लागूऔषधका तस्करहरुले अमेरिकामा लागूऔषधको जालो यसरी बिछ्याएका छन् कि यो जालोमा नेपाली विद्यार्थीहरु पनि फस्दै गइरहेका छन् । कसरी फस्दै गइरहेका छन् नेपाली विद्यार्थी ?
किशोर पन्थी
काठमाडौंका महेश वज्राचार्य (नाम परिवर्तन) सम्पन्न परिवारका व्यक्ति थिए । उनी अमेरिकाको बाल्टिमोरमा रहेको एउटा कलेजमा अध्ययन गर्न नेपालबाट आए । अरु कैयन नेपाली विद्यार्थीहरुलाई जस्तो आफै काम गरेर कमाएको पैसाले पढ्नुपर्ने बाध्यता थिएन, महेशलाई । उनका बाबुले छोराको पढाइका लागि नेपाली रुपैयाँ डलरमा रुपान्तरण गरेर पठाउन सक्थे । त्यसैले महेशले बाल्टिमोरमा आइसकेपछि कुनै काम गर्नुपरेन ।
अमेरिका आएको ६ महिनासम्म त उनी खुरुखुरु कलेज पनि गए । काठमाडौं छँदा गलत संगतका कारण गाँजा र चरेशको हल्का लत थियो उनलाई । अमेरिका आइसकेपछि सुरुका दिनमा उनलाई गाँजा र चरेशका लागि कुनै मेसो भएन । तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै बिस्तारै उनी गाँजा र चरेशको लतमा लागेकाहरुको संगतमा पुगे । सुरुसुरुमा हप्ताको एक–दुई दिन मात्र भए पुग्थ्यो, पछि हरेक दिन नभई नहुने भयो । नशामा लट्ठ परेर उनी बिस्तारै कलेज जान पनि छाडिदिए । घरबाट भने उनले विभिन्न बहानामा पैसा मगाइरहेकै थिए ।
घरमा छोरोले अमेरिकामा राम्रोसँग पढिरहेको छ भन्दै खुरुखुरु पैसा पठाइरहेका थिए, यता अमेरिकामा महेशको पढाइ झ्वाम भइसकेको थियो । उनको स्टाटस पनि गैरकानुनी भइसकेको थियो । लागूऔषधको कुलतमा फसेका उनलाई उम्कन सजिलो थिएन । पछि काठमाडौंमा भएका उनका परिवारले पनि सबै कुरा चाल पाएपछि पैसा पठाउन छाडिदिए । लागूऔषधको कुलतमा फस्दा महेशको जिन्दगी दिशाहीन भइसकेको थियो । पछि उनी बाल्टिमोरबाट टेक्सासतिर लागे भन्ने त सुनियो । तर, कता गए उनका साथीहरुलाई पनि थाहा छैन ।
तस्करको जालोमा नेपाली विद्यार्थी
महेश एउटा पात्र मात्र हुन् । अमेरिकामा अध्ययनको सिलसिलामा आएका कैयन नेपाली विद्यार्थीहरु लागूऔषधको दुव्र्यसनमा फसिरहेका छन् । अमेरिकन लागूऔषध तस्करहरुले अमेरिकाभरि लागूऔषध कारोबारको जालो फिजाएका छन् । अमेरिकामा बस्ने विश्वभरका युवाहरुलाई लागूऔषधको दुव्यर्सनमा फसाउन तस्करहरुले फिजाएको यस्तो जालोमा नेपाली विद्यार्थीहरु फस्दै गइरहेका छन् ।
नेपालमा हुँदा लागूऔषधको कुलतमा फसेकाहरु मात्र होइन, नेपालमा हुँदा लागूऔषध सेवन नगरेकाहरु पनि अमेरिकामा भने यस्तो कुलतमा फस्दै गइरहेका छन् । अमेरिकामा अध्ययनरत कैयन नेपाली विद्यार्थीका कारण अमेरिकामा नेपालीको शान बढिरहेको अवस्थामा लागूऔषधमा फसिरहेका विद्यार्थीका कारण भने नेपालीको साख गिर्ने गरेको छ ।
