कर्तव्य ज्यानसम्बन्धी मुद्दा खेपिरहेका धनकुटाको छिन्ताङ(६ साँम्बू गाउँका एकलव्य राई कारागार प्रशासनको मिलोमतोमा फरार भएको हुनसक्ने स्रोतले जनाएको छ । धनकुटा कारागार शाखाबाट हत्कडीसहित फरार भएको सात दिन बित्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । अण्डकोष र आँखा दुखेको भनेपछि उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको बेला बैशाख ६ गते उनी फरार भएका थिए । राईले भाग्नका लागि महिनौंदेखि योजना बनाएको र कारागार प्रशासनको मिलोमतोमा आफन्तसँगको भेटघाटलाई पनि तीब्र पारेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार फरार हुनुअघि उनले आफन्तलाई १२ पटक जति भेटेका थिए । राईलाई मुद्दा पेशीको लागि जिल्ला अदालतमा बयान लिन कारागार प्रशासनले गत चैत्र १३ गते हाजिर गराउनु भन्दाअघि भेट्न आउने बहानामा उनका बाबु गिरभक्त राईले ४० हजार र अन्य आफन्तले १ लाख रूपैयाँ गोप्यरूपमा दिएको स्रोतको दावी छ ।
कैदी भेट्न आउने हाजिरी पुस्तिकाको रेकर्डअनुसार चैत्र ११ गतेदेखि २८ गतेसम्म विभिन्न मिति र समयमा १२ पटकसम्म उनको बाबु र आफन्तले भेट गरेका थिए । राईलाई आफन्तले एकै दिनमा तीनपटकसम्म भेटेको स्रोतले दावी गरेको छ ।
राई फरार हुने दिन गत मङ्गलबार बिहान कारागार प्रशासन प्रमुख नरेन्द्र आचार्यले उनलाई आफ्नो कार्यकक्षमा बोलाएर कुराकानी गरेको पुष्टी भएको छ । आफन्तले पैसा ल्याएर दिएको बारे भने थाहा नभएको उनले बताए । कारागार शाखामा रहेको राईको फायल र अस्पतालमा अण्डकोष र आँखा उपचार गराएको डाक्टरको पुर्जी हेर्न माग्दा पनि आचार्यले देखाउन मानेनन् ।
ुराईलाई छोटो अवधिमा लगातार धेरैपटक आफन्तसँग भेट्न दिनु, कारागार प्रशासन प्रमुखले पटकरपटक स्वास्थ्य जाँचका नाममा आउट पास दिएर अस्पताल पठाउनु, कैदी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूसँगै बसेर एउटै होटलमा चियानास्ता खानुले घटना सुनियोजित छ’ विश्वस्त स्रोतले भन्यो ।
कैदी राई फरार भएपछि ड्युटीमा खटिएका प्रहरी हवल्दार टीका सोनाम र जवान हर्क तामाङलाई निलम्वन गरी हिरासतमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घटनाको विषयमा कारागार प्रशासन ऐनअन्तर्गत कार्वाही प्रक्रिया अघि बढिरहेको र छानविन समितिले पनि आवश्यक अनुसन्धान गरिरहेको जनाए ।
No comments:
Post a Comment