5/25/2011

मानवतस्कर विभागमा सरुवा आतंक

नयाँ मन्त्री आउने बित्तिकै उसले आफ्ना मातहतका विभागलाई बाउको बिर्ता नै सम्झिन्छ र आफ्ना भरौटे भर्ति गर्न अनेकौ बितण्डा मचाउँछ ।
मन्त्रीले आफ्ना हनुमानहरू घुसाउन मच्चाउने सरुवा आंतकको शिकार धेरै कर्मचारी हुन्छन् । मन्त्रीदेखि पियनसम्मले लुटेर खाने विभाग भनेर कुख्याती कमाएको वैदेशिक रोजगार विभाग पनि अहिले त्यहि सरुवा आतंकको मारमा परेको छ । श्रम मन्त्री मोहम्मद इफ्तियार राईले विभागका १७ नासु र १० अधिकृतको सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका छन् । विभागमा सरुवा गराइदिने आश्वासन बाँडेर धेरै कर्मचारीसँग रकम असुलेका मन्त्रीलाई सामान्य प्रशासनले जेठ १४ सम्म सरुवा नगर्नु भन्दै जवाफ पठाएपछि अहिले श्रम र सामान्य प्रशासनबीच जुहारी चलेको छ ।
मन्त्रीले सपथ लिए लगत्तै अब कुन चाँही कुनामा परिने हो भन्ने त्रासमा रहेका विभागका कर्मचारीहरुलाई सामान्य प्रशासनले भने केही  राहत दिएको छ । यसपटक संविधान सभाको म्याद थप्ने नथप्ने विवादमा दलहरु अल्झिएका कारण सरकार संकटमा परेकाले विभागका कर्मचारीहरुको सरुवा भइने डरमा केही दिनका लागि पूर्णविराम लागेको हो ।
मानवतस्करहरूसँगको साँठगाँठमा गरिब नेपाली कामदारलाई लुटेर खान पल्किएका विभागका केही कर्मचारीहरू त मन्त्रीकहाँ आफ्नो सरुवा थमौतीको बिन्तीपत्र चढाउन दक्षिणा भेटी सहित पुगेका छन् । आम नेपाली माझ मानवतस्कर विभाग उपनामले चिनिने बैरो विभाग अहिले छोटी भन्सारको रूपमा चिनिन्छ र यहाँ सरुवा हुन मन्त्रीका घर दैलोमा हजुरी चढाउनेहरूको लाम लागेको हुन्छ ।

No comments:

Pages