काठमाडौं । नेपाली राहदानीमा फोटो परिवर्तन गरी राहदानी दुरुपयोग गर्ने पाँच बंगलादेशीसहित एक नेपालीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले बागबजारबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बंगलादेशका २५ वर्षीय मो राना, ३९ वर्षीय बदिउल आलम, ४८ वर्षीय शुभनारायण चौधरी भनिने आब्दुल रसिद, ३४ वर्षीय सुमन भन्ने सिराजुल इसाम मुस्लमउदिन, २७ वर्षीय मो. साहदत्त र काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली बस्ने ३४ वर्षीय सनिजप्रसाद पौडेल छन् । पक्राउ परेकामध्ये रानाको साथबाट नुवाकोट मदानपुर–३ बस्ने रमेशरमण खनालको ३११२३० नम्बरको राहदानीमा फोटो परिवर्तन गरेको पाइएको र अन्य सबैजना भिसा सकिए पनि नेपालमा नै बसी नक्कली राहदानी बनाउन सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका पौडेलले महानगरपालिका–९ गौशालास्थित आफ्नै घरमा सञ्चालन गरेको बत्तीसपुतली साइबर एन्ड कम्प्युटरमा फोटो परिवर्तन गर्ने गरेको र साइबरबाट बंगलादेशीका दुई थान राहदानी सहित १० नेपाली नागरिकको फोटो परिवर्तन गरेको अवस्थामा राहदानी बरामद गरिएको थियो । ब्युरोले साइबरबाट कम्प्युटर, सिपियु, स्क्यानर, कलर प्रिन्टर, लेमिनेसन मेसिनसमेत बरामद गरी उनीहरूलाई सङ्कलित प्रमाण सहित महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंमा बुझाएको छ ।यसैगरी ब्युरो प्रमुख डिआइजी राजेन्द्रसिंह भण्डारीले महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमार्फत महानगरपालिका–२९ ठमेलका नसिम मोहम्मदको घरमा रवीन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेको आशा नेपाल ट्राभल्स एन्ड टुर्सबाट प्रहरीले ८५ थान राहदानी फेला पारेको जानकारी दिनुभयो । उक्त राहदानीमा समेत फोटो परिवर्तन गरिएको हुन सक्ने भएकाले ती बरामद गरिएका सामग्रीलाई महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौँमा बुझाइएको उहाँको भनाइ छ ।
No comments:
Post a Comment