलालहरुले बेल्जियम मात्र होइन, न्युजिल्याण्ड र स्पेन जस्ता देशमा छिराउने र कामको ग्यारेन्टी गराइदिने आश्वासन दिन्छन् । रकम नपाउदा सम्म उनीहरु निरन्तर सम्पर्कमा रहने गर्छन् । तर जब रकम हातमा पर्छ तब उनीहरु सम्पर्क विहिन हुने गरेको पीडितहरुको गुनासो छ ।

युरोप छिर्न खोज्ने नेपालीहरु जेलको छिंडीमा समेत पुग्ने गरेका छन् , दलालहरुकै कारण । केही समय पहिले रोमानिया छिर्न खोज्दा दुईजना नेपालीलाई रोमानियाको प्रहरीले हंगेरी र रोमानियाको सिमा क्षेत्रबाट पक्राउ गरेर जेल हालेको थियो । केही समय जेलमा राखेपछि उनीहरुलाई अब ५ वर्ष रोमानिया छिर्न नपाउने गरी नेपाल पठाइएको थियो ।
मोरङका दिलिप श्रेष्ठ र म्याग्दीका बलमान घर्तीमगर यसरी नेपाल डिपोर्ट भएका हुन् । उनीहरुले नेपालमा नै दलाललाई ६ लाख नेपाली रुपैया बुझाएका थिए रोमानिया छिर्नका लागि । तर दुईहप्ते टुरिष्ट भिसामा हंगेरी आएका उनीहरुलाई रोमानियामा लुक्न सफल भएनन्, बीचैमा पक्राउ परे । रोमानियाको सिमा क्षेत्रमा पक्राउ परेका उनीहरु अब ५ वर्षसम्म रोमानिया छिर्न नपाउने भएका छन् । कमजोर आर्थिक अवस्था भएका उनीहरुले अहिले नेपालमा नै निकै कठिन परिस्थीतिको सामना गरिरहेका छन् । उनीहरुमात्र होइन, यसरी युरोपमा कैयन नेपालीहरु पक्राउ पर्ने गरेका छन् । उनीहरुलाई त्यहाका सरकारले नेपालमा डिपोर्ट गर्दै आएका छन् ।
हंगेरी मात्रै होइन पोल्याण्डमा छिरेर त्यहांबाट बेल्जियम , स्पेन र फ्रान्स पुगेर लुक्ने नेपालीको जमात पनि ठूलै रहेको छ । यो सबै प्रपञ्च मिलाउने काम नेपाली दलालहरुले गर्दै आएका छन् । पोल्याण्डमा काम गर्ने भिसामा आएर त्यहां काम नगरी सिधै बेल्जियम आउन खोज्दा कैयन नेपालीहरु बीचैमा अलपत्र पर्ने गरेका छन् । दलालले बीचैमा छाडेपछि उनीहरु अलपत्र पर्ने गरेका हुन् ।
केही दिन अगाडिमात्रै पोल्याण्डको बाटो हुंदै बेल्जियम छिरेका गोबिन्द थापाले दलाललाई ८ सय युरो बुझाएका थिए । दलालले उनका केही साथीहरुलाई स्पेनपनि पठाएको उनले बताएका छन् ।

पोल्याण्डमा नेपालीहरुको यति बदनाम भएको छ कि पोल्याण्डको भिसा लगाएर अरु देशमा गैरकानुनी रुपमा छिर्न थालेपछि पोल्याण्ड सरकारले नेपालीहरुलाई भिसा दिनमा नै कडाइ गरेको छ । तर पनि दलालले अर्कै जुक्ति निकालेका छन् । दलालले नेपालीहरुलाई युक्रेनको बाटोहुंदै बेल्जियम छिराउने गरेका छन् ।

दलाललाई लाखौं बुझाएर करोडौं रकम कमाउने सपना बोकेर  युरोपियन देश रोमनिया छिर्ने नेपालिहरुको सपना सपनामै सिमित हुने गरेको छ । पछिल्लो समयमा दलाललाई ६ लाख सम्म रकम  तिरेर रोमानिया छिरेका नेपालीहरुको बिजोग हुने गरेको छ । उनीहरुले काम पाएमा त ३ सय डलरसम्म मासिक आम्दानी गर्छन् तर कामको अभावका कारण उनीहरुले कम्पनीले नेपाल फिर्ता पठाउन थालेपछि उनीहरुको बिजोग भएको हो ।
विगत दुइ दशकदेखि रोमनिया बस्दै आएका गैर आवसिय नेपाली संघ रोमनियाका अध्यक्ष् नवराज पोख्रेलका अनुसार नेपालीहरु तीन वर्षे भिसामा आउने गरेपनि कम्पनीले उनीहरुलाई कामको अभाव देखाउदै बीचैमा नेपाल पठाइदिने गरेको छ । जसका कारण झण्डै दुईसय भन्दा बढी नेपालीहरु अलपत्र परेका छन् । आएको रिन समेत तिर्न नसकेपछि कतिपय मानसिक रुपमा समेत विक्षिप्त हुने गरेका छन् भने कतिपय अर्को देशमा पलायन हुने गरेका छन् ।
यस्तो अवस्था आउदा पनि समस्या समाधानका लागि न त नेपाली दूतावासले नै पहल गरेको छ न त नेपाल सरकारले नै चासो देखाएको छ । पोखरेलका अनुसार धेरै नेपालीहरु दलालकोमाध्यमबाट रोमानिया आउने र गैरकानुनी रुपमा बेल्जियम र फ्रान्स समेत छिर्ने गरेका छन् । यसो गर्दा दलालहरुले कैयनलाई अलपत्र पार्ने गरेका छन् ।

No comments:

Pages