लागूऔषधका तस्करहरुसँग सम्पर्क बढाएर लागूऔषधको कुलतमा फसेका कैयन विद्यार्थीहरुको भविष्यसमेत अन्धकार बन्दै गइरहेको छ । न्युयोर्कमा अध्ययनरत एकजना नेपाली विद्यार्थीका अनुभवमा न्युयोर्कमा मात्र लागूऔषध दुव्र्यसनमा फसिरहेका विद्यार्थीको संख्या यति बढ्दै गएको छ कि नेपालबाट अमेरिका आउने नयाँ नेपाली विद्यार्थीहरु पनि यसको कुलतमा सजिलै फस्दैछन् । उनी भन्छन्– न्युयोर्कमा ३० प्रतिशत नेपाली विद्यार्थीहरु गाँजा वा चरेशको लतमा फसिरहेका छन् भने त्यसको १० प्रतिशत विद्यार्थीहरु अन्य लागूऔषधको लतमा फसिरहेका छन् ।
लागूऔषधका तस्करसम्म विद्यार्थीको पहुँच
लागूऔषधको दुव्र्यसनमा फसिरहेका नेपाली विद्यार्थीहरुको अमेरिकामा रहेका लागूऔषधका तस्करहरुसँग सिधा पहुँच रहेको छ । तर त्यस्ता तस्करहरु भने लागूऔषधको कारोबार गर्ने सबैभन्दा तल्लो तहका तस्करहरु हुन् । ती तल्लो तहका अमेरिकन तस्करहरुको उनीहरुभन्दा उपल्लो तहका लागूऔषधका तस्करहरुसँग मात्र सम्पर्क हुने गर्छ, जोसँग उनीहरु थोकमा लागूऔषध खरिद गर्दै आएका छन् । लागूऔषधको ओसारपसारमा संलग्नहरुसँग भने उनीहरुको सम्पर्क नहुने बताइन्छ ।
तिनै लागूऔषधको कारोबार गर्ने तल्लो तहका तस्करहरुसँग लागूऔषधको दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीहरुको सिधा सम्पर्क हुने गरेको छ । लागूऔषध बेच्ने त्यस्ता तस्करहरुको मोबाइल नम्बर दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीको मोबाइलमा नै सेभ हुने गरेको छ ।
विगत तीन वर्षदेखि अमेरिकाको न्युयोर्कमा बसेर लागूऔषध सेवन गर्दै आइरहेका एकजना नेपाली विद्यार्थी भन्छन्– प्रहरीको फन्दामा पर्नबाट जोगिनका लागि लागूऔषध बेच्नेसँग हाम्रो नम्बर साटासाट गरिएको हुन्छ । लागूऔषध सेवन गर्दै आइरहेका ती विद्यार्थीका अनुसार नयाँ नेपाली विद्यार्थीले लागूऔषध किन्नुपर्ने भएमा भने पुरानो ग्राहकसँग गएर लागूऔषधको कारोबार गर्ने तस्करसँग चिनाजानी गर्नुपर्ने हुन्छ ।
पुरानो ग्राहकसँग आएर विश्वासको वातावरण तयार पारिसकेपछि तस्करहरुले नयाँ ग्राहकको मोबाइल नम्बर सेभ गरेर राख्छन् । अनि अर्को पटकदेखि नयाँ ग्राहक एक्लै गएर पनि लागूऔषध किन्न सक्छ ।
कसरी किन्छन् नेपाली विद्यार्थीहरु लागूऔषध रु
दुव्यर्सनमा फसेका नेपाली विद्यार्थीहरु लागूऔषध कसरी किन्छन् भन्नेबारेमा गोप्य रुपमा अनुसन्धान गर्न जाँदा त्यसको सम्पूर्ण दृश्य देखिएको थियो, यो पत्रकारका अगाडि । यसको अनुसन्धान गरिएको थियो, न्युयोर्क क्वीन्समा रहेको लागूऔषधको दुव्यर्सनमा फसेका एकजना दुव्यर्सनीको कोठामा ।
विगत केही वर्षदेखि दुव्यर्सनमा फसेका उनको कोठामा सातामा दुई–तीन पटकसम्म नेपाली लागूऔषधका दुव्र्यसनीको जमघट हुने सूचनाका आधारमा त्यसको अनुसन्धान सुरु गरिएको थियो । दुई पटकसम्म प्रयास गर्दा पनि लागूऔषधका दुव्र्यसनीहरु जम्मा भएको समय परेन । तर तेस्रो पटकको प्रयासमा भने हामीले नेपाली विद्यार्थीले लागूऔषध कसरी किन्छन् भन्नेबारेमा पत्ता लगाउन सफल भयौं ।
गोप्य रुपमा दुव्यर्सनीको कोठा नजिकबाट सम्पूर्ण दृश्य नियाल्दा लागूऔषधको दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीहरुले कसरी लागूऔषध प्राप्त गर्छन् भन्ने कुराको रहस्य खुलेको हो ।
