5/27/2011

वैदेशिक रोजगार बचतपत्र २०७३: खाडीमा चासो बढ्दो

दोहा– वैदेशिक रोजगारमा रहेका नेपालीजनप्रति लक्षित गरेर नेपाल राष्ट्र बैंकले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र २०७३’ खरिदविक्रीका लागि तोकिएको अन्तिम म्याद नजिकिँदै गर्दा यसप्रतिको चासो बढ्न थालेको छ । बचतपत्रप्रति अनभिज्ञ नेपाली पनि क्रमशः यसप्रति आकर्षित हुँदैछन् ।
बचतपत्रबारे विभिन्न जानकारीको अभावमा राष्ट्र बैंकको यो प्रयासमा लक्षित समुहको सहभागिता यसअघि अपेक्षाकृत कम देखिएको सरोकारवालाहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको ‘राष्ट्र ऋण व्यवस्थापन विभाग’द्वारा जारी नेपाल सरकारको यो ५ वर्षे बचतपत्र गत २७ चैत ९१० अप्रिल० बाट बिक्री खुला भएको थियो । यसको विक्री अवधी २३ जेष्ठ ९६ जुन० सम्म रहेको छ । यो बचतपत्र दक्षिण कोरिया, मलेसिया, संयुक्त अरव इमिरेट्स, साउदी अरेबिया र कतारमा रोजगारीमा संलग्न नेपाली नागरिकहरूको लागि जारी गरिएको हो ।
बचतपत्रको अद्र्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने तथा ब्याजकर लाग्ने गरी १० दशमलव ५ प्रतिशत वार्षिक ब्याजदर रहने राष्ट्र बैंकले सुचना गरेको छ । २६ जेठमा ५ अर्व रूपैयाँको बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले सुचनामा जनाएको छ । बचतपत्रको साँवा भुक्तानी भने २६ जेष्ठ, २०७३ मा हुनेछ ।
घटीमा पाँच हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पाँच हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकको रकममा बचतपत्र खरिद गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । बचतपत्रको फाराम राष्ट्र ऋण व्यवस्थापन विभागबाट तथा बिक्री एजेन्टबाट निःशुल्क रूपमा प्राप्त गर्न सकिने वा राष्ट्र बैंकको वेबसाइट धधध।लचद।यचन।लउ बाट पनि लिन सकिने जनाइएको छ ।
राष्ट्र बैंकले बचतपत्र विक्री गर्न ९ वटा बिक्री एजेण्टहरू तोकेको छ । नेपाल सरकारको केन्द्रिय बैंकबाट बचतपत्र विक्रीका लागि हिमालयन बैंक लिमिटेड, इन्टरनेशनल मनि एक्सप्रेस ९आइएमई० प्रालि, सेवा मनी ट्रान्सफर प्रालि, इन्सेन्टिभ मनि ट्रान्सफर प्रालि, प्रभु मनि ट्रान्सफर प्रालि, श्रमिक रेमिट कम्पनी प्रालि, प्रभु फाइनान्स कम्पनी लिमिटेडले इजाजत प्राप्त गरेका हुन् । यी एजेन्टहरूले बैदेशिक रोजगारीमा नेपाली कार्यरत रहेका ४ वटा मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारमा बचतपत्र विक्रि गर्नेछन् । इन्टरनेशनल मनि एक्सप्रेस आइएमई प्रालि, हिमालयन बैंक लिमिटेड र प्रभु मनि ट्रान्सफर प्रालिले कतार लगायत चारवटै मुलुकका लागि इजाजत प्राप्त गरेका छन् । सेवा मनी ट्रान्सफर प्रालि, श्रमिक रेमिट कम्पनी प्रालि र प्रभु फाइनान्स कम्पनी लिमिटेडले कतारका लागि मात्रै इजाजत प्राप्त गरेका छन् भने इन्सेन्टिभ मनि ट्रान्सफर प्रालिले मलेसियाका लागि मात्रै बचतपत्रको इजाजत लिएको छ ।
बचतपत्र धितो राखी कर्जा लिन दिन पाइने, बचतपत्र अंकित मूल्यमा बैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिकहरूले आफ्नो वा आफ्नो परिवारका सदस्यको नाममा मात्र खरिद गर्न पाउने, यो बचतपत्र चाहेको बखत इजाजतपत्र प्राप्त बजार निर्माताहरूमार्फत बिक्री गर्न सकिने, तोकिएको ब्याजदरमा हरेक ६÷६ महिनामा आपूmलाई पायक पर्ने नेपाल राष्ट्र बैंक, इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा
