4/27/2011

पासपोर्ट किर्ते गर्नेदेखि होसियार

नेपाली राहदानीमा तस्बिर परिर्वतन गरी विदेशी नागरिकको तस्बिर टासेर विदेश पठाउन सक्रिय समुहका ६ सदस्य पक्राउ परेका छन् । पद्मोदय मोडमा रहेको डोकोरेशन ह्युमन एजुकेशन कन्सल्टेन्सीमा छापा मारेर राहदानीको तस्बिर परिर्वतन गर्दागर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरोले थप अनुसन्धानका लागि अभियुक्तहरूलाई काठमाडौं प्रहरी परिसर पठाएको छ । व्युरो अधिकारीका अनुसार पद्मोदयमोडस्थित साइनबोर्ड नराखेको फ्युटर एजुकेशनल कन्सल्टेन्सी प्रालि पुरानो नाम भई हाल नयाँ नाम डेकोरस ह्युमन सोर्सेज प्रालिमा राहदानीमाथि छेडछाड गरी दुरुपयोग गर्ने गरेको जानकारीका आधारमा प्रहरीले छापा मारेको थियो ।
छापा मार्दा झापा धाइजन–४ बस्ने दिककजंग आङदेम्बेको ४०४१८९९ नम्बरको राहदानीमा फोटो परिवर्तन गरी बसिरहेको अवस्थामा सञ्चालक महेश कार्की पक्राउ परेका छन् । प्रहरीले कार्कीसँगै काठमाडौं पेप्सीकोला बस्ने बेणीबहादुर खड्का, फुटुङ–४ बस्ने २६ वर्षीय आत्माराम केसी, मनमैजुका २८ वर्षीय सुमन रेग्मी, सामाखुशीका २८ वर्षीय अजय राउत र सितापाइलाका २८ वर्षीय धनबहादुर घलान समेत पक्राउ परेका छन् ।
प्रहरीले कन्सल्टेन्सीको कार्यालयवाट विभिन्न व्यक्तिहरूको फोटो परिवर्तन गरेको २३ थान राहदानी विभिन्न व्यक्तिहरूको राहदानी साइजको फोटोहरू, कम्प्युटर,स्क्यान मेशिन र बा२६प ८५९८ नम्बर तथा बा१२प १०९३ नम्बरका मोटरसाइकल बरामद गरेको छ । अनुसन्धान अधिकारीका अनुसार कार्की करीब एक महिना अगाडि बंगलादेशी नागरिकलाई बाराबाट नेपाली नागरिकता र राहदानी बनाई विदेश पठाउने प्रयास गरेको अभियोगमा पक्राउ परेका अभियुक्त हुन् । उनलाइ किर्ते मुद्धामा प्रहरीले हाजीर जमानीमा रिहा गरेको थियो ।
उता, व्युरोकै प्रहरीले २३ जना व्यक्तिको नाममा पर्सा तथा रौतहट जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नक्कली नागरिकता बनाउने पर्सा जिल्ला वीरगञ्ज नगवा बस्ने रौतहट रघुनाथपुरका २२ वर्षीय प्रदीपकुमार रस्तोगीलाई वीरगञ्जबाट पक्राउ गरेको छ । अनुसन्धानबाट उनले नागरिकता ऐन तथा बैंकिङ कसुर ऐन अनुसारको अपराध गरेको खुल्न आएकाले अनुसन्धान जारी राखेको व्युरोले जनाएको छ ।
यसैबीच,सभासद्का रातो पासपोर्ट दुरुपयोग गरी दुई जनालाई विदेशमा पठाउने अध्यागमनका एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । सभासद् गायत्री शाह र विश्वनाथप्रसाद यादवको पासपोर्ट दुरुपयोगमा सघाउ पु¥याउने अध्यागमनका अधिकृत भूमिनन्द भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
साभासद्द्वयको पासपोर्ट प्रयोग गरेर अबुधाबी पुगी फर्केका दुई नेपालीलाई भण्डारीले पासपोर्टमा छापसमेत नलगाई पठाएको अनुसन्धान व्यूरोका प्रमूख प्रहरी उपरीक्षक राजेन्द्रसिंह भण्डारीले बताउनुभयो । पक्राउ परेका भण्डारीले आफ्नो गल्ती स्वीकारिसकेको बताउँदै व्यूरोले थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी परिसरमा पठाएको जानकारी दिनुभयो ।

No comments:

Pages