रामेछाप । जेठ ३ गते, देश विदेशमा शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइँदै थियो । तर नेपालकै एउटा समुदाय भने त्यही दिन बली दिएर आफ्नो देवाली –दिपावली) गर्न व्यस्त थियो ।नेपालका खप्तडी बस्नेतहरु त्यही दिन बली दिने मात्र होइन बली दिएको बोकाको काँचो रगत घलघली पिइरहेका थिए । आफुलाई नेपालको आदिवासी र प्रकृतिपूजक मान्ने रामेछापको ठोसे, रस्नालु, बाम्ती, प्रीति, चुचुरे, गुम्देललगायतका गाविसमा बसोबासरत खप्तडी बस्नेत मात्र होइन, केसी, नेवार, कार्कीलगायत पनि आफ्नो कुलपुजामा बली दिइरहेका
थिए । बस्नेत अर्थात बस्ती बसाउने जाति, राजा भोटुसिंह (बस्न्यात) बस्नेतका सन्तान बताउने खप्तडी बस्नेतहरुको कुलपुजा अर्थात देवाली हरेक तीन तीन वर्षमा हुने गरेको छ। बस्नेतहरुले गर्ने देवाली प्रकृति पुजा र आफ्नो पुर्खा सम्झने परम्परा हो । बस्नेतहरु यहाँका आदिवासी भएकाले अन्य आदिवासीझैं हरेक ६ महिनामा बाली लगाउने र भित्राउने बेला प्रकृतिको पुजा गर्ने गर्दछन्, जसलाई गोठधुप भन्ने गरिन्छ । हरेक ६ महिनामा गोठधुप गरे पनि हरेक तीन वर्षमा देवाली गर्ने परम्परा परापूर्वकालदेखि चलिआएको उनीहरुको भनाइ छ ।
खप्तडी बस्नेतहरुका अनुसार कुलपुजा विशुद्ध पुर्खाको स्मरण हो, जसलाई कुलका नामले पुकार गरिन्छ । कुलले बली खाँदैनन् । तर, कुलका वरपर देवी देवताको बास हुने विश्वासका साथ बली दिने र उनका धामीहरुले भोग खाने गर्दछन् । प्रकृति नै हाम्रो भगवान हुन्, यी निराकार हुन्छन् भन्नेमा विश्वास राख्ने खप्तडी बस्नेतहरु नेपालका पश्चित क्षेत्रबाट पूर्वतिर आएको विश्वास गर्दछन् । कुलपुजामा बली दिने र भोग खाने विषयमा विगत लामो समयदेखि बहस र छलफल भए पनि बली नलिदा भाइमा हानी भएपछि बली दिने कार्यलाई निरन्तरता दिएको उनीहरुको भनाई छ। सबैले मानेको बुद्धजयन्ती र जीव हत्या रोक्ने विषयमा पनि व्यापक छलफल भए पनि परापूर्वकालदेखि बली दिने र भोग खाने गरिएकाले यसलाई रोक्न नसकिएको उनीहरु बताउँछन्. । बली नदिने र भोग नखाने विषयमा छलफल गर्दा बली र भोगका विरुद्ध लाग्नेहरुको हानी भयो, त्यसपछि बली र भोगलाई निरन्तरता दिएको पेसाले शिक्षक सुर्य बस्नेत बताउछन् । जे भए पनि धर्म, संस्कृति आफ्नै हुन्छन् । नेपाल धर्म र साँस्कृतिक विविधताको थलो यसैले पनि भएको हो ।

परापूर्वकालदेखि चलेको संस्कृति नै हाम्रो सम्पत्ति हो । यसमा केही सुधारहरु हुन सक्लान् । तर पुरै छोड्ने हो भने हामी पुछारविनाको पशु हुने छौ भन्ने मान्यता त्यस भेगका बस्नेतहरुको छ। यो वर्ष रामेछापको ठोसे–७ मा गरिएको देवालीमा करिब १५० बोका बली दिइएको थियो भने वरपर ३ हजार हाराहारी बोका र भेडा बली दिइएको थियो । सो क्षेत्रमा बसोबास गर्ने किराँत राईहरुले चण्डी पर्वका अवसरमा बली दिदै आएका छन् भने अन्य जातिले देवालीका रुपमा हरेक तीन वर्षमा बली दिने र भोग खाने गरेका छन् ।
No comments:
Post a Comment