कुवेत । कुवेत सरकारले गैरकानूनी रुपमा रहेका विदेशी कामदारहरुलाई आफ्नो मुलुक फर्कन खोलेको एम्नेष्टीको समय अब एक महिना मात्र बाँकी छ ।
देश फर्कनका साथै गैरकानूनी कामदारहरुले कुवेत सरकारबाट तोकिएको मापदण्ड पुरा गरेर पुनः भिषा लगाई काम गर्न सक्ने सुबिधा पनि कुवेत सरकारले दिएको छ । तर, गैरकानूनी रुपमा रहेका नेपाली कामदारहरुले एम्नेष्टीको खासै सदुपयोग गरेको पाइदैन । कुवेतमा झण्डै ६५ हजार नेपाली कामदार कार्यरत छन् र यसमा २० हजार भन्दा बढीको हाराहारीमा गैरकानूनी रुपमा रहेको एक अनौपचारिक तथ्यांकले देखाउँछ ।यस अघि पनि एम्नेष्टी खुलेको कुवेतमा दूतावास नभएका कारण कामदारले त्यसको उपयोग गर्न पाएका थिएनन् तर यसपटक दूतावासको आगमनसँग कामदारहरुले एम्नेष्टीको सदूपयोग गर्दै स्वदेश फर्कने वा कुवेतमा कानूनी हैसियतमा काम गर्ने अपेक्षा गरिएको थियो । दूतावासको स्थापना भए पनि अपेक्षा गरिए अनुसार गैरकानूनी बसेका नेपालीहरुले एम्नेष्टीको सदुपयोग गरेका छैनन् । दूतावासले हालसम्म २६ सय नेपालीले ट्राभल डकुमेन्ट लिएको जानकारी दिए पनि कति नेपाली फर्किए भन्ने तथ्यांक भने दिन सकेको छैन । एम्नेष्टीप्रति नेपालीको त्यति वास्ता नहुनुमा दूतावासको कमजोरी रहेको विज्ञहरुको धारणा छ । उनीहरुका अनुसार दूतावासले एम्नेष्टीको विषयमा कामदारहरुलाई बुझाउन नसक्नाले नै गैरकानूनी बसेका नेपालीहरु फर्कन नचाहेका हुन् । तर, दूतावास भने आवश्यक जनशक्तिको अभावमा कामद गर्न नसकेको भन्दै साधनस्रोतले भ्याएसम्म काम गरेको बताउँछ । मुलुकमा व्याप्त बेरोजगारी समस्याका कारण पनि नेपालीहरु स्वदेश फर्कन चाहदैनन् । ‘देशमा काम छैन बरु ईलिगल बसेर भए पनि अलि अलि कमाई हुन्छ भन्ने धारणा छ त्यसैकारण धेरैलाई एम्नेष्टीको मतलब नै छैन,’ दूतावासका एक कर्मचारी भन्छन् । एम्नेष्टीमा स्वदेश फर्कन डकुमेन्ट बनाउनेहरुको दूतावासमो घुईंचो नै लागेको हल्ला दूतावासले फिजाएको छ तर२० हजार भन्दा बढी गैरकानूनी नेपाली कामदार रहेको यर्थाथ भने बिर्सिएको छ । यसपटक लामो समयसम्म गैरकानूनी कामदारहरुलाई कुवेतबाट बिना कुनै सजाय जाने मौका दिएको कुवेत सरकारले यदि यो अवसरलाई पनि उल्लघन गरी फेरि गैरकानूनी रुपमै रहेको खण्डमा कडा कारवाही गर्ने चेतावनी दिईसकेको छ । बंगलादेश, भारत, नेपाल र श्रीलंका लगायत धेरै देशका कामदार कुवेतमा गैरकानूनी रुपमा रहेका छन् ।
No comments:
Post a Comment