कलेजबाट बेलुकातिर कोठामा आएका ती विद्यार्थी कोठामा आइसकेपछि एकैछिन आराम गरे । केहीबेर ल्यापटपमा कुन्नि केके हेरिसकेपछि ती विद्यार्थीले ल्यापटप बन्द गरे । उनमा एक खालको बेचैनीजस्तो देखा परिरहेको थियो । शायद लागूऔषधको तलतलको कारणले हुनसक्छ । त्यसपछि उनले आफ्ना लागूऔषधका दुव्यर्सनी साथीलाई फोन गरे, शायद उनीहरुको पहिले नै भेटघाटको सल्लाह भइसकेको थियो । फोन गरेको केही समयपछि ती लागूऔषधका दुव्र्यसनी कारमा चढेर आए । उनका साथीमा अरु दुई जना केटाहरु पनि थिए ।
कोठामा अब चार जना भइसकेका थिए । त्यसपछि उनीहरुले लागूऔषधको कारोबार गर्दै आएका एक जना तस्करलाई फोन लगाए । शायद तस्करको मोबाइलमा उनको नम्बर सेभ भएका कारणले होला, उनीहरु चिरपरिचित जस्तै गरी कुरा गरिरहेका थिए । अंग्रेजी भाषामा कुरा भइरहेकाले लागूऔषधको विक्री गर्ने व्यक्ति अमेरिकन हो भन्ने कुराको सहज अनुमान लगाउन सकिन्थ्यो ।
फोनमा कुरा भइसकेपछि तस्करले दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीलाई कुनै निश्चित स्थानमा बोलायो । त्यसपछि दुई जना केटाहरुलाई अपार्टमेन्टमा नै छाडेर दुई जना केटाहरु बाहिर निस्के । अनि अगाडि चढेर आएको कारमा हुइँकिए । उनीहरुको गाडी कता जान्छ भनेर फ्लो गर्दै जाँदा गाडी सन्नीसाइडको एउटा बिल्डिङ अगाडि रोकियो । एकजना केटा गाडीमा नै बस्यो भने अर्को एकजना गाडीबाट बाहिर निस्कियो ।
गाडीबाट बाहिर निस्कनासाथ उसको एकजना अमेरिकन मूलका अधवैंशे व्यक्तिसँग भेट भयो । तिनै थिए लागूऔषध उपलब्ध गराउने लागूऔषधका तस्कर । पहिलेपहिले पनि आउने गरेकाले होला उनीहरु परिचित जस्तै कुरा गरिरहेका थिए । नेपाली विद्यार्थी केटोलाई त्यो अमेरिकन मूलको व्यक्तिले आफ्नो अपार्टमेन्टभित्र लग्यो । अनि भित्र पुगेर लागूऔषध किनिसकेपछि ती नेपाली विद्यार्थी गाडीमा चढेर फर्किए ।
यसरी निर्वाध रुपमा भइरहेको थियो, लागूऔषधको कारोबार । त्यहाँ न कसैको डर देखिन्थ्यो न कुनै बाधा अवरोध । निर्धक्कसँग लागूऔषध किनेर कोठामा फर्किएपछि चारैजना विद्यार्थी मिलेर लागूऔषधको नशामा लट्ठिए । यसरी सम्पूर्ण दृश्यको गोप्य तरिकाले फ्लो गरेपछि दुव्र्यसनमा फसिरहेका नेपाली विद्यार्थीले कसरी लागूऔषध किन्ने गर्छन् भन्ने कुराको रहस्य खुलेको हो ।
लागूऔषधको बेचबिखन हुने स्थल
लागूऔषधका तस्करहरुसँग सम्पर्क भइसकेपछि दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीहरु धेरैजसो त तस्करहरुले कारोबार सञ्चालन गरिरहेका अपार्टमेन्टमा नै पुगेर लागूऔषध किन्ने गर्दछन् । तर, कहिलेकाहीँ तस्करहरुले पूर्णरुपमा विश्वस्त नभएको अवस्थामा आफू बस्ने अपार्टमेन्ट देखाउँदैनन् ।
