5/25/2011

मानव तस्कररूको अखडामा तालाबन्दी

असनको छाड साँढेजस्तो बनेका मेनपावरहरूलाई तह लगाउन सरकारले नयाँ योजना अघि सारेको छ । सरकारले मेनपावर कम्पनीका शाखा कार्यालयहरु बन्द गर्ने तयारी गरिरहेको छ ।
शाखा कार्यालयबाट ठगीका घटनाको उजुरी बढेपछि बन्द गर्न लागिएको हो । वैदेशिक रोजगार विभागले शाखा कार्यालय बन्द गर्न श्रम मन्त्रालयमा प्रस्ताव राखेको र यसप्रति श्रम मन्त्री मोहम्मद इफ्तियाद राई सकारात्मक रहेको स्रोतले बतायो ।
‘शाखा कार्यालयहरुले विभागबाट स्वीकृति लिंदाको भन्दा दोब्बरसम्मको तलब देखाई स्थानीय पत्रपत्रिका र एफएमहरुमा विज्ञापन प्रकाशन प्रसारण गर्ने गरेको र निःशुल्क भिसामा समेत लाखौं रकम उठाएको उजुरी परेपछि बन्द गर्ने प्रस्ताव गरिएको हो,’ स्रोतले भन्यो । स्रोतका अनुसार शाखाबाट हुने यस्ता घटना रोक्न बारम्बार मेनपावर कम्पनीहरुलाई आग्रह गर्दा पनि उनीहरुले बेवास्ता गरेपछि सरकार शाखा कार्यालय बन्द गर्ने निश्कर्षमा पुगेको हो ।
त्यस्तै, शाखा कार्यालयहरुले  मनोमानी रुपमा नियुक्त गरेका एजेन्टहरुले गाउँ गाउँमा गएर सोझासाझा बेरोजगार युवाहरुलाई झुठो आवश्वासन दिई ठग्ने गरेको पाइएको र यसप्रति मेनपावर कम्पनी दिनप्रतिदिन गैर जिम्मेवार बन्दै गएकाले शाखा खोल्न बन्देज लाउनुपर्ने अवस्था सिर्जना भएको स्रोतको भनाई छ ।
हाल कतिपय मेनपावर कम्पनीका शाखाहरुले  स्थानीय सञ्चार माध्यममा झुठो माग र तलब संख्या देखाई खुलेआम ठगी गरीरहेका छन् र वैदेशिक रोजगार विभागमा पर्ने उजुरीहरुमा पनि शाखा कार्यालयबाट भएका ठगीको उजुरी बढी रहेको छ । 
सरकारले शाखा कार्यालय बन्द गर्न लागेकोप्रति मेनपावर व्यवसायीहरुले भने आपत्ति जनाएका छन् । ‘यदि ठगीका घटना बढेको हो भने विभागले अनुगमन गर्नुपर्छ र दोषी उपर कारवाही गर्नुपर्छ, शाखा बन्द गर्दैमा समस्या समाधान हुने होइन यसले झन् अर्को समस्या निम्ताउँछ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका एक सदस्यले भने ।
विभागका फितलो अनुगमन र वैदेशिक रोजगार व्यवसायका नाममा ठग्ने गिरोहका कारण शाखा कार्यालयबाट हुने ठगीका घटना वृद्धि भएको हो ।

No comments:

Pages