5/24/2011

लिबियाली डिनार बोर्डले साट्ने

हिंसाग्रस्त लिबियाबाट फर्केका कामदारले न्यायको लिबियाली डिनार वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सटही हुने भएको छ । बोर्डको बैठकले लिबियाली मुद्रा तत्काल साट्न सकिने अवस्था नरहेकाले कोषबाट दिने निर्णय गरेको कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले जानकारी दिनुभएको छ । देवकोटाको अनुसार डिनार साटिएपछि उक्त रकम कोषमा जम्मा गरिने छ भने नसाटिएमा सरकारले सोधभर्ना गर्नेछ ।
नेपाल राष्ट्र बैंकले लिबियाली डिनारलाई परिवत्र्य मुद्रा अन्तर्गत नराखेको र पछिल्लो समयमा संयुक्त राष्ट्र संघले पनि अन्य मुलुकमा नचल्ने घोषणा गरेका कारण कामदारले ल्याएको रकम राष्ट्र बैंकमा राखिएको छ । कामदारले ५९ रुपैयाँ प्रति दिनारका दरले रकम पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार १ करोड ५८ लाख रुपैयाँ कोषबाट झिकिने भएको छ ।
कामदारहरुले रकम नसाटिएको र क्षतिपूर्ति नपाएको भन्दै पटक–पटक मेनपावर कम्पनीहरुमा धर्ना दिइरहेका छन् । पीडित कामदारलाई राहत दिन सरकार र मेनपावर व्यवसायी सम्मिलित कार्यदल गठन भएपनि अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । सुरुमा लिबियाली मुद्रा साट्न आनाकानी गरिरहेको सरकारले व्यवसायीहरुको व्यापक दवाबपछि रकम साट्न तयार भएको हो । गत हप्ता बसेको मन्त्रीपरिषदको बैठकले हाललाई कोषबाट रकम  खर्चिने र रकम साटिएपछि सोधभर्ना गर्ने निर्णय गरेको थियो । सरकारले रकम साट्न तदारुकता देखाएपनि पीडितलाई राहत दिन बेवास्ता गरेको प्रति कामदारहरु रुष्ट बनेका छन् ।
लिबियाबाट फर्केका झण्डै २ हजार कामदार मध्ये आधा भन्दा बढि लिबिया पुगेको ६ महिना पनि नपुग्दै फर्किएका छन् । कामदारहरुले मेनपावर कम्पनीसँग २ वर्षको सम्झौता गरेर गएको र बीचैमा फर्किन परेकाले क्षतिपूर्तिका
माग गरिरहेका छन् भने व्यवसायीहरु आफूहरुले मात्र आर्थिक भार थेक्न नसक्ने भन्दै
सरकारले समेत जिम्मेवारी लिन पर्ने अडानमा छन् । तर, सरकार भने कुनै हालतमा आफू राहत दिन तयार छैन ।

No comments:

Pages