सप्तरी । सम्बन्धित निकायको उपेक्षाका कारण सदरमुकाम राजविराजस्थित राज रङ्गशाला अहिले सुँगुर चरण र शौचालयमा परिणत भएको छ । विसं।२०३६ मा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र स्थानीय बासिन्दाको सहयोगमा निर्माण गरिएको सो रङ्गशाला सम्बन्धित निकायको बेवास्ताका कारण दुर्गन्धित र जीर्ण बनेको हो ।
दुई बिघा सात कठ्ठा १३ धुर क्षेत्रफलमा फैलिएको रङ्गशालाको पर्खाल ठाउँठाउँमा भत्केका कारण बटुवालाई दिशा–पिसाब गर्न सजिलो भएको छ भने सुँगुरलाई पनि आहारका लागि चरण गर्ने थलो बनेको छ । पर्खाल भत्किएकै कारण बटुवा मात्र होइन नजिकै रहेको बसपार्कबाट यात्रु र स्थानीय बासिन्दाले समेत मैदानलाई शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् ।
समय–समयमा विभिन्न राजनीतिक दलको सभा र कार्यक्रमका कारण मैदानभरि दर्जनौं खाल्टाखुल्टी बनेका छन् । एक त फोहोर र दुर्गन्धित मैदान, अर्कोतिर ठूल्ठूला खाल्टाखुल्टीले खेलाडीहरू जोखिमपूर्ण अवस्थामा अभ्यास गर्न वाध्य भइरहेको फुटबलका अन्तरराष्ट्रिय खेलाडी जीवन श्रेष्ठ बताउनुहुन्छ ।
सात हजार दर्शक अटाउने क्षमता रहेको रङ्गशालाको प्याराफिट अति जीर्ण भएकै कारण अहिले दुई हजार दर्शकसम्म बस्दा पनि ठूलो दुर्घटना हुने सम्भावना रहेको उहाँको भनाइ छ । प्याराफिटमुनिको १५÷२० वटा कोठाहरू स्थानीय विपन्न समुदायका व्यक्तिहरूले प्रयोग गरिरहेका छन् । त्यसमध्येकै कतिपय व्यक्तिले रङ्गशालाभित्रकै एक कुनामा सुँगुर पालन गर्न थालेपछि खेलाडीहरू थप चिन्तित भएका छन् । रङ्गशालाको बढ्दो अतिक्रमण रोक्ने निकाय जिल्ला खेलकुद विकास समितिको एकल प्रयास मात्र पर्याप्त नभएकाले अन्य निकायमा आग्रह गरिएको जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख लक्ष्मण मण्डलले बताउनुभयो ।
रङ्गशालाको दयनीय अवस्थाप्रति कुनै निकायले ध्यान दिन नसक्दा जिल्ला खेलकुदको भविष्य अन्धकारमय भएको फुटबलका सहायक प्रशिक्षक राजकुमार परियार बताउनुहुन्छ । रङ्गशाला शौचालयको रूपमा परिणत हुन थालेपछि बढेको दुर्गन्धले कतिपय खेलाडीहरूलाई अभ्यास गर्नमा समेत हतोत्साही पारेको परियारको दुःखेसो छ । जिल्लामा खेलकुद मन्त्री आउँदा जीर्ण रङ्गशाला मर्मत तथा फोहर व्यवस्थापनका लागि अविलम्ब पहल गर्ने आश्वासन दिँदै आएपनि आश्वासन बाहेक केही नपाइएको फुटबलका पूर्व खेलाडी सीताराम चौधरीले बताउनुभयो ।
उपयोगविहीन बन्दै गएको राज रङ्गशाला शौचालयको रूपमा मात्र होइन, यौन क्रिडास्थलको रूपमा समेत परिणत हुन थालेको क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्रनाथ सिंहको भनाइ छ । रातपरेपछि केही आपराधिक चरित्रका व्यक्तिहरू यहाँ आएर लागु औषध सेवन गर्ने र वेश्याहरू ल्याएर यौनक्रियामा लिप्त हुने गरेको सिंहको भनाइ छ । रङ्गशाला जीर्ण भएकै कारण यहाँ विगतमा झै ठूल्ठूला प्रतियोगिताहरू हुन छाडेका छन् । रङ्गशालामा देखिएका समस्या समाधानका लागि आफू प्रयत्नशील रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल बताउनुहुन्छ ।
No comments:
Post a Comment