उसो त लागूऔषधका कारोबार गर्ने अमेरिकन तस्करहरुले आफू बस्ने अपार्टमेन्ट पनि बेलाबेलामा परिवर्तन गर्ने भएकाले फोनमार्फत किन्ने स्थान तय हुने बताउँछन्, विगत लामो समयदेखि लागूऔषध सेवन गर्दै आएका एकजना नेपाली विद्यार्थी । त्यो बाहेक लागूऔषधको कारोबार गर्नेहरुले नेपाली ग्राहक दुव्र्यसनीहरुलाई पार्क, एकान्तस्थल वा अन्य कुनै पनि ठाउँमा बोलाएर लागूऔषध बेच्ने गरेको रहस्य खुलेको छ ।
यसरी लागूऔषधको बेचबिखन गर्ने काममा अमेरिकन, मेक्सिकन वा अरु जो–कोही पनि संलग्न रहेका छन् । एकजना विद्यार्थी भन्छन्– मेक्सिकन र अमेरिकन कालाहरु लागूऔषधको बेचबिखनमा बढी संलग्न रहेको भनिए पनि मैले भने विगत डेढ वर्षदेखि लगातार एउटै अमेरिकन गोरासँगबाट नै लागूऔषध खरिद गर्दै आएको छु ।
लागूऔषधको विक्री गर्ने तस्करहरु कहिले कता बसाइँ सर्छन् भन्ने कुराको कुनै ठेगान हँुदैन । त्यसैले दुव्र्यसनमा फसेका नेपाली विद्यार्थीहरुले नयाँनयाँ तस्करहरुसँग सम्पर्क कायम गरिरहेका हुन्छन् । लागूऔषधको कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्ने, जेल पर्ने र छुट्ने उपक्रम चलिरहने हुँदा पुराना तस्करहरु सम्पर्कविहीन हुने र नयाँ तस्करहरुसँग सम्पर्क कायम गर्नुपर्ने अवस्था आउने दुव्यर्सनमा फसिरहेका नेपाली विद्यार्थीको अनुभव छ । लागूऔषध किन्दै आएका एकजना नेपाली विद्यार्थी ग्राहक भन्छन्– बेच्नेहरु बदलिने गरे पनि किन्नेहरु भने नियमित ग्राहकजस्तै हुन् । घटेका छ्रैनन्, बरु थपिदै गएका छन् ।
तिब्बती र नेपालीले पनि गर्छन् बेचबिखन
अमेरिकन वा मेक्सिकन मात्र होइन, तिब्बती र नेपालीहरुले पनि लागूऔषधको बेचबिखन गर्ने गरेका छन् । अमेरिकन तस्करका ग्राहकहरु विश्वका जुनसुकै देशको नागरिक हुने गरे पनि तिब्बती र नेपालीका ग्राहकहरु भने तिब्बती वा नेपालीबाहेक अरु देशका छैनन् ।
सिधै अमेरिकन तस्करहरुसँग सम्पर्क नहुने लागूऔषधका दुव्र्यसनीलाई उनीहरुले लागूऔषध बेच्ने गरेका छन् । अमेरिकन तस्करसँग सानो परिमाणमा लागूऔषध खरिद गरेर नेपाली वा तिब्बतीहरुले लागूऔषध बेच्दै आएका छन्, न्युयोर्कमा ।
नेपाली विद्यार्थीहरुले नै अरु नेपाली विद्यार्थीलाई कलेजमै लागूऔषध बेच्ने गरे पनि अधिकांशले खासै नाफा नलिई दिने गरेका छन् । एकजना नेपाली विद्यार्थी भन्छन्– तर तिब्बतीयनहरुसँग किन्दा भने अलिक महँगो पर्छ, एउटै पोकामा पाँच डलरसम्म नाफा खान्छन् तिब्बतीयनहरु ।
नेपाल र भारतबाट शरणार्थीका रुपमा अमेरिका आएका तिब्बतीहरु लागूऔषधको कारोबारमा संलग्न रहेका छन् । उनीहरुले तिब्बतीहरुलाई मात्र नभई नेपाली विद्यार्थीहरुलाई पनि लागूऔषध बेच्दै आएका छन् । तिब्बतीहरु नेपाली भाषासमेत बोल्न जान्ने भएकाले कैयन नेपाली विद्यार्थीहरु उनीहरुका नियमित ग्राहकजस्तै रहेका छन् ।
तिब्बतीहरुले भने अमेरिकनले जस्तो अपार्टमेन्टमा नै बोलाउने हिम्मत कमै गर्छन् । पार्क वा अन्य सार्वजनिक स्थानमा लुकाएर मात्र लागूऔषधको कारोबार गर्छन् उनीहरुले । तिब्बतीसँग किन्दा अलिक महँगो पर्ने भएकाले लागूऔषधका अधिकांश नेपाली दुव्र्यसनीहरुले भने सिधै अमेरिकन तस्करहरुसँग सम्पर्क गर्दै आएका छन् ।