वित्तीय संस्था एवं इजाजत प्राप्त बजार निर्माताहरूबाट ब्याज भुक्तानी लिन सकिने, खरिदकर्ताले रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको उपर्युक्त ब्याजदरले हुन आउने ब्याज रकम समेत भुक्तानी पाउने, बचतपत्र स्टक वा प्रमिशरी नोटको रूपमा खरिद गर्न सकिने लगायतका सुविधाहरू राष्ट्र बैंकले दिएको छ ।
रीतपूर्वक पेश नभई अस्वीकृत भएका दरखास्तको सम्बन्धमा जम्मा हुन आएको रकम बिक्री एजेण्टहरूबाट सक्कल निवेदन तथा कागजातहरू प्राप्त भएको मितिले ७ दिनभित्र बिनाब्याज सम्बन्धित बिक्री एजेण्टमार्फत निवदेकलाई फिर्ता गरिने राष्ट्र बैंकले सुचना गरेको छ । बिक्री खुला अवधिभित्र सम्पूर्ण रकम बिक्री नभई बाँकी रहन आएमा वा बढी बिक्री भएमा खुला बजार सञ्चालन समितिले निर्णय गरी आवश्यक व्यवस्था गर्ने राष्ट्र बैंकको स्पष्टोक्ति छ ।
सयम घर्कँदै जाँदा अन्तिम अवस्थामा भने वचतपत्रवारे सकारात्मक प्रतिकृया आएको सम्बद्व अधिकारीहरुले बताएका छन् । गत बर्षको राम्रो प्रभावपश्चात यस बर्ष पनि बचतपत्र विक्री अनुमति पाएको आइएमईका कतार प्रमुख जितेन्द्र पाण्डेले शुरुको अन्योलको परिस्थिति हाल निकै सहज बनेको बताए । ‘अहिले यसवारेमा धेरैले इन्फरमेशन पाइसकेका छन् र पछिल्ला केहि दिनमा निकै उत्साहजनक स्थिति देखिएको छ’ उनले भने– ‘यहाँका प्रशस्तै नेपालीहरू एवं संघसंस्थाहरूलाई फोनबाट पनि अवगत गराइएपछि अहिले धेरैले इच्छा र तत्परता देखाएका छन् ।’ धेरै नेपालीहरूलाई सहि समयमा जानकारी गराउन सकेको खण्डमा सोचेजस्तो सफलता हात पार्न सकिने विश्वास उनले ब्यक्त गरे । ‘हाम्रो विक्रि उत्साहजनक छ’ पाण्डेको भनाई थियो– ‘अझै समय रहेकोले थप नेपालीजनलाई सहभागी गराउन सहयोग पुग्ने आशा छ ।’ पाण्डेले सो म्याद अझै थप्न सकेको खण्डमा निकै राम्रो विक्री हुने सुझाव पनि दिए । कतारमा आइएमईका कर्मचारीहरूलाई बचतपत्रकावारेमा पुर्णरुपमा जानकारी गराइएको र उनीहरूले बचतपत्र खरिद गर्न चाहने नेपालीजनलाई सुसुचित गराइरहेको उनले बताए । ‘यसपाली बचतपत्रवारे जिज्ञासा राख्नेहरूको उल्लेखनीय बृद्वि देखिएकोले अवको २ साता खरिदविक्रीमा तिव्रता आउने संकेत मिलेको छ’ पाण्डेले भने ।
श्रमिक रेमिट कम्पनीका प्रेसिडेन्ट तारा मंगोलले बचतपत्रले राष्ट्रिय आत्मविश्यासको जग दरिलो बनाउने उल्लेख गर्दै बचतपत्र जारी गर्नुपूर्व यथेष्ट गृहकार्य भने नभएको बताए । ‘अब मातृभूमी प्रेमको साँचो परिक्षा हाम्रो अगाडि खडा छ’ उनले भने– ‘यो बर्ष गत बर्षको तुलनामा केहि राम्रा परिवर्तन थपिएका छन् । तर यथेष्ट गृहकार्य चाहिँ हुन नसकेकै हो ।’ बचतपत्र बेच्नको लागि मान्यता प्राप्त संस्थाहरु श्रमिकहरुको क्याम्प क्याम्पहरुमा पुग्न सक्छन् त ? भन्ने चिन्ता ब्यक्त गर्दै उनले भने– ‘अधिकांश मनि ट्रान्सफर कम्पनीहरुको कतारमा कुनै कार्यालय नै हुँदैन । त्यसैले उनीहरु केवल एक, दुई जना कर्मचारीको भरमा यो ब्यवसायमा रमिरहेका हुन्छन् । यसले गर्दा लक्षित वर्ग उपक्षित रहन जाने हुन्छ ।’ बैदेशिक रोजगार बचतपत्रको बारेमा प्रचार प्रसार हुंदै नहुनु अर्को कमजोर पाटो रहेको उनले बताए । ‘बास्तबमा भन्ने हो भने त प्रिन्ट मिडिया वा विद्युतिय मिडियाहरुको अलावा यसबारेमा जनचेतनामुलक कार्यक्रमहरुको आवश्यकता तड्कारो देखिन्छ’ उनले भने ।
गत बर्ष पनि राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र २०७२’ जारी गरेको थियो । आशातित सहभागिता हासिल गर्न नसकेपनि गत बर्षको स्थिति उत्साहजनक रहेको बताइएको छ । रकम पठाउँदा सेवाशुल्क साविक बमोजिम लाग्ने कतारस्थित एजेन्सीहरूले जनाएका छन् ।
दीपक पौडेल

No comments:

Pages