5/23/2011

लथालिंग विमानस्थल, चकाचक हाकिम

चार वर्षअघि तत्कालीन पर्यटन सचिव लीलामणि पौडेलले त्रिभुवन विमानस्थल भौतिक सुधारका लागि फोर–टीको बतिअवधारणा अघि सारेका थिए।
त्यसयता त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले यसको व्यवस्थापनमा चासो दिए पनि पछिल्ला चार महिनादेखि विमानस्थलको फोर–टी अस्तव्यस्त बनेको छ। फोर टी भनेको ट्याक्सी, ट्वाइलेट, टेलिफोन र ट्रलीको सुधार गर्नु हो। जबसम्म विमानस्थल व्यवस्थापनले यसमा ध्यान दिँदैन, तबसम्म विमानस्थलको सुधार नहुने बताइन्छ।
चार महिनाअघि विमानस्थल कार्यालयका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन एयरपोर्ट गएपछि विमानस्थलको अवस्था दर्दनाक हुँदै गएको हो। महाप्रबन्धक बनेको सुरुका दिनमा ुफोर टीु कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए पनि त्यसको कार्यान्वयन अहिले हुनसकेको छैन। महाप्रबन्धक रतिशको गैरजिम्मेवारीका कारण ट्वाइलेट दुर्गन्धित मात्र बनेको छैन, महिला ट्वाइलेटमा चुकुल र बत्तीसमेत छैन। त्यस्तै ट्याक्सीहरूसमेत पुरानो मात्रै छन्। जसका कारण एयरपोर्ट कुरुप बनेको छ। ट्याक्सी र ट्वाइलेट मात्र होइन, ट्रलीसमेत बिग्रिएको र काम नलाग्ने अवस्थामा छन्। भनेका बेला यात्रुले ट्रली पाउँदैनन्। तर ट्रली होल्डरहरूले भने यात्रुसँग पैसा लिने गरेका छन्। यसतर्फ पनि प्रबन्धक सुमनको ध्यान पुगेको छैन।
टेलिफोन पनि रिसिभरहरू बिग्रिएको अवस्थामा छन्। स्ट्रायल जोनको वास मेसिन काम नलाग्ने अवस्थामा छ। एकातिर विमानस्थलको यो अवस्था छ भने अर्कातिर महाप्रबन्धक सुमन ठेक्कापट्टा र यात्रु पास दुरुपयोग गरेर रकम जम्मा गर्न लागेको कर्मचारीहरू बताउँछन्। कमिसनकै लागि सुमनले विमानस्थलको ुभिजिटर डेु विमानस्थल नागरिक उड्डयन कार्यालयले कालोसूचीमा राखेका गोपाल रायलाई ३० लाखमा ठेक्का दिने तयारी गरेका छन्। भिजिटर डे १२ वर्षदेखि सुरक्षाका कारण बन्द अवस्थामा छ। बन्द हुनुभन्दा अघि वार्षिक पाँच लाख पर्यटकले अवलोकन गर्थे भने अहिले खुल्दा २५ लाख पर्यटकले अवलोकन गर्ने बताइन्छ। विमानस्थल नागरिक उड््डयन कार्यालयले रायसँग विमानस्थलमै यसअघि पसल कबल सञ्चालन गरेबापत ७० लाखभन्दा बढी रकम लिन बाँकी छ। स्रोतका अनुसार महाप्रबन्धक सुमनलाई रकम असुलीका लागि नाताले भान्जा पर्ने १० तहका देवचन्द्रलाल कर्ण र प्रशासन प्रमुख रामचन्द्र सुवेदीले साथ दिएका छन्। कर्ण र सुवेदीकै मिलेमतोमा सुमनले विमानस्थल सरसफाइका लागि ल्याएको आधा सामान बीच बाटैबाट गायब गर्ने गरेका छन्।
एकातिर नागरिक उड्डयन प्राधिकरणले ज्यालादारी कर्मचारी घटाउने योजना सार्वजनिक गरेको छ भने अर्कातिर महाप्रबन्धक सुमनले विमानस्थलमा पैसा लिएर आफूनिकटका व्यक्तिलाई कम्प्युटर अपरेटर, मेकानिक्स, इलेक्ट्रिसियन, माली, बगैंचेलगायतका ५० भन्दा बढी कर्मचारी नियुक्ति दिएका छन्। एयरपोर्ट मात्र हैन, सुमनले नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक रहँदा तत्कालीन मन्त्री शरतसिंह भण्डारीलाई प्रभावमा पारी विराटनगर, पोखरा, भैरहवा, जनकपुर, सिमरा, नेपालगन्ज र भरतपुरलगायतका विमानस्थलमा तीन दर्जनभन्दा बढी ज्यालादारीमा आफ्ना मान्छे राख्न सफल भएका थिए।
यसैगरी, महाप्रबन्धक सुमनले नागरिक उड्डयन प्राधिकरणको परिवहन भत्ता कटौती गर्ने निर्णयलाई समेत चुनौती दिएका छन्। प्राधिकरणले तहअनुसार १ तहदेखि १० तहलाई परिवहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। गाडी उपलब्ध गराउँदा मर्मत सम्भारमा बढी रकम खर्च हुने गरेकाले परिवहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ। तर महाप्रबन्धक सुमनले पदको दुरुपयोग गर्दै एउटा निशान कार, एउटा पजेरो र आवश्यकताअनुसार अन्य गाडीसमेत दुरुपयोग गर्ने गरेका छन्। कार्यालयकै खर्चमा उनले सो गाडी आफन्तलाई विराटनगर, जनकपुरलगायतका स्थानमा घुमाउन प्रयोग गर्ने गरेका छन्।
यसैबीच, पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा आफूनिकट दुईजनालाई मनोनीत गरेका छन्। मनोनीत हुनेहरूमा मकालु एयरलाइन्सका मनोज कार्की र पर्यटन व्यवसायी ज्योति अधिकारी छन्। अधिकारी यसअघि हिसिला यमीको पालामा पनि प्राधिकरणको बोर्ड सदस्य थिए।

No comments:

Pages