अरुभन्दा गाँजा र चरेश सस्तो
लागूऔषधका दुव्यर्सनीहरुको आ–आफ्नो छनौट हुन्छ । तर अरुभन्दा गाँजा र चरेश सस्तो हुने भएकाले अधिकांश नेपाली दुव्र्यसनीहरुले बढीजसो गाँजा र चरेश नै सेवन गर्दै आएका छन् । त्यो बाहेक अरु लागूपदार्थ पनि सेवन गर्छन् उनीहरु ।
गाँजाभन्दा चरेश झण्डै दोब्बर महँगो हुने गरेको बताइन्छ । नेपाली विद्यार्थीहरुले खरिद गर्ने गाँजा सानो सानो प्याकेटमा उपलब्ध गराइएको हुन्छ । सिधै अमेरिकन तस्करसँग किन्दा १० डलरमा पाइने प्याकेट तिब्बतीहरुसँग किन्दा भने १५ देखि २० डलरसम्म पर्ने गरेको अनुभव छ, दुव्र्यसनीहरुको ।
१० डलरको गाँजाको प्याकेट निकै सानो हुने भएकाले बढीमा दुई पटकसम्म तान्न पुग्ने गर्छ । त्यो बाहेक २० र ५० डलरका साना साना पोकामा पनि गाँजा उपलब्ध गराउँदै आएका छन्, तस्करहरुले । नेपाली विद्यार्थीहरु कतिपयलाई त हरेक दिन लागूऔषध नभई हुँदैन, कतिपयले भने हप्ताको एकदुई पटक मात्र सेवन गर्दै आएका छन् । यसरी लागूऔषधको दुव्र्यसनमा फसिरहेका नेपाली विद्यार्थीहरुले हरेक महिना पाँच सयदेखि हजार डलरसम्म लागूऔषधको सेवनमा खर्च गर्दै आइरहेका छन् । त्यो बाहेक कतियप तिनै विद्यार्थीहरु बेलाबेलामा क्यासिनो पुगेर पनि पैसा उडाउने गर्छन् ।
संक्रमण फैलने खतरा
सुरुसुरुमा रमाइलोका लागि भन्दै लागूऔषध सेवन गर्ने भए पनि पछि उनीहरुमा लत बस्ने गरेको छ । अधिकांश विद्यार्थीहरु खराब संगतका कारण लागूऔषधको दलदलमा फस्दै गइरहेका छन्, अमेरिकामा ।
अमेरिका आइसकेपछि असहाय महसुस गर्ने, एक्लोपन महसुस गर्ने, डिप्रेसनमा पर्ने, दुखी हुने र बाटो पहिल्याउन नसकेर हराएको जस्तो महसुस गरेको अवस्थामा नेपाली विद्यार्थीहरु लागूऔषधको दुव्र्यसनीमा फस्दै गएको बताउनुहुन्छ, न्युयोर्कका नेपाली समाजसेवी डाक्टर तारा निरौला । तर क्षणिक आनन्दका लागि गलत संगतमा फसेर भविष्य अन्धकार नबनाउन त्यस्त दुव्यर्सनीहरुलाई निरौलाको अनुरोध छ ।
उहाँ भन्नुहुन्छ– नेपालमा रहेका अभिभावकहरुले पनि सम्भव भएसम्म आफ्ना सन्तानका बारेमा जानकारी लिइरहनुपर्छ, सकेसम्म सही मार्गनिर्देश गर्नेहरुको निगरानीमा राख्नुपर्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा त विद्यार्थीहरु आफै जिम्मेबार बनेर कुलतबाट जोगिन आवश्यक छ ।
कुनै विद्यार्थी कुलतमा फसिरहेको थाहा पाएमा थाहा पाउनेले उनीहरुका अभिभावकलाई खबर गरिदिएमा पनि जिन्दगी अझ बर्बाद हुनबाट जोगिनसक्ने समाजसेवी निरौला बताउनुहुन्छ । नेपाली विद्यार्थीहरु यसरी लागूऔषध कुलतमा फस्दै गइरहेकाले भोलि यसको संक्रमण अझ बढेमा अमेरिकामा रहेको नेपाली कम्युनिटीकै बदनाम हुनसक्ने भएकाले यसलाई रोक्न सबै सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
No comments:
Post